जेठ १७ गतेदेखि प्रथम ललितपुर जुत्ता चप्पल ब्यापार मेला संचालन हुने, पाँच करोडसम्मको कारोबार गर्ने लक्ष्य « Arthapath.com
१४ जेष्ठ २०८०, आईतवार

जेठ १७ गतेदेखि प्रथम ललितपुर जुत्ता चप्पल ब्यापार मेला संचालन हुने, पाँच करोडसम्मको कारोबार गर्ने लक्ष्य



काठमाडौं । जेठ १७ गतेदेखि असार १७ गतेसम्म ललितपुरको जाउलाखेल खेल मैदानमा प्रथम ललितपुर जुत्ता चप्पल ब्यापार मेला २०८० संचालन हुने भएको छ । ‘नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान’ भन्ने मुख्य नारा सहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्न उद्योगी व्यावसायीहरुको समुह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी ब्राण्डहरुलाई आम उपभोक्ताहरूको बीचमा परिचित गराउने उद्धेश्यले उक्त मेला आयोजना हुने भएको हो ।

मेलामा गोल्डस्टार, रोयल शुज, डियर हिल र वि.एफ स्पोर्ट, लालिगुरास फुटवेयरको क्रस रोड शुज, फस्टवाक शुज, सिल, सुरभि पोलिमर्सको हाई लाईफ, केटिएम शुजको केटिएम, डि.जे. शुज कम्पनीको डि.जे. शुज गरि ९ वटा कम्पनी र ब्राण्डहरुको सहभागिता रहनेछ । मेलामा ३ हजार भन्दा बढी मोडल र डिजाइनका जुत्ताहरु उपलब्ध हुनेछन् । मेला विहान ९ बजे देखि वेलुकी ७.०० वजे सम्म खुल्ला आयोजक कमिटिले जनाएको छ ।

यसका साथै मेला अवधिभर न्युनतम २० प्रतिशत देखि कतिपय उत्पादनहरुमा ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइने मेला संयोजक दिवाकर गिरीले बताए । मेला अवधिभरमा ३ लाख अवलोकन कर्तालाई अवलोकन गराउने लक्ष्य राखिएको छ भने सो मेला अवधिभरमा ५ करोडको कारोवार गर्ने लक्ष्य कम्पनी रहेको छ ।

अर्थतन्त्रलाई गतिशिल र चलायमान बनाउनका निमित्त उक्त मेला आयोजना

एक पत्रकार सम्मेलन मार्फत देशको अर्थतन्त्रलाई गतिशिल र चलायमान बनाउनका निमित्त उक्त मेला आयोजना गरिएको गिरीले जानकारी दिए । उनले भने, “नेपालको आर्थिक अवस्था यतिवेला सकारात्मक छैन । आर्थिक मन्दी र बैकहरुमा देखिएको आर्थिक तरलता तथा आर्थिक अभावका कारण देशका हरेक क्षेत्रहरु प्रभावित भएका छन् । आर्थिक प्रवाह गर्ने हरेक क्षेत्रहरु यति वेला प्राय निश्कृय छन् । आर्थिक गतिविधिहरु चलायमान हुन सकिरहेको छैन कृषि, पर्यटन लगायत उत्पादन मुलक औद्योगिक क्षेत्रहरु चरम आर्थिक संकट व्यहोर्न वाध्य आर्थिक अभावका कारण कतिपय उद्योगहरु धमाधम बन्द हुदैछन् भने उद्योगी व्यावसायीहरुले आत्महत्याको निर्मम वाटो रोज्न थालेका छन् । “

“यस्तो विषम परिस्थितिमा उद्योगी व्यावसायीहरुको मस्तिष्कलाई सकारात्मक बनाउदै देशको अर्थतन्त्रलाई गतिशिल र चलायमान बनाउनका निमित्त पनि केही न केही गतिविधिहरु निरन्तर गरि रहन आवश्यक हुन्छ । हामी यतिवेला यही अभियानमा लागिरहेका छौं ।” उनले भने

भृकुटीमण्डपमा हुने मेलाको महत्त्व घट्दै गयो

जुत्ता उत्पादक संघका पूर्वअध्यक्ष हुमनाथ उपाध्यायले भृकुटीमण्डपमा हुने मेलाको महत्त्व घट्दै गएको कारण यसपटक ललितपुरमा आयोजना गर्ने लागेको बताए । फुटवेयर म्युनुफ्क्चर एसोसिएसनका अध्यक्ष नानीराज घिमिरेले कोरोना महामारीयता थला परेको उद्योग क्षेत्रलाई चलायमान बनाउन उक्त मेलाले ठूलो सहयोग गर्ने बताए ।

“उद्योगी चलायमान हुन सकुन र उपभोक्ताले पनि सस्तोमा किन्न पाउन भनेर यो मेला आयोजना गरिएको हो” उनले भने ।

स्वदेशी उत्पादन मात्र प्रयोग गर्ने भावनाको विकास गर्नुपर्छ

केटीएम सुजका प्रमोद महतोले वार्षिक साढे ७ करोड जोर निर्यात सकिने जनाए । चोरी पैठारी रोक्ने, कच्चा पदार्थको भन्सार घटाउने र तयारी जुत्ताको भन्सार बढाउने हो भने साढे ७ करोड जोर निर्यात गर्न सक्छौं उनले भने ।

स्वदेशी उत्पादनलाई माया गर्ने, स्वदेशी उत्पादन मात्र प्रयोग गर्ने भावनाको विकास आम उपभोक्ता र सबै नेपालीहरुमा हुने हो भने देशमा सबै प्रकारका उद्योगहरु खुल्न सक्ने वातावरण बन्न आयोजकको भनाइ रहेको छ । “नेपाली उपभोक्ताले स्वदेशमा नै उत्पादित वस्तु प्रयोग गर्ने बानी बसाल्नु पर्दछ पहिले त देशलाई आत्मनिर्भर बनाउन पन्यो त्यसपछि बढि भएको उत्पादन निर्यात गरेर देशलाई सम्बद्ध बनाउन सकिन्छ” मेला संयोजक गिरीले भने ।


प्रतिक्रिया दिनुहोस्