कोरोना महामारीमा बहराइनका राजकुमार हिमाल चढ्न नेपाल पुगे

काठमाडौं । बहराइनका राजकुमार नेपाल पुगेका छन् । उनीसहितको टोली हिमाद चढ्न नेपाल आएको बताईएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहान करिव ११ बजे उनीहरु चढेको जहाज काठमाडौं आएको हो । उनले लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने जनाएको छ । यो आरोहणलाई टोलीले आगामी वसन्त ऋतुमा सगरमाथा आरोहणको पूर्वतयारीका रुपमा हेरेको बताइएको छ ।
पर्वतारोहणमा सहभागी हुने सदस्य तथा विमान चालक दलका सदस्य पछिल्लो १५ दिन देखि सेल्फ क्वारेन्टिनमा रहेको समेत दूतावासले जनाएको छ । त्यसपछि उनीहरुको कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा सबैको नेगेटिभ नतिजा आएको छ ।
बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगको द्वितीय सचिव अरुणा घिसिङ, श्रम सहचारी दामोदर दाहाललगायतले बिदाई तथा शुभकामना दिएका थिए ।
रोयल गार्डमा कार्यरत १५ जना बहराइनी नागरिक र ३ जना बेलायती यो टोलीमा सहभागी छन् । जहाज बहराइनबाट राती १२ः३० बजे स्थानीय समयअनुसार काठमाडौंका लागि उडेको थियो । दूतावासका अनुसार यो टोली नेपालमा दुई महिना बस्ने छ ।