बैंकको ब्याजविरुद्ध केन्द्रीय बैंक घेर्ने उद्योगी व्यवसायीको तयारी « Arthapath.com
२८ फाल्गुन २०७९, आईतवार

बैंकको ब्याजविरुद्ध केन्द्रीय बैंक घेर्ने उद्योगी व्यवसायीको तयारी



काठमाडौँ । देशको केन्द्रभाग काठमाण्डौं र हेटौंडाबाट आजदेखि संयुक्त आन्दोलनमा रहेका उद्योगी व्यवसायीले भोलि सोमबार नेपाल राष्ट्र बैंक घेराउ गर्ने भएका छन् । चर्को बैंक ब्याजदरविरुद्ध सडक आन्दोलनमा उत्रिएका व्यवसायीले भोलि विहान ११ बजे केन्द्रीय बैंक घेराउ गर्ने भएका हुन् ।

आन्दोलनको नेतृत्व गरिरहेको बैंक तथा वित्तीय समस्या संघर्ष समितिले विहान ११ बजे आन्दोलनमा सहाभागी हुन सूचना जारी गरेको छ । आन्दोलनमा देशभरका विभिन्न क्षेत्रमा काम गरिरहेका ९ वटा महासंघ र ५९ वटा जिल्ला तथा वस्तुगत संघ आबद्ध छन् ।

महंगो ब्याजदर घटाउन माग
माइतीघर मण्डलामा सडकमै उत्रिएर देशभरका करिब १०० वटा व्यवसायी सङ्गठन मिलेर आज ११ बजेदेखि आन्दोलन सुरु गरेका छन् । ब्याजदर घटाउन माग गर्दै आन्दोलन थालेको मोरङ उद्योग सङ्गठनका अध्यक्ष नवीन रिजालले जानकारी दिए । उनीहरुले दिउँसो १ बजेसम्म माइतीघरमा धर्ना दिएका थिए ।

उनीहरुले चर्को ब्याजका कारण उद्योग व्यवसाय सञ्चालन गर्न नसकिने अवस्था सृजना भएकाले एकल अङ्कमा ब्याज रहनुपर्ने माग गर्दै आइरहेका छन् ।

राजधानी बाहिर पनि आन्दोलित
यसैगरी, बैंकहरुले लगाएको चर्को ब्याजले थला पारेको आरोप लगाउँदैँ मकवानपुरका उद्योगी व्यवसायीहरूले आजबाट बैंकमा नगद पैसा जम्मा नगर्ने घोषणा गरेका छन् । संघले बैंकको चर्को ब्याजदरविरुद्धको आन्दोलनलाई सहयोग गर्न बैंकमा नगद पैसा जम्मा नगर्न आग्रह गर्दै आन्दोलनको सुरुवात गर्ने भएका हुन् ।

बैंकको चर्को ब्याजदरविरुद्ध संघ र संघमा आबद्ध वस्तुगत संघ, निर्माण व्यवसायी संघ, नारायणी यातायात व्यवसायी संघ, होटल एशोसिएशन मकवानपुर लगायत विभिन्न व्यवसायिक संघहरुले हेटौँडामा चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

आइतबार नगद जम्मा नगर्ने, सोमबारबाट सम्पूर्ण बैंकिङ कारोबार बन्द गराउने र ३० गतेदेखि शान्तिपूर्ण रूपमा बैंक बन्द गराउने संघको कार्यक्रम रहेको बताइएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्