नेपाल पर्यटन बोर्डको सीईओमा डा. रेग्मी नियुक्त « Arthapath.com
१९ माघ २०७६, आईतवार

नेपाल पर्यटन बोर्डको सीईओमा डा. रेग्मी नियुक्त



काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. धनञ्जय रेग्मी नियुक्त भएका छन् । बोर्डको कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले स्याग्जाका रेग्मीलाई सो पदमा नियुक्त गरेको हो । सीईओ छनोट समितिको सिफारिसको आधारमा कार्यकारिणी समितिले रेग्मीलाई सीईओमा नियुक्त गरेको बोर्डको सचिवालयले जनाएको छ । विप्लव पौडेलको संयोजकत्वमा बोर्डका सदस्य कृष्ण बहादुर महरा र संस्कृति, पर्यटन तथा नागरिक उड्डउन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय सदस्य रहेको छनोट समितिले सीईओका लागि रेग्मीसँगै दीपक बस्ताकोटी र हिक्मतसिंह ऐरलाई सिफारिस गरेको थियो । सीईओको कार्यकाल चार वर्ष हुनेछ ।

नियुक्ति–पत्र लिएपछि बोर्डका अध्यक्ष रहेका पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सीईओसँग कार्यसम्पादन करार गर्ने बोर्डले जनाएको छ । जलवायु परिवर्तनमा विद्यावारिधि गरेका रेग्मी हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत भूगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्राध्यापक र नेपाल भूगोल समाजका अध्यक्षको जिम्मेवारीमा छन् । उनी हिमालयन रिसर्च एक्सपिडिसन र हिमालयन अनुसन्धान केन्द्रका अध्यक्ष पनि हुन् ।


प्रतिक्रिया दिनुहोस्