‘सेयरधनी, कर्मचारी र ग्राहक, तीनै तप्कालाई रिझाउने यात्रा अनवरत छ’, सीईओ सञ्जीव मानन्धरको विचार « Arthapath.com
११ आश्विन २०८०, बिहीबार

प्राइम बैंकको १७ वर्षे यात्रा:

‘सेयरधनी, कर्मचारी र ग्राहक, तीनै तप्कालाई रिझाउने यात्रा अनवरत छ’, सीईओ सञ्जीव मानन्धरको विचार



सञ्जीव मानन्धर
सीईओ, प्राइम कमर्शियल बैंक

सन् २००७ मा देशको २१ औँ वाणिज्य बैंकको रूपमा प्राइम कमर्शियल बैंक स्थापना भएको थियो । ‘सबैलाई बैंकिङ सेवा’ भन्ने मूल नाराका साथ खोलिएको यो बैंक आजदेखि १६ वर्ष पुरा भएर १७ वर्ष लाग्दै छ । यो बैंक खोल्दादेखि नै हामीले मूलतः यसका तीन वटा पक्षहरूलाई सन्तुलनमा राख्ने कोसिस गर्दै आएका छौँ ।

पहिलो सेयर धनी, दोस्रो कर्मचारी र तेस्रो ग्राहक । यी तीन वटै पक्षलाई सन्तुष्ट पारेर काम गरिरहेको छ । पछिल्ला १५ वर्षमा बैंकले सेयर धनीलाई राम्रै प्रतिफल दिएको छ । धेरैजसो वर्ष बैंकले १५ प्रतिशतभन्दा बढी नै प्रतिफल दिएको छ । सुरुमा अर्थात् १६ वर्षअघि १ कित्ता सेयर किन्ने व्यक्तिसँग आज त्यही सेयर बढेर १४ कित्ताभन्दा धेरै भइसकेको छ । यस तथ्यले सेयर धनीलाई राम्रो प्रतिफल दिइएको छ भन्ने पुष्टि हुन्छ ।

कर्मचारी पनि खुसी नै भएर काम गरिरहेका छन् । धेरै वर्षसम्म प्राइम बैंक आफ्ना कर्मचारीलाई सर्वाधिक बोनस दिने बैंकको रूपमा रहँदै आएको छ । यसले पनि प्राइम बैङ्कमा कर्मचारीहरू खुसी भएरै काम गरिरहेका छन् भन्ने देखाउँछ । तेस्रो र सबैभन्दा महत्त्वपूर्ण पक्ष हो ग्राहक । ग्राहकका हकमा हामीले पहिलेदेखि नै बैंकको महत्त्वपूर्ण साझेदारको रूपमा हेर्दै र बुझ्दै आएका छौँ । ग्राहकलाई साझेदारको रूपमा बुझ्ने हाम्रो दृष्टिकोणले नै हामीले राम्रो होस् वा नराम्रो, सबै अवस्थामा ग्राहलाई हामीले सहयोग गरिरहेका छौँ ।

आर्थिक एवम् वित्तीय हालत राम्रो हुँदा पनि र नराम्रो हुँदा पनि ग्राहकको हित र संरक्षणमा प्राइम बैंकले बढी नै चासो दिँदै आएको छ । यसरी हामीले तीन वटै पक्षलाई यो १५–१६ वर्षको दौरानमा खुसी पार्न सकेका छौँ भन्ने लागेको छ । यसो भन्दै गर्दा कतिपय कुरामा अझै पनि सुधार गर्न बाँकी होलान् ।

राम्रा वर्तमान रणनीतिलाई निरन्तरता दिँदै समायानुकुल परिवर्तन गर्दै लैजाने

यस अघि पनि बैंक व्यवस्थापन समूहमा दोस्रो बरीयतामै भएर पनि बैंकको नीति, रणनीति तर्जुमामा निरन्तर संलग्न रहँदै आएको छु । यसले गर्दा म नेतृत्वमा आएपछि ठुलै नीति रणनीति बदलिन्छ भन्ने होइन । यस अघिका राम्रा नीति रणनीतिहरूलाई हामीले अझ सशक्त कार्यान्वयन गर्दै लानु पर्ने छ । कतिपय समयानुकूल परिमार्जन गर्नुपर्ने र नयाँ नीतिहरू तयार गर्नुपर्ने हुन्छ ।

