कोरोना महामारीमा पनि यो वर्ष अर्थतन्त्रको बृद्धिदर ४ प्रतिशतभन्दा बढी, प्रतिव्यक्ति आय १ लाख ४१ हजार « Arthapath.com
१७ बैशाख २०७८, शुक्रबार

कोरोना महामारीमा पनि यो वर्ष अर्थतन्त्रको बृद्धिदर ४ प्रतिशतभन्दा बढी, प्रतिव्यक्ति आय १ लाख ४१ हजार



काठमाडौं । केन्द्रिय तथ्यांक विभागले यो वर्ष नेपालको अर्थतन्त्र ४.०१ प्रतिशत बढ्ने अनुमान सार्वजनिक गरेको छ । गत वर्ष कोरोना महामारीका कारण अर्थतन्त्र २.०९ प्रतिशत घटेको संशोधित तथ्यांक पनि विभागले सार्वजनिक गरेको छ ।

यसअघि गत वर्ष पनि आर्थिक बृद्धि धनात्मक नै भएको बताइँदै आएको थियो । विभागले राष्ट्रिय लेखा विधीमा संशोधन गरेपछि भने डेढ प्रतिशत हाराहारीमा अर्थन्त्र खुम्चने बताएको थियो । पछिल्लो तथ्यांकले भने गत वर्ष अर्थतन्त्र २ प्रतिशतभन्दा धेरैले घटेको देखिएको छ ।

कोरोना महामारीका कारण अधिकांश उद्योगधन्दा बन्द भएको, बजार बन्द गरिएको र धेरैको रोजगारी खोसिएका कारण समग्र माग र उपभोग पनि घटेको थियो । यसको असर आर्थिक बृद्धिमा परेको विभागले जनाएको छ ।

यो वर्षभने अधिकांश उद्योगधन्दा पुनः सञ्चालनमा आएका कारण अर्थतन्त्र बढोत्तरी हुने अनुमान गरेको छ । पछिल्लो १० वर्षमा मुलुकको कुल गार्हस्थ उत्पादन औसत ४.३८ प्रतिशतले बढेको देखाएको छ । यस आधारमा यो वर्ष औसत बृद्धिकै नजिकका पुग्ने संभावना देखिएको हो । यद्यपि, हालैका सातामा बढेको कोरोना महामारी र नयाँ निशेधाज्ञाको असर अर्थतन्त्रमा कति पर्छ भनेर हेर्न भने बाँकी छ ।

यससँगै कुल गार्हस्थ उत्पादनमा आधारित प्रतिव्यक्ति आय १ लाख ४० हजार ८ सय १९ रुपैयाँ पुग्ने विभागको अनुमान छ । कुल राष्ट्रिय आयका आधारमा भने नेपालीको प्रतिव्यक्ति आम्दानी १ लाख ४१ हजार ४ सय ८ रुपैयाँ पुग्ने विभागले बताएको छ । प्रतिव्यक्ति आयलाई कुल गार्हस्थ उत्पादन (जीडीपी)मा नभइ कुल राष्ट्रिय आय (जीएनआई) का आधारमा मापन गरिन्छ । अमेरिकी डलरमा भने प्रतिव्यक्ति आय १ हजार १ सय ९६ डलर पुग्ने अनुमान छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्