अब बैंकरले मिलेमतोमा ब्याजदर नरोक्ने, ज्ञानेन्द्र ढुंगानाले कसरी बनाइदिए एनआईसी एसियालाई सबैभन्दा ठूलो बैंक ? « Arthapath.com
३ आश्विन २०७८, आईतवार

अब बैंकरले मिलेमतोमा ब्याजदर नरोक्ने, ज्ञानेन्द्र ढुंगानाले कसरी बनाइदिए एनआईसी एसियालाई सबैभन्दा ठूलो बैंक ?



काठमाडौं । गत महिनादेखि बैंकहरुमा लगानी गर्ने पैसाको अभाव हुन थालेको छ । यही कारण चार वर्षअघि जस्तै ब्याजदर बढाउन नदिने समझदारी पुनः आवस्यक भएको भन्दै केही बैंकरले आवाज उठाउन थालेका छन् । तर त्यसबेला समझदारी गर्नमा निकै मिहेनत गरेका बैंकरहरु भने पुनः त्यस्तो समझदारी हुन नहुने बताउँछन् ।

‘हामीले चार वर्षअघि ब्याजदरलाई खुला छाड्न दिनुहुन्न भन्दा एनआईसीलाई त्यति ठूलो बैंक बनाइदियौं,’ ती बैंकर भन्छन्, ‘अब अर्कोलाई ठूलो बनाउन यस्तो समझदारी गर्नु हुँदैन ।’ खुला बजार नीति अपनाएको मुलुकले ब्याजदरमा सीमा तोकेर नियन्त्रित अर्थ व्यवस्था चलाउने प्रयास गर्दा भयंकर गल्ति भएको पुराना बैंकर स्वीकार्छन् ।

अब पुनः त्यस्तै समझदारी गर्ने की नगर्ने भन्नेमा पनि पुराना र नयाँ सीईओबीच मतभेद छ । नयाँ सीईओहरु अझै पनि सुरुमै ब्याजदरको समझदारी बनाएर आफ्नो निक्षेप आफूसँगै रोक्न चाहन्छन् । पुराना बैंकर भने पहिलेको गल्तिबाट सिकेर ब्याजदरलाई खुला छाड्नुपर्ने बताउँछन् ।

चार वर्षमा एनआईसीले बजारलाई कसरी माथ ख्वायो ?

बैंक अफ एसियासँग मर्ज हुनुअघि सन् २०१२ मा १६ वटा शाखा लिएर चलिरहेको नेपाल इण्डस्ट्रियल एण्ड कमर्शियल बैंक (एनआईसी)ले बैंक अहिले अधिकांश सूचकमा मुलुककै ठूलो बैंक बनेको छ । ऊसँग अहिले ३५६ शाखा, ७० एक्सटेन्सन काउण्टर र ८१ शाखारहित बैंकिङ सेवाको विशाल सञ्जाल छ । कत्तिपय बाणिज्य बैंकको कुल निक्षेप र कर्जाको बराबर त उसको वार्षिक बृद्धि नै छ । अर्थात् सिभिल, सेञ्चुरी वा नेपाल बंगलादेशजस्तो एउटा बैंक एनआईसी एसियाले हरेक वर्ष आफैंभित्र थपिरहेको छ ।

यो अवस्था आउनुको मूल कारण हो, चार वर्षअघि बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको क्लब नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदरमा लगाएको ‘कार्टेलिङ’ । सबैको मिलेमतोमा ब्याजदर बढ्न नदिने रणनीति बनेपछि निक्षेपकर्ता मारमा परेका थिए । अर्बपति ब्यापारीहरुलाई ऋणको ब्याजमा बढी भार पर्छ भनेर उसबेला बैंकरहरुले निक्षेपकर्तालाई बढी ब्याज नदिने समझदारी गरे ।

तर, सबै बैंकका सीईओ मिलेर बनाएको यो रणनीतिले तिनका ग्राहक ब्यापारीहरुलाई त फाइदा पुग्यो, तर अधिकांश बैंकहरुले नै यो रणनीतिबाट बर्बादी खेप्नु प¥यो । ब्याजदर नबढाउन सहमति जुटाउने प्रयत्नमा अत्यधिक मिहेनत गरेका थिए, नेपाल बैंकर्स संघका तत्कालिन अध्यक्ष ज्ञानेद्र ढुंगानाले । तर अहिले उनै ढुंगानाले चलाएको बैंक नेपाल बंगलादेश बैंक सबैभन्दा कमजोर अवस्थामा झरेको छ । पटक पटक समझदारी तोड्दै तर्साउने एनआईसी एसिया बैंक अहिले सबैभन्दा ठूलो बैंकको रुपमा उदाएको छ ।