कहाँकहाँ कमी कमजोरी देखिएका छन् भन्ने बारेमा हामी राम्रोसँग जानकार छौँ । यही बैङ्कमा भएका कारण बैङ्कका सबल र कमजोर पक्षबारे राम्रो जानकारी भएकाले कुनै पनि निर्णय गर्न कठिन पर्ने अवस्था छैन । त्यस कारण सुधार गर्नुपर्ने बाँकी ठाउँहरूमा मैले काम गर्न थालिसकेको छु । यसरी पहिलेका राम्रो नीति रणनीतिहरूले निरन्तरता पाउने छन् । कमी कमजोरी र सुधार गर्नुपर्ने ठाउँमा हामीले सुधार गरेर अघि बढ्नुपर्ने छ । त्यसको प्रक्रिया सुरु भइसकेको छ ।

तुरुन्तै ठुलो परिवर्तन अनुभव हुने गरी कुनै फेरबदल त हुन्न, अबको तर ६ महिना १ वर्षभित्रमा केही न केही बदलाव बैङ्कमा देखिने छ । यसअघि लागू गर्न नसकेका केही कुराहरू लागू गर्ने मौका पाएका कारण कर्मचारी, ग्राहक र बैंकको वित्तीय स्वास्थ्यका बारेमा केही भिन्नता पक्कै अनुभूति गर्न पाउने छन् ।

गएको साल हामीले सञ्चालन नाफा करिब १७ प्रतिशत बढाएर साढे ६ अर्ब पुर्‍याएका थियौँ । यति धेरै नाफा हुँदा पनि प्रोभिजनमा बढी रकम छुट्टाउनु परेकाले यो वर्ष वितरणयोग्य मुनाफा कम देखिएको हो । यसमा कुनै एक बैंकको दोषभन्दा पनि मुलुकको अर्थतन्त्र एवम् व्यापार व्यवसायको कमजोर अवस्था तथा केही सरकारी नीतिहरुका कारणले सिर्जना भएको हो । यसमा बुझ्नुपर्ने कुरा के हो भने, प्रोभिजन भनेको बैंकले घाटा खाइसकेको कुरा होइन । यो त संस्थालाई वित्तीय स्वास्थ्यका हिसाबले दर्बिलो बनाउन राखिने हो । भविष्यमा ऋण उठेपछि यो पैसा वितरणयोग्य मुनाफामै गणना हुन्छ ।

तसर्थ, अहिले पनि प्राइम बैंक वित्तीय स्वास्थ्यका हिसाबले अरू धेरै बैङ्कभन्दा बलियो छ । यो वर्ष लाभांशमा केही सङ्कुचन देखिए पनि आगामी वर्षहरूमा अहिलेको कमी समेत पूर्ति हुने गरी राम्रो प्रतिफल सेयर धनीले प्राप्त गर्नुहुन्छ भन्नेमा शङ्का छैन ।

कहिले सुध्रिन्छ बजारको हालत ?

अहिले बैंकिङ क्षेत्रमा केही समस्या देखिएका छन् । यो समस्या चालु आर्थिक वर्षमा भन्दा पनि अघिल्लो आर्थिक वर्षमा देखिएका हुन् । यो समस्याको सुरुवात अहिले भएको पनि होइन । ४ वर्षअघि कोभिड महामारी सुरु भयो । त्यसबाट बिस्तारै अवस्था सामान्य हुँदै गर्दै युक्रेनमा युद्ध हुन थाल्यो । यसले मूलतः पेट्रोलियम इन्धनको भाउ बढ्न गयो । यसरी हाम्रो अर्थतन्त्रले थेग्नेभन्दा धेरै रकम आयातमा खर्चनु परेपछि राष्ट्रिय अर्थतन्त्र नै समस्यामा पुगेको हो ।

