कोरोनाको औषधि भन्दै ‘रक्सी’ पिउने ६०० जनाको मृत्यु « Arthapath.com
२६ चैत्र २०७६, बुधबार

कोरोनाको औषधि भन्दै ‘रक्सी’ पिउने ६०० जनाको मृत्यु



काठमाडौं । ईरानमा कोरोना भाइरसको औषधि भन्दै विषाक्त रक्सीको सेवन गर्ने ६ सय जनाको मृत्यु भएको छ ।

विषाक्त रक्सी सेवनबाट ३ हजार मानिसहरु बिरामी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । बिरामी सबैलाई अस्पताल भर्ना गरिएको छ ।

डेली मेलको रिपोर्ट अनुसार ती बिरामी तथा मृतक व्यक्तिहरुले कोरोना भाइरसको औषधि भन्दै विषाक्त अल्कोहल सेवन गरेको मंगलबार ईरानका प्रवक्ता घोमल हुसेन इस्माइलीले पुष्टि गरे ।

इस्माइलीका अनुसार विषाक्त अल्कोहलको सेवनबाट ज्यान गुमाउनेको संख्या बढ्दो छ । ईरानमा ६२ हजार बढी मानिसहरु कोरोना भाइरस संक्रमित छन् भने संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ३३ पुगेको छ । तर ईरानले जारी गरेको कोरोना भाइरसको तथ्यांकमा प्रश्न उठिरहेको छ । सरकारले मृतकको संख्या कम देखाएको आरोप छ ।

ईरानको संसदको कम्तीमा ३१ सदस्यमा पनि कोरोना भाइरस पोजिटिभ देखिएको छ । सांसदहरुमा कोरोना संक्रमण देखिएपछि संसद बन्द गरिएको थियो । मंगलबारदेखि भने संसदको कामकारवाही पुनः सुरु गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्