‘प्रधानमन्त्रीको हैसियतले हस्तक्षेप नगरेको भए देशको अर्थतन्त्र अझै बिग्रन्थ्यो’ « Arthapath.com
४ बैशाख २०८१, मंगलवार

‘प्रधानमन्त्रीको हैसियतले हस्तक्षेप नगरेको भए देशको अर्थतन्त्र अझै बिग्रन्थ्यो’



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका लागि सरकार गम्भिर रहेको बताए । नेपाल उद्योग परिसंघ (सिएनआई)को २१औं वार्षिक साधारण सभामा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

निजी क्षेत्रसँगको सहकार्यबाट नै अर्थतन्त्र गतिशिल बनाउन सकिने उनले बताए । ‘सिएनआईले देशभरका उत्पादनमुलक र सीपमुलक तथा सेवा मुलक उद्योगहरुको छाता संगठन रुपमा प्रतिनिधित्व गर्छ । देशमा औद्योगिक वातावरणको निर्माण र लगानी प्रवद्र्धन र रोजगराी सृजना लगायत प्रभावकारी गतिविधिबाट आफूलाई देशको औद्योगिक विकासको अभिन्न अंगको रुपमा स्थापित गर्न सफल भएको छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

सिएनआईले दिएको सुझावले सरकारले लिएको नीति तथा कार्यक्रम कार्यान्वयनमा निजी क्षेत्रको तर्फबाट महत्वूर्ण भूमिका खेल्दै आएको उनको भनाई छ । सीएनआईले देशको विकास र समृद्धिलाई समेटेर सरकारलाई स्पष्ट नीतिगत सुझावहरु दिने गरेको बताए ।

उनले भने,‘निश्चित समूह वा व्यक्तिभन्दा समग्र अर्थतन्त्रको विकास, औद्योगिक उत्पादन तथा आन्तरिक उत्पादन, उद्योगहरुको संरक्षण र प्रवद्र्धनमा जोड दिँदै आएको छ। पछिल्लो पटक लगानी प्रवद्र्धन गर्दै समृद्धि अर्थतन्त्र निर्माणका लागि परिसंघले दिएको कानुनी सुधार सम्वन्धी सुझाव महत्वपूर्ण र उपयोगी छ ।’

उनले आफू प्रधानमन्त्री हुँदै गर्दा निजी क्षेत्र संगको सहकार्यलाई प्रभावकारी र परिणामुखी बनाउने प्रतिवद्धतासहित अघि बढेको बताए । तर, अपेक्षा अनुसार परिणाम नआएको बताए ।

उनले भने,‘यो पटक म प्रधानमन्त्री हुँदा निजी क्षेत्र संगको सहकार्यलाई प्रभावकारी र परिणामुखी बनाउने प्रतिवद्धतासहित अघि बढेको थिए । धेरै पटक सरकार र निजी क्षेत्रका प्रतिनिधि राखेर छलफल अन्तरक्रियाहरु पनि भए । तर, सोचेको जस्तो परिणाम भने आइराखेको छैन’ उनले थपे, ‘जनता समक्ष गरेका केही प्रतिवद्धताहरु पनि सकरात्मक देखिएका छन् । तर, देश र जनताको आवश्यकता र चाहानाको आधारमा भने सन्तोष लिन सक्ने अवस्था छैन, म पनि सन्तुष्ट छैन भनेको थिए ।’

उनले आजै मात्र मुख्य सचिव तथा सम्वन्धित निकायहरुलाई लगानी सम्मेलन अघि नै एकैसाथ ऐनमा संशोधनका आवश्यक समन्वय गर्न निर्देशन दिएको बताए । उनले वैदेशिक लगानी भित्र्याउन र देशभित्रको निजी क्षेत्रलाई ढुक्कसँग लगानीमैत्री वातावरण दिनको लागि ऐन संशोधनको प्रक्रिया सुरु भइसेको जानकारी गराए ।

‘निजी क्षेत्रलाई विश्वस्त बनाउन्का लागि ऐनमा संशोधन, कानुनमा सुधार अपरिहार्य छ भन्ने समयदेखि भन्दै आएको छौं । तर, व्यवहारमा एकताकासाथ जुन कदम चाल्नुपर्ने हो, त्यो कदम नचालिएकै कारण तपाईहरु हैरान हुनुहुन्छ भन्ने मलाई जानकारी छ । मैले एक वर्षदेखि मेहनत गर्दा पनि भनेजस्तो परिणाम नआएको चिन्ता र चिन्तन म भित्र छ । यो लगानी सम्मेन अघि नै सम्वोधन गर्ने अठोट गरेको छु’, प्रधानमन्त्री प्रचण्डले भने ।

देशको आर्थिक अवस्थाप्रति निजी क्षेत्रले सँधै सकरात्मक चासो र सुझाव दिँदै आएको उनले बताए । उद्योगी व्यवसायीहरुलाई असुरक्षित वातावरण बन्न नदिनका लागि प्रधानमन्त्रीको हैसियतले धेरै मेहनत गरेको उनले बताए ।

प्रधानमन्त्रीले हस्तक्षेप नगरेको भए अर्थतन्त्र अझै बिग्रँदो अवस्था जाने दावी गरे । ‘उद्योगी व्यवसायीहरुलाई असुरक्षित वातावरण बन्न नदिनका लागि मैले प्रधानमन्त्रीको हैसियतले धेरै मेहनत गरेको छु, जुन कुरा तपाईहरुलाई थाहै छैन । कतिपय सन्दर्भमा प्रधानमन्त्रीले हस्तक्षेप नगरेको भए अझ ठुलो सन्त्रासको वातावरण हुने थियो । यो पक्ष पनि तपाईहरुले नोट गर्नुपर्छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट नै सरकारले केही सुधार ल्याउन खोजेको उनले बताए । सरकार अर्थतन्त्रकै सवलीकरण मात्रै होइन, आगामी बजेटबाट देखिने गरि नयाँ उत्साह र आशाको सन्देश प्रवाह गर्ने तयारी रहेको बताए । यो पटकको नीति कार्यक्रममा गर्न नसकिने कामहरुको फेहरिष्ट बनाएर जान उचित छैन भनेर निर्देशन पनि दिएको बताए । उनले भने, ‘नीति कार्यक्रम त्यस्तो हुन पर्यो, राष्ट्र र जनताको पक्षमा स्पष्ट र सरल भाषामा बुझ्ने गरि, गर्नसकिने कामहरु मात्रै उल्लेख हुनुपर्यो । नीति कार्यक्रममा लेखिसकेपछि बजेटले त्यसलाई बोक्न पर्यो, सम्वोधन गर्ने गरि आउनुपर्यो ।’


प्रतिक्रिया दिनुहोस्