मर्जरको तयारीमा रहेको इन्भेष्टमेण्ट र हिमालयनमा कुन ठूलो, कुन बलियो ? « Arthapath.com
१७ बैशाख २०७८, शुक्रबार

मर्जरको तयारीमा रहेको इन्भेष्टमेण्ट र हिमालयनमा कुन ठूलो, कुन बलियो ?



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट र हिमालयन बैंक ‘बीग मर्जर’को तयारीमा रहेका छन् । यी दुई बैंक आपसमा गाभिए मुलुकको सबैभन्दा ठूलो बैंक बन्ने छ । यस्तो बैंक राष्ट्रिय वित्तीय प्रणालीका लागि पनि निकै महत्वपूर्ण हुनसक्छ ।

पछिल्लो पटक गत चैत मसान्तको तथ्यांकका आधारमा नेपाल इन्भेष्टमेण्ट बैंक पूँजी र कारोबारको आकरमा ठूलो देखिन्छ । तर सम्पत्तीका आधारमा हिमालयन बैंक बलियो देखिएको छ । यद्यपि यी दुई बैंक सकभर समान हैसियत (स्वाप अनुपात)मा गाभिने तयारी गरिरहेका छन् ।

दुई बैंकको कुल कारोबारमध्ये करीब ५५ प्रतिशत हिस्सा इन्भेष्टमेण्ट बैंकको छ । तर कर्मचारी खर्च भने हिमालयनले बढी गरिरहेको छ । सस्तो ब्याजमा पैसा चलाउनमा भने हिमालयनभन्दा इन्भेष्टमेण्ट ज्यादा प्रभावशाली देखिन्छ । ठूलो कारोबार भएकाले पनि इन्भेष्टमेण्टको आधारदर कम हुनमा सहयोग पुगेको हो । लाभांश दिने क्षेमता पनि इन्भेष्टमेण्टकै बढी छ ।

मर्जरमा अलमल

गत साउनबाटै एकीकृत कारोबार गर्ने योजना अघि सारेका यी बैंकको मर्जर प्रक्रिया औपचारिक रुपमा भने अझै अघि बढ्न सकेको छैन । सम्पत्ती र दायित्वको हिसाब मिलाएरमात्रै मर्जरको औपचारिकता अघि बढाउने अडानमा हिमालयन बैंक देखिएको छ ।

उक्त मर्जरका लागि नेपाल इन्भेष्टमेण्ट पक्षले निकै चासो देखाएको छ । तर हिमालयनको समूह भने त्यति अग्रसर देखिएको छैन । हिमालयनको २० प्रतिशत स्वामित्व लिएको पाकिस्तानी हबिब बैंकले नेपालबाट लगानी फिर्ता लाने प्रयास थालेको लामो समय भइसक्यो । पछिल्लो समय हबिबको सेयर कर्मचारी सञ्चय कोषले नै किन्ने तयारी गरेको छ ।

त्यस्तो अवस्थामा बैंकको ठूलो हिस्सेदारी सरकारी कम्पनीमा जाने भन्दै हिमालयन समूहले अर्को संस्थालाई पनि एकसाथ भित्र्याउने प्रयास गरेको छ । उता व्यक्तिगत लगानीकर्ताको रुपमा पनि यी दुई बैंक मर्ज भएमा व्यवसायी शशिकान्त अग्रवाल सबैभन्दा ठूलो सेयर स्वामित्वमा आउने छन् । उनीसँग अहिले पनि दुबै बैंकमा १२/१२ प्रतिशतको हाराहारीमा सेयर स्वामित्व छ ।

वित्तीय प्रणालीमै महत्वपूर्ण

भित्रि रणनीति जेसुकै भए पनि अहिलेको अवस्थामा यी दुई बैंक एक आपसमा गाभिँदा मुलुकको वित्तीय प्रणालीमै सर्वाधिक प्रभावशाली संस्थाको रुपमा खडा हुने बैंकर बताउँछन् । ‘डीडीएमा लगभग उस्तैउस्तै भए पनि हिमालयन थोरै बलियो देखिएको छ,’ नेपाल इन्भेष्टमेण्टका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले भने, ‘मर्जर टुंगिएपछि मुलुककै सबैभन्दा ठूलो र हस्तक्षेपकारी बैंकको रुपमा उदाउने छ ।’

नेपाल राष्ट्र बैंकले पनि गत वर्षको मौद्रिक नीतिमै वित्तीय प्रणालीमा हस्तक्षेपकारी भूमिका खेल्न सक्ने ठूला बैंकहरुलाई प्रणालीगत रुपमा महत्वपूर्ण बैंकको सूचीमा राखेर विशेष नियमन गर्ने उल्लेख गरेको थियो । यद्यपि, अहिलेसम्म केन्द्रिय बैंकले यस्तो प्रक्रिया अघि बढाएको छैन । अर्थ मन्त्रालयका अधिकारीहरुले कोरोना महामारीका कारण राष्ट्र बैंकको प्राथमिकता मोडिएकाले त्यसतर्फ ध्यान दिन नसकिएको बताएका छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्