त्यसबेला एनआईसी एसियाले कल निक्षेप लिनका लागि बचत खातामा १० र मुद्दतिमा ११ प्रतिशत ब्याजमा निक्षेप लिइरहेको थियो । कल निक्षेपमा बचत खाताको भन्दा बढी ब्याज दिन नपाइने व्यवस्था भर्खरै कार्यान्वयनमा आएको थियो । यही कारण एनआईसीले बचत खाताको ब्याजदर दुई अंकमै उचालि दियो । तर, बैंकर्स संघमा स्ट्याण्डर्ड चार्टर्ड र हिमालयन बैंकले बचत र मुद्दति खाताको ब्याजदरबीच कम्तिमा ४ प्रतिशत विन्दुको अन्तर हुनुपर्ने अडान राखे । त्यसपछि बैंकर्स संघले बचत खातामा ७ प्रतिशतभन्दा बढी ब्याज नदिने समझदारी गर्यो ।

तर यतिञ्जेलसम्म एनआईसी एसियाले धेरै बैंकबाट ठूलो परिमाणमा निक्षेप खोसिसकेको थियो । मानिसहरु अरु बैंकमा राखेको निक्षेप झिक्दै एनआईसीको महँगो ब्याजमा लगाइरहेका थिए । बैंकर्स संघमार्फत् बचत खातामा ७ र मुद्दतिमा ११ प्रतिशतको सीमा लगाउने समझदारी भएपछि एनआईसी एसियाले १० प्रतिशत ब्याजमा लिएको निक्षेपको ब्याज एकैपटक ७ प्रतिशतमा झारिदियो ।

त्यसपछि एनआईसीबाट पहिलेको बैंकमा निक्षेप फिर्ता भएन । एनआईसीको हातमा एकै झड्कामा ठूलो वित्तीय स्रोत पुगेपछि उसले लागत घटायो । पहिले नै डराइसकेका अरु बैंक निक्षेपकर्ता तान्ने रणनीतिमा लाग्नै सकेनन् । उनीहरुलाई आफ्नो थप निक्षेप एनआईसीले थुत्न नसकोस् भन्नेमात्र चिन्ता भयो । बाँकी सबै बैंक प्रतिरक्षामा उभिए । रक्षात्मक खेलेर खेल जित्न कठीन थियो । भयो पनि त्यही । रक्षात्मक बनेर उभिएकाहरु पछि परिरहे । आक्रामक बनेको एक्लो बैंक सबैलाई ओभरटेग गर्दै अघि बढिरह्यो ।

यसरी एनआईसीले विशाल फड्को मार्यो । त्यसबेला राष्ट्र बैंक र अर्थ मन्त्रालयले पनि बैंकर्स संघको कार्टेलिङप्रति सकारात्मक थिए । उनीहरुले सैद्धान्तिक रुपमा अर्थतन्त्र जोगाउन उक्त कार्टेलिङ आवस्यक हुने बताइरहे । खेलमा बाजि मार्ने एनआईसीले चाहीँ कार्टेलिङलाई पूर्ण रुपमा सघाएन । थप निक्षेप खोस्न बेलाबखत बैंकर्स संघको समझदारी तोड्दै बढी ब्याजमा निक्षेप योजनाहरु सार्वजनिक गरेर बाँकी बैंकरलाई भयानक भ्रममा राखिदिन सक्षम एनआईसी भयो । यो कुशल चालबाजीबाट एनआईसी एसिया देशकै ठूलो बैंक बन्न पुग्यो । अरु बैंक हेरेको हेर्यै भए ।

यही उदाहरण राम्रोसँग बुझेपछि अब बैंकहरु ब्याजदरलाई स्वतन्त्र छाड्नुपर्ने बताउन थालेका छन् । ‘त्यसबेला एनआईसीलाई ३ प्रतिशत विन्दुले ब्याजदर घटाउन लगाउनेभन्दा हामीले पनि बढाएको भए निक्षेप रोक्न पनि सकिने रहेछ,’ ती बैंकर भन्छन्, ‘त्यसो गर्दा एनआईसीले अहिलेको ग्रोथ गर्न सक्दैन थियो र बजार प्रतिस्पर्धी अवस्थामै रहने थियो ।’


प्रतिक्रिया दिनुहोस्