प्रहरीले फेला पारेको बम्जनको ३ करोड नगद अब के हुन्छ ? « Arthapath.com
२५ पुष २०८०, बुधबार

प्रहरीले फेला पारेको बम्जनको ३ करोड नगद अब के हुन्छ ?



काठमाडौं । बुधवार विवादास्पद तपस्वी राम बहादुर बम्जनको घरबाट प्रहरीले साढे ३ करोड रुपैयाँ रकम बरामद गरेको छ । 

हत्या र यौन हिंसाको आरोपमा पक्राउ गरेका विवादास्पद तपस्वी बम्जनको घरबाट प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईवी)ले सो बराबरको रकम बरामद गरेको हो ।

बम्जन घरमा खानतलासीबाट सिआईवीले ३ करोड ३ लाख नेपाली रुपैयाँ ३० लाख ९२ हजार बराबरका विभिन्न देशका विदेशी मुद्रा बरामद गरेको छ । यसका साथै महँगो गाडीसहित मोबाइल, ल्यापटप लगायतका सामग्रीहरू पनि बरामद गरेको हो । आश्रममा बस्ने अनुयायीको हत्या, बेपत्ता पारेको तथा यौन हिंसा गरेको आरोपमा उनी विरुद्ध प्रहरीमा उजुरी परेको छ ।

उनी विरुद्ध विभिन्न प्रहरी कार्यालयमा तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उजुरी दर्ता भएको छ । २०७६ साल माघ २३ गते जिल्ला अदालत सर्लाहीले पक्राउ पुर्जी जारी गरेयता प्रहरीले बम्जनको खोजी गरिरहेको थियो । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेको बम्जन मङ्गलवार साँझ ७ बजे बुढानीकण्ड क्षेत्रबाट पक्राउ गरेका हुन् ।

उनलाई जिल्ला अदालतमा उपस्थित गराउने र थप अनुसन्धान प्रक्रिया अघि बढेको सीआइवीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।  बम्जनको घरबाट बरामद गरिएको ठुलो परिणामको रकम सम्पत्ति सुद्धीकरणअनुसार छानबिन हुने अधिकारीले बताए । उनले भने,‘बम्जनको घरबाट  ३ करोड नेपाली रुपैयाँ, विदेशी मुद्रा पनि बरामद भएको छ । बरामद रकमको बारेमा छानबिन प्रक्रिया अघि बढेको छ । अब यो कानुन अनुसार छानबिन हुन्छ ।’ 

छानबिनबाट बरामद रकम अवैध भएको खण्डमा कानुन अनुसार राज्यको हुने अधिकारीको भनाई छ । ‘अनुसन्धान प्रक्रिया सुरु भएको छ, यो टुङ्गिइसकेपछि बरामद पैसा अवैध भएको खण्डमा कानुन बमोजिम सरकारको खातामा जम्मा हुन्छ’ उनले भने । 


प्रतिक्रिया दिनुहोस्