जीवन बीमा कम्पनीको लगानी साढे ६ खर्ब नाघ्यो: मुद्दति निक्षेपमा धेरै, सेयर बजार लगाायतका क्षेत्रमा कति ? « Arthapath.com
९ जेष्ठ २०८१, बुधबार

जीवन बीमा कम्पनीको लगानी साढे ६ खर्ब नाघ्यो: मुद्दति निक्षेपमा धेरै, सेयर बजार लगाायतका क्षेत्रमा कति ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा साढे ६ खर्ब बढी लगानी गरेका छन् । कम्पनीहरुले बैंकको मुद्दति निक्षेप, सेयर बजार लगायतका क्षेत्रमा ६ खर्ब ६० अर्ब १२ करोड २८ लाख रुपैयाँ लगानी गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक तथ्याङ्कले यस्तो देखाएको हो । नेपालका बीमा कम्पनीहरुले बैंकको मुद्दति निक्षेप, सेयर बजार, घरजग्गा, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार संस्थापक सेयर, कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार क्षेत्र, नागरिक लगानी कोष तथा अन्य कोषमा लगानी गर्दै आएका छन् ।

कम्पनीहरुले सबैभन्दा धेरै लगानी वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा गरेका छन् । चैत मसान्तसम्म आइपुग्दा कम्पनीहरुको मुद्दति निक्षेपमा ४ खर्ब ५५ अर्ब ५ करोड ३१ लाख रुपैयाँ लगानी गरेका छन् । यता, कम्पनीहरुले पूर्वाधार विकास बैंकको मुद्दति निक्षेपमा पनि ७० अर्ब रुपैयाँ लगानी गरेको पाइएको छ । यस्तै, विकास बैंकको मुद्दति निक्षेपमा ४३ अर्ब १२ करोड ७ लाख, वित्त कम्पनीहरुमा ५ अर्ब ८१ करोड ४६ लाख रुपैयाँ लगानी गरेका छन् । बैंक तथा वित्त कम्पनीहरुको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋण पत्रमा ४५ अर्ब ९७ करोड ६५ लाख रुपैयाँ लगानी गरेका छन् ।

यस्तै, जीवन बीमा कम्पनीहरुले सेयर बजारमा पनि १५ अर्ब ९ करोड ८९ लाख रुपैयाँ लगानी गरेका छन् । कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत,सौर्य उर्जा लगायत नवीकरणी उर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि जीवन बीमा कम्पनीहरुले लगानी गर्दै आएका छन् । यी क्षेत्रमा कम्पनीहरुले बढीमा १० प्रतिशत लगानी गर्न पाउछन् । चैत मसान्तसम्मा कम्पनीहरुले यी क्षेत्रमा ८ अर्ब ४८ करोड ७५ लाख रुपैयाँ लगानी गरेका छन् ।

नागरिक लगानी कोष र म्युचअल फन्डमा पनि कुल २ अर्ब ४५ करोड ७० लाख, इन्भेष्टमेन्ट कम्पनीको सेयरमा ५२ करोड ६५ लाख, अन्य संस्थापक सेयरमा १३ अर्ब ८९ करोड ५९ लाख र सूचीकृत नभएको अन्य पब्लिक कम्पनीको सेयरमा ६१ करोड ६१ लाख रुपैयाँ लगानी गरेका छन् । यता, अन्य लगानी शीषकमा पनि ३७ अर्ब ६० करोड ६ लाख रुपैयाँ रहेको देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्