अर्थतन्त्रमा चौतर्फी चुनौती र समस्या छन्, ठूलो सल्यक्रियाको खाँचो छ: अध्यक्ष अग्रवाल « Arthapath.com
४ बैशाख २०८१, मंगलवार

अर्थतन्त्रमा चौतर्फी चुनौती र समस्या छन्, ठूलो सल्यक्रियाको खाँचो छ: अध्यक्ष अग्रवाल



काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष राजेश कुमार अग्रवालले कर्मठ उद्योगी व्यवसायीको अभावमा मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताए । सिएनआईको २१औं वार्षिक साधारण सभामा अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् ।

अर्थतन्त्रमा चौतर्फी चुनौती र समस्या रहेको उनले बताए । हाल देखिएका समस्या समाधानका लागि ठूलो सल्यक्रियाको खाँचो रहेको उनले बताए । उनले भने, ‘यी चुनौती र समस्या समाधानका लागि ठूलो सल्यक्रियाको खाँचो छ । तर, मलमपट्टि गरेर शिथिल अर्थतन्त्र उकास्न सोचिरहेका छौं । यस्तो सोंचले अर्थतन्त्रलाई उकास्ने होइन थप संकटतर्फ लैजान्छ ।’

समग्र मागमा आएको उच्च संकुचनले उत्पादक मर्कामा परिरहेका बेला उधारो समेत उठाउन नसक्दा अर्को पीडा थपिएको अध्यक्ष अग्रवालले जनाएको छ। ‘अन्य मुलुकमा भुक्तानी सुरक्षण ऐनको व्यवस्था भएपनि हाम्रोमा यो व्यवस्था छैन् । त्यसैले भुक्तानीको संरक्षण गर्न आवश्यक व्यवस्था गर्न यसै अवसरमा अनुरोध गर्दछु’, उनले भने ।

परिसंघले अर्थतन्त्रलाई गतिशिल बनाउन प्राथमिकता क्षेत्र पहिचान गरी सरकार, नियामक निकायलाई सुझाव दिदै आएको जानकारी गराए । ‘उद्योग, उर्जा, पर्यटन, सूचना प्रविधि, निर्माण तथा पूर्वाधार, कृषिजस्ता हाम्रा प्रतिस्पर्धी क्षमता बढी भएका क्षेत्रमा तत्काल गर्नुपर्ने, दीर्घकालिन रुपमा गर्नुपर्ने कामको स्पष्ट सुझाव दिएका थियौं । तर, ती सुझावहरु अझै कार्यान्वयनमा आउन सकेका छैनन् ।’

व्यवसायी, उद्योगीहरुको मनोबल गिराएर अपमानित गरेर समृद्धि लक्ष्य हासिल हुन नसक्ने उनले बताए । स्वदेशी लगानी बढ्यो भने नै विदेशी लगानीकर्ताको पनि नजर नेपालमा पर्ने अध्यक्षको भनाई छ। उनले भने,‘सरकारको नीति आन्तरिक उत्पादनमुखी हुनुपर्छ, आयात प्रोत्साहन होइन । उत्पादनमुखी नीति भए कर्जा पनि उत्पादनशील क्षेत्रमा बढ्छ, दीगो हुन्छ । कर्जा उत्पादनशील क्षेत्रमा विस्तार हुने नीति अबलम्बन गर्न अनुरोध गर्दछु’, उनले थपे,‘स्वदेशी वा विदेशी लगानी आकर्षित गर्न नीतिगत स्थीरता अनिवार्य सर्त हो । एउटा नीतिलाई हेरेर लगानीकर्ताले लगानी गरेको हुन्छ, तर त्यो नीति परिवर्तन हुन एक वर्ष पनि लाग्दैन् । यस्तो अस्थिर नीतिले लगानीलाई प्रोत्साहन गर्दैन । कुनै पनि नीति निश्चित अवधि तोकेर न्यूनतम यो समयसम्म परिवर्तन हुँदैन भन्ने ग्यारेन्टी गर्न आवश्यक छ ।’


प्रतिक्रिया दिनुहोस्