हाम्रो अर्थतन्त्र अधिकतर आयातमा निर्भर भएका कारण आयात गर्नुपर्ने वस्तुको भाउ बढ्ने बित्तिकै हामीलाई समस्या पर्न थाल्छ । पेट्रोलियम पदार्थमा असाध्यै धेरै पैसा तिर्नुपर्ने र अरू वस्तुको भाउ पनि उसरी नै बढ्ने भएपछि आयातका लागि निकै ठुलो धनराशि विदेश पठाउनु पर्‍यो ।

पैसा जति बिदेसिएपछि बैङ्कमा निक्षेप बढ्न सकेन । निक्षेप नभएपछि तरलतामा कमी आयो र कर्जा पनि विस्तार हुन सकेन । गएको वर्ष हामीले जम्मा १ खर्ब ४३ अर्ब मात्रै कर्जा विस्तार गर्न सक्यौँ । यो करिब ४ प्रतिशतभन्दा पनि कमको मात्रै वृद्धि हो ।
हाम्रो अर्थतन्त्रलाई चलायमान राख्नका निम्ति हरेक वर्ष कम्तीमा पनि १२–१५ प्रतिशत कर्जा विस्तार हुनै पर्छ । तर यो विस्तार ४ प्रतिशत पनि पुगेन । यसले बजारमा प्रवाह हुनुपर्ने वित्तीय साधन आवश्यक मात्रामा पुग्न सकेन । तर यो वर्ष हालत त्यस्तो खराब छैन ।

अहिले देशको भुक्तानी सन्तुलन नाफामा आएको छ । रेमिटेन्सबाट पैसा आइरहेकै छ । बैंकको तरलता हेर्ने हो भने ८२–८३ प्रतिशतको कर्जा निक्षेप अनुपात (सिडी रेसियो)मा बसिरहेका छौँ । बैङ्कसँग कर्जा विस्तार गर्न सक्ने क्षमता बढेको छ । त्यस कारण यो वर्षभित्र हामीले १२–१५ प्रतिशत (५–६ खर्ब) कर्जा विस्तार गर्न सकियो भने त्यसले फेरि बजारलाई चलायमान बनाइहाल्छ । कर्जाको माग सुस्ताएको भनेर पनि चर्चा भइरहेको छ । तर यसलाई अलि फरक रूपमा बुझ्नुपर्छ । हामीले भर्खरै मात्र यो वर्षका लागि कर्जा दिन सुरु गरेका छौँ । अघिल्लो वर्षको तनावपूर्ण अवस्थाबाट अघि बढ्न थालेको २ महिना मात्रै भएको छ । यो छोटो अवधिमै हामीले धेरै विश्लेषण गर्ने बेला भइसकेको छैन । दसैँ तिहारजस्ता ठुला पर्वहरू नजिकिँदै छन् । हाम्रो अर्थतन्त्र बढी चलायमान हुने भनेको यही चार्ड पर्वमा हो ।

यस कारण दसैँ तिहारपछि बजार अलि चलायमान भएर कर्जाको पनि माग बढ्छ भन्ने मेरो अनुमान छ । साउनभन्दा भदौमा, भदौभन्दा असोजमा कर्जाको माग बढ्न थालेको छ । यसले एउटा लय समात्न थालेको छ । ५–६ खर्ब कर्जा बढ्न सक्यो भने बजार चलायमान भइहाल्छ । अहिले कर्जाको माग बढ्न नसक्नुको अर्को कारण चाहिँ ब्याजदर हो । अहिले पनि हामीले १२–१३ प्रतिशतभन्दा कम ब्याजदरमा कर्जा दिन सक्ने अवस्था छैन । सबै बैङ्कहरूको आधार दर अहिले पनि उच्च छ । अहिलेको बेलामा धेरैजसो उद्योग वा व्यापारमा पनि १२–१३ प्रतिशतभन्दा बढीको प्रतिफल कमाउन कठिन देखिएको छ । त्यसले गर्दा कमाएको सबै पैसाले ब्याज तिर्न पनि समस्या पर्ने भएका कारण कर्जाको माग बढ्न नसकेको हो । जब यो ब्याजदर केही घट्छ, त्यसपछि कर्जाको माग पनि बढ्छ । प्राइम बैंक पनि त्यही मौकाको प्रतीक्षामा छ ।


प्रतिक्रिया दिनुहोस्