खानी बेचेर होइन, अर्काको खानी किनेर मुलुक धनी हुन्छ भन्ने जापानी अनुभवबाट के सिक्ने ? « Arthapath.com
२१ जेष्ठ २०७८, शुक्रबार

खानी बेचेर होइन, अर्काको खानी किनेर मुलुक धनी हुन्छ भन्ने जापानी अनुभवबाट के सिक्ने ?



काठमाडौं । भर्खरै सरकारले ‘खानीजन्य ढुंगा गिट्टिको निर्यात गरेर ब्यापार घाटा घटाउने’ विषय बजेटमा समावेश गरेपछि यसको चौतर्फि विरोध भइरहेको छ । यसअघि पनि चुरे क्षेत्रको ढुंगागिट्टी भारतमा ठूला सडक पुर्वाधार बनाउन भन्दै निर्यात हुँदै आएको थियो । त्यस्ता ढुंगागिट्टीका कारण भारतले सीमावर्ती क्षेत्रमा तटबन्ध बनाएजसरी सडक बनाइदिएपछि कति नेपाली भूभाग डुबानमा पर्ने समस्या आएको भनेर पनि विरोध भएको थियो ।

नेपालमा राजनीतिक दल र कतिपय विज्ञले प्राकृतिक स्रोतमा आधारित कच्चापदार्थ बेचेर धनि हुने सपना बाँड्न थालिएको लामो समय भइसकेको छ । यसअघि पनि थुप्रै पटक पानी बेचेर धनि हुने कुरा उठेका थिए । त्यही अनुसार धेरै नदीमा बाँध बाँधिए र त्यसको लाभ शुन्यप्रायः भएको छ । त्यसपछि विजुली बेच्ने, जडिबुटी बेच्ने, खानिजन्य रत्न पत्थर बेच्नेदेखि विभिन्न प्राकृतिक स्रोतबाट प्राप्त हुने कच्चा पदार्थ बेच्ने बहस चलेको छ ।

तर, संसारका विकसित अर्थतन्त्रको उदाहरणले प्राकृतिक स्रोतको दोहनबाट होइन, त्यसको प्रशोधन र मूल्य अभिबृद्धिबाट मुलुहरुले धनि भएको उदाहरण पस्केका छन् । अपुर्व प्राकृतिक स्रोतको धनि अफ्रिकी मुलुकभन्दा स्रोतरहित युरोपेली मुलुकहरु कयौं गुणा समृद्ध छन् । यसको एउटा ज्वलन्त उदाहरण हो, विश्व अर्थतन्त्रको एसियाली ‘जायण्ट’- जापान ।

सन् १८५० सम्म जापान पनि नेपालका बाइसे र चौबिसे राज्य वा भारतका प्राचिन जनपद शासन व्यवस्थाजस्तै थुप्रै स-साना प्रशासकीय एकाईमा बाँडिएको थियो । त्यहाँ १२२ औं सम्राट मुत्सुहितो (मेइजी)ले १८६८ मा ती सबै क्षेत्रीय प्रशानिक एकाईहरुलाई एकीकृत गरे र केन्द्रिकृत प्रशासन सुरु गरे । त्यस बेलासम्म जापान बाँकी पृथ्वीदेखि अलग्गै नै थियो ।

मेइजीको शासनकालमा जापानले बढ्दो जनसंख्यालाई पाल्न धर्तिका अन्य भागबाट प्राकृतिक स्रोत खोस्नुपर्ने महसुस गर्यो । जुन काम १४ औं शताब्दीको अन्त्यतिरैबाट युरोपेलीहरुले सुरु गरिसकेका थिए । यही आकांक्षामा जापानले सैन्य शक्तिको सुदृढिकरण गर्न थाल्यो । आज संसारको सबैभन्दा ठूलो गाडि निर्माता टोयोटाको पनि सेनालाई युद्धपोत र सैन्य सवारिसाधनको निर्माण गर्ने उद्देश्यले नैं सन् १९३७ मा स्थापना भएको थियो ।

आफ्नो देशमा प्राकृतिक स्रोतको चरम अभाव भएको जापानले बलियो सैन्य शक्तिको आडमा प्रशान्त महासागरको एउटा टापुबाट आफूलाई बाहिर निकाल्यो । त्यसपछि रूस, चीन, थाइल्याण्ड, कोरियाजस्ता मुलुकमाथि आधिपत्य स्थापित गर्न थाल्यो । दुवै विश्वयुद्ध लडेको जापानका लागि दोस्रो विश्वयुद्धमा सफलता मिल्दै थियो । तर प्रशान्त महासागरकै अर्को तटमा रहेको पर्ल हार्बरमा आक्रमण गरेर अमेरिकामाथि धावा बोलेपछि जापानको भाग्य पल्टियो ।

