भाइरस संक्रमणबाट चिन्तित जर्मनीका मन्त्रीद्वारा आत्महत्या « Arthapath.com
१६ चैत्र २०७६, आईतवार

भाइरस संक्रमणबाट चिन्तित जर्मनीका मन्त्रीद्वारा आत्महत्या



काठमाडौं। कोरोना भाइरसको बढ्दो संक्रमणबाट चिन्तित भएर जर्मनीका एकजना मन्त्रीले आत्महत्या गर्नुभएको छ । जर्मनीको हेस्स राज्यका अर्थ मन्त्री थोमस सेफरले आत्महत्या गर्नुभएको हो ।
हेस्स राज्यका प्रिमियर वोल्कर बफरले कोरोना भाइरसको संक्रमणले चुलिएको आर्थिक संकटबाट चिन्तित अर्थमन्त्री सेफरले आत्महत्या गर्नुभएको बताउनुभएको छ । ५४ वर्षीय मन्त्री सेफर रेल्वे ट्रयाक नजिक मृत अवस्थामा फेला पर्नुभएको थियो । हेस्स जर्मनीको आर्थिक राजधानी फ्रयाङ्कफर्ट शहर रहेको राज्य हो । यूरोपेली केन्द्रीय बैंकको कार्यालय समेत फ्रयाङ्कफर्टमा अवस्थित छ ।
जर्मनीका चान्सलर एञ्जेला मर्केल नजिकका प्रिमियर बफरका अनुसार हेस्स राज्यको अर्थमन्त्रीको रुपमा दश वर्षसम्म जिम्मेवारी सम्हाल्नुभएका सेफर कोरोना महामारीले आर्थिक क्षेत्रमा परेको प्रभाव न्यूनिकरणका लागि दिनरात कम्पनी र कामदारको बीच सम्झौतामा संलग्न हुनुहुन्थ्यो । आर्थिक संकटको बेला सेफरको अनुभवको जरुरी रहेको बेला उहाँको निधनले स्तब्ध भएको उहाँले प्रतिक्रिया दिनुभयो ।
चान्सलर मर्केलको सेन्टर–राइट सीडीयू पार्टीमा आबद्ध सेफरको एक श्रीमति र दुई सन्तान छन् ।


प्रतिक्रिया दिनुहोस्