विजयश्रीले एकै वर्ष बेच्यो साढे ३ अर्बको डन्डी, व्यापारको वार्षिक आँकडा भने घट्दो « Arthapath.com
१४ चैत्र २०८०, बुधबार

विजयश्रीले एकै वर्ष बेच्यो साढे ३ अर्बको डन्डी, व्यापारको वार्षिक आँकडा भने घट्दो



काठमाडौं । विजयश्री स्टीलको व्यापारमा कमी देखिएको छ । एकै वर्ष कम्पनीले व्यापार २४ प्रतिशत घटेको छ । कम्पनीले सन् २०२२ मा ४ अर्ब ७१ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

तर, सन् २०२३ मा भने २४.४५ प्रतिशत अर्थात् १ अर्ब १५ करोड ४० लाख रुपैयाँले घटेको छ । गत वर्ष कम्पनीले ३ अर्ब ५६ करोड ४० लाख रुपैयाँ बराबरको मात्रै व्यापार गरेको हो ।

बिक्री घट्दा नै कम्पनीको आम्दानीमा गिरावट आएको कम्पनीले जनाएको छ । विशेषगरि निर्माण क्षेत्रमा देखिएको सुस्तताले नै कम्पनीको बिक्री घटेको हो । गत वर्ष कन्टिन्युअस कास्टिङ मेसिन (सीसीएम) प्लान्ट जडान गरेको थियो । त्यसले उत्पादनमा अवरोध आएपछि बिक्री घटेको कम्पनीले जनाएको छ।

अघिल्लो वर्ष २०२१ मा भने कम्पनीले ५ अर्ब ३४ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यस्तै, गत वर्ष कम्पनीले ३५ हजार ७४४ टन डन्डी बिक्री गरेको जनाएको छ।

विजयश्री स्टील प्रालिको कपिलवस्तुमा प्लान्ट छ । उद्योग सन् २०१७ मा स्थापना भएको हो । यसको अध्यक्ष विकास केडीया हुन् । उद्योगको दैनिक ७०० टन डन्डी र दैनिक ४०० टन बिलेट उत्पादन गर्न सक्ने क्षमता छ ।

कम्पनीले ३ अर्ब ९४ करोड ३७ लाख रुपैयाँ बैंक कर्जाका लागि रेटिङ पुनः पुष्टि गराएको छ । दीर्घकालिन १ अर्ब ४ करोड ३७ लाख रुपैयाँका लागि ‘केयर एनपी बीबी माइनस’ र अल्पकालिन २ अर्ब ९० करोड रुपैयाँका लागि ‘केयर एनपी ए४’ रेटिङ पुनः पुष्टि गराएको हो ।


प्रतिक्रिया दिनुहोस्