राष्ट्र बैङ्कले हेर्दैनौँ भनेपछि छुट्टै वैकल्पिक सहकारी नियामक निकाय गठन गर्दैछौं: अर्थमन्त्री महत « Arthapath.com
२१ पुष २०८०, शनिबार

राष्ट्र बैङ्कले हेर्दैनौँ भनेपछि छुट्टै वैकल्पिक सहकारी नियामक निकाय गठन गर्दैछौं: अर्थमन्त्री महत



रामपुर । अर्थमन्त्री डा. प्रकाश शरण महतले सहकारी हेर्ने छुट्टै नियामक निकाय गठन प्रक्रिया अघि बढेको बताएका छन् ।शुक्रवार अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्था को रजत महोत्सवमा बोल्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् ।

उनले सहकारी हेर्ने छुट्टै निकाय गठनको प्रक्रिया अघि बढेको जानकारी गराए । ‘बजेट निर्माणका बेला सहकारी हेर्ने छुटै नियामक निकाय गठनको कुरा गरेको थिएँ, त्यो प्रक्रिया अगाडि बढेको छ’,उनले थपे, ‘हामी सबै हेर्न सक्दैनौँ राष्ट्र बैङ्कले भनेको छ, वित्तीय संस्था, माइक्रो फाइनान्स र बैङ्कभन्दा बाहिर जान सक्ने हाम्रो अवस्था छैन भनेपछि वैकल्पिक नियामक निकाय गठनको तयारीमा हामी गइरहेका छौँ’ । 

सहकारीको बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउने बताए । ‘बचतकर्ताको विश्वास दुरुपयोग गर्नेहरू एक क्षणका लागि कानुनको दायराबाट भाग्ला, तर सधैँ भाग्न सक्दैन । सर्वसाधारणको बचत दुरुपयोग गर्नेहरू कानुनको कठघरामा अवश्य आउँछन् । मेहनत गरेर जम्मा गरेको बचत केही व्यक्तिलाई दुरुपयोग गर्न छुट छैन’, महतले भने ।

सोही अवसरमा निजी, सार्वजनिक र सहकारी क्षेत्रको सहभागिता बिना देशको आर्थिक र सामाजिक रूपान्तरण सम्भव नभएको उनले स्पष्ट पारे ।डा. महतले भने, ‘स्थानीयले मेहनत गरेर कमाएको बचत सहकारीमा जम्मा भएको हुन्छ, त्यसले सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । त्यस कारण सहकारीलाई हामीले प्रवर्द्धन, व्यवस्थापन र नियमन गरियो भने नेपालको आर्थिक रूपान्तरणको हतियार बन्छ । नियमनको अभावमा समस्या आए, तर अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्था उदाहरण बनेको छ, देशैभरि सहकारी यसरी नै उदाहरण बनेर काम गर्नुपर्ने पर्छ ।’

स्थानीय तहका स–साना बचत परिचालन गर्ने, स–साना आवश्यकता पूर्ति गर्ने, जीविकोपार्जनसँग यसलाई जोड्ने र स्थानीय तहकै जो सदस्य छ, उनीहरूले नै नेतृत्व लिने सहकारीको मूल अवधारणा रहेको मन्त्री डा. महतले बताए । यसै कारण यसलाई सहकारी मन्त्रालयअन्तर्गत राखिएको हो । यसलाई राष्ट्र बैङ्क वा अन्य कुनै नियामक निकाय खडा गरिएन । उनले भने, ‘हेर्दाहेर्दै यसले विशाल रूप लिएछ । कतिपय ठाउँमा ब्रान्डको रूप लियो, देशैभरि फैलियो । त्यसका व्यवस्थापक को छन् सदस्यहरूलाई नै थाहा हुँदैन । यसको नियामक निकाय नभएर यस्तो भएको हो, जसका कारण केही सहकारीमा समस्या देखियो ।’ 


प्रतिक्रिया दिनुहोस्