यो घटनाको बदलामा अकेरिकाले हिरोशिमा र नागासाकीजस्ता शहरमाथि आणविक बम हमला गरिदियो । विश्व विजयमा उत्रिएको जापान एकाएक अमेरिकासँग बिनाशर्त सन्धी गर्न तयार भयो । अमेरिकाले जापानको सैन्य गतिविधीमाथि नियन्त्रण गरिदियो । त्यसपछि जापानले तत्कालै शक्तिको वैकल्पिक उपयोग गर्यो ।

त्यस समय इसुजु, निसान, टोयोटाजस्ता कम्पनी सेनालाई युद्धमा प्रयोग हुने सवारीसाधन बनाउँथे । उनीहरु व्यवसायिक सवारिसाधन र निजी गाडी उत्पादन गर्न थाले । सोनी त्यसबेला दूरबिन बनाइरहेको थियो । उसले क्यामेरा बनाउन सुरु गर्यो । सेनामा बुद्धिमान अधिकृतहरु व्यवसाय गर्न थाले । कर्मठ सैन्य जवानलाई औद्योगिक कामदारमा परिणत गरियो । सेनाबाट औद्योगिक मजदुरमा रुपान्तरण भएको त्यो जनशक्ति संसारकै सबैभन्दा ‘इफिसियण्ट’ हुन पुग्यो । जापानले १९६४ मै बुलेट ट्रेन बनाइसकेको थियो ।

अमेरिकी नेतृत्वको पूँजीबादी शक्ति र रूसी नेतृत्वको समाजबादी शक्तिबीचको शीतयुद्ध चलिरहेकै बेला जापानीहरुले अमेरिकामा आफ्नो बजार सुनिश्चित गरे । यसरी उसले विश्व बजारमा आफ्ना सहुलियतपूर्ण उपस्थिति बढायो । नेपालमा भर्खरै सबै नेपालीको बैंक खाता अभियान चलिरहेको छ । तर जापानमा १९६५ ताका नै ‘भावि पुस्ताका लागि बचत गरौं’ भन्ने अभियान चल्यो । यस अभियानले मानिसहरुलाई बैंकिङ प्रणालीमा लगेर धन सञ्चय गर्ने प्रेरणा दियो । जुन पैसाले औद्योगिकरण बढाउन ठूलो मद्दत मिल्यो ।

शीतयुद्धको समय जापानका लागि स्वर्णीमकाल रह्यो । उसले चीन, कोरिया, फिलिपिन्स, अस्ट्रेलियालगायत संसारभरबाट कच्चा फलाम किन्यो र आफ्नो देशमा उत्कृष्ट प्रशोधन गर्यो । अरुसँग सस्तो मूल्यमा किनेको फलामलाई चम्किलो स्टिल बनाएर फेरी विश्व बजारमा बेच्यो । त्यो चाहे सवारीसाधनको रुपमा होस् वा हतियारमा प्रयोग गर्न पनि जापानी स्टील निकै राम्रो विक्री भयो ।

यद्यपि, यूएसएसआरको विघटनसँग शीतयुद्धको अन्त्य भएपछि जापानलाई केही धक्का लाग्यो । सन् २००० मा चीनले विश्व ब्यापार संगठनको सदस्यता पाएपछि भने यसको असर जापानी अर्थतन्त्रमा परेको छ । सस्तो श्रमिक र ज्यादै ठूलो आन्तरिक बजारको जगमा ठडिएको चीनले एकसाथ औद्योगिक उत्पादनलाई बाह्य बजारमा पठाइरहेको छ ।

यही स्टिलको जगमा जापान २० औं शताब्दीमा पृथ्वीको प्रमुख शक्तिका रुपमा स्थापित भयो । सन् १९६८देखि २०१० सम्म अमेरिकापछि संसारकै दोस्रो ठूलो अर्थतन्त्र जापान नै थियो । तर अहिले पनि जापानको गुणस्तरीय सामानको मागलाई चिनियाँ वस्तुले धेरै ठूलो धक्का दिन सकेका छैनन् । अमेरिका, जर्मनीजस्ता विशाल अर्थतन्त्रमा आफ्ना मुलुकको उत्पादनभन्दा कतिपय जापानी उत्पादनलाई ग्राहकले मायाँ गर्ने गरेका छन् ।

एक दशकयता चीनले दोस्रो स्थान ओगटे पनि अझै जापान तेस्रो धनि मुलुककै रुपमा छ । हालसम्मका अनुमानहरुले सन् २०३० भन्दा अघि जापानबाट यो बरियता कसैले खोस्न सक्ने संभावना देखिन्न ।


प्रतिक्रिया दिनुहोस्