भोलिबाट टेलिकममा भीओएलटीई सेवा, फोन नलाग्ने र कुरा नबुझिने समस्या यसरी हुँदै छ समाधान « Arthapath.com
२ जेष्ठ २०७८, आईतवार

भोलिबाट टेलिकममा भीओएलटीई सेवा, फोन नलाग्ने र कुरा नबुझिने समस्या यसरी हुँदै छ समाधान



काठमाडौं । नेपाल टेलिकमले भोलि सोमबारदेखि मोबाइल सेवाको गुणस्तर बढाउने भएको छ । ‘भ्वाइस ओभर लङ टर्म इभोलुसन’ (भीओएलटीई) भनिने स्तरीय सेवा परीक्षणका रुपमा सुरु गर्न लागिएको टेलिकमले जनाएको छ । कम्पनीले आफ्ना प्रयोगकर्ताका लागि हाल उपलब्ध गराइरहेको फोरजी÷एलटीई नेटवर्कमा आधारित सेवा परीक्षण गर्न लागेको हो ।

अन्तरराष्ट्रिय दूरसञ्चार संघ (आईटीयु)को स्थापना दिवसका अवसरमा सोमबारबाट भ्वाइस सेवाको स्तरोन्नती गर्न लागिएको हो । प्रयोगकर्ताका लागि परीक्षण सुरु गर्नुअघि टेलिकमले भीओएलटीई अर्थात् फोर जि चल्ने मोबाइल फोन सेटहरूमा परीक्षणको काम सम्पन्न गरिसकेको छ । परिक्षणका क्रममा देशभरका फोरजी प्रयोगकर्ताले भ्वाइसमा पनि गुणस्तरीय सेवा पाउने छन् । यो परीक्षण भीओएलटीईको व्यावसायिक सुरुवातका लागि महत्त्वपूर्ण हुने छ ।

टेलिकमले हाल उपलब्ध गराइरहेको फोरजी नेटवर्कमा इन्टरनेटको गुणस्तरमात्रै स्तरोन्नती भएको छ । फोरजी सेवा लिइरहेका ग्राहकले पनि फोन गर्दा भने स्वतः थ्रीजी नेटवर्कमा परिणत हुनेगर्छ । यसले गर्दा फोरजी सेवा सुरु भइसक्दा पनि भ्वाइसमा ग्राहकले कुनै भिन्नता पाउन सकेका थिएनन् ।
अब भने परीक्षणकै क्रममा कम्पनीका ग्राहकले फोरजी नेटवर्क नै प्रयोग गरेर भ्वाइस कल गर्न सक्ने सुविधा दिन लागेको हो । भीओएलटीईमा व्यक्ति–व्यक्ति भेटेरै कुराकानी गरेजस्तो उच्च गुणस्तरीय भ्वाइस सेवा पाउन सकिने टेलिकमका अधिकारीहरु बताउँछन् । सेवाको गुणस्तर बढाइएपछि कल सम्पर्क पनि तुरुन्त स्थापित हुने दाबी गरिएको छ । अहिले टेलिकमको प्रणालीमा फोन सम्पर्क स्थापित गर्न कठीन भएको गुनासो अत्यधिक छ ।

आवाज स्पष्ट र प्राकृतिकजस्तो सुनिने विशेषता भीओएलटीईमा हुन्छ । टुजीको तुलनामा भीओएलटीईमा आवाजको गुणस्तर ६ गुणा र थ्रीजीको तुलनामा ३ गुणा राम्रो हुने बताइन्छ । यसअघि फोन नै नलाग्ने जङ्गल क्षेत्रमा पनि अब सजिलै फोन गर्न सकिने र उच्च गुणस्तरको डेटा प्रयोग गर्न सकिने सुविधा आफ्ना ग्राहकलाई दिन लागेको टेलिकमका अधिकारीले बताएका छन् । मोबाइल नेटवर्क आउने र जाने समस्याको अन्त्य हुने भएकाले ब्याट्रि पनि टिकाउ हुने छ ।

टेलिकमका अनुसार भीओएलटीई सेवा लिन ८०० र १८०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी सपोर्ट गर्ने मोबाइल हुनु भने अनिवार्य छ । केही भारतीय मोबाइल सेटमा ८०० मेगाहर्ज ब्यान्ड नचल्ने भएकाले टेलिकमले सो ब्यान्डमा उपलब्ध गराइरहेको फोरजी सेवा लिन कतिपय ग्राहक असमर्थ भइरहेका छन् । त्यसैले कम्पनीले फोरजी अथवा भीओएलटीई सेवा लिन आठ सय र १८ सय दुवै ब्यान्डको फ्रिक्वेन्सी सपोर्ट गर्ने मोबाइल भएको निश्चित गरेर मात्र खरिद गर्न ग्राहकलाई आग्रह गरेको गोरखापत्रले समाचार छापेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्