साढे २५ अर्बले बढ्यो बैंक तथा वित्तीय संस्थाहरुको जोखिम प्रोभिजन, वाणिज्य बैंकको मात्रै १३१%ले वृद्धि « Arthapath.com
८ चैत्र २०७९, बुधबार

साढे २५ अर्बले बढ्यो बैंक तथा वित्तीय संस्थाहरुको जोखिम प्रोभिजन, वाणिज्य बैंकको मात्रै १३१%ले वृद्धि



काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुको खराव कर्जा बढेपछि त्यसबापत गरिने प्रोभिजन रकम पनि बढेको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्ममा बाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तिय संस्थाहरुले कुल ४५ अर्ब ३१ करोड ३० लाख रुपैयाँ जोखिम बापतको व्यवस्थापन (रिक्स प्रोभिजन) गरेका छन् ।

जुन पछिल्लो एक बर्षमा मात्रै बैंक तथा वित्तिय संस्थाहरुको जोखिम बापतको प्रोभिजन रकम १३० प्रतिशतले बढेको छ । जुन गतको आव माघ मसान्तसम्मको तुलनामा २५ अर्ब ६१ करोड १० लाख रुपैयाँले बढी हो ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । गत आवको माघ मसान्तसम्म बैंक तथा वित्तिय संस्थाहरुले जोखिम बापतका लागि १९ अर्ब ७० करोड २० लाख रुपैयाँ प्रोभिजन गरेका थिए ।

विशेषगरि बैंकहरुको खराव कर्जा बढ्दा यस्तो अवस्था आएको हो । खराव कर्जा बापत बैंकहरुले छुट्टै रकम प्रोभिजन गर्नुपर्ने हुन्छ । पछिल्लो समय विभिन्न कारण बैंकहरुको खराव कर्जा बढेपछि प्रोभिजन रकम पनि बढेको राष्ट्र बैंकका एक अधिकारीले बताए । जोखिम बापत गरिने कुल प्रोभिजनमा अधिकांश खराव कर्जा अन्तरगतको प्रोभिजन रहेको छ ।

वाणिज्य बैंकको मात्रै साढे २९ अर्ब पुग्यो रिक्स प्रोभिजन

चालु आवको माघ मसान्तसम्ममा वाणिज्य बैंकहरुको मात्रै रिक्स प्रोभिजन मात्रै साढे २९ अर्ब बढी छ । समिक्षा अवधिमा बाणिज्य बैंकहरु रिक्स प्रोभिजन २९ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

जुन गत आवको सोही अवधिको तुलनामा १३१ प्रतिशतले बढी हो । गत आवको माघ मसान्तसम्म वाणिज्य बैंकहरुले जोखिमबापत १२ अर्ब ७८ करोड १० लाख रुपैयाँ प्रोभिजन गरेका थिए ।

समिक्षा अवधिमा विकास बैंकहरुले ४ अर्ब ३८ करोड ६० लाख रुपैयाँ र वित्त कम्पनीले ९३ करोड २० लाख रुपैयाँ बराबरको रकम जोखिम बापतको प्रोभिजनमा राखेका छन् ।

गत आवको समिक्षा अवधीमा विकास बैंकले २ अर्ब ३६ करोड १० लाख रुपैयाँ, वित्त कम्पनीले ४८ करोड ८० लाख रुपैयाँ र लघुवित्त वित्तिय संस्थाहरुले ४ अर्ब ७ करोड २० लाख रुपैयाँ बराबरको जोखिम बापतको प्रोभिजन राखेका थिए ।

पछिल्लो समय देखिएका आर्थिक संकटका कारण बैंकहरुको कर्जा असुल हुन सकेको छैन । महंगी, उच्च व्याजदर लगायतका कारण बजारमा माग घटेको छ । फलस्वरुप अधिकांश व्यवसायमा गिरावट आएको छ । यसरी व्यवसायमा गिरावट आएपछि ऋणीहरुले बैंकको ऋण तिर्न सकेका छैनन् । त्यसपछि त्यस्ता कर्जा खराव कर्जामा बर्गीकृत भएका छन् । राष्ट्र बैंकको नियमनअनुसार त्यस्तो कर्जा बापत छुट्टै प्रोभिजन गर्नुपर्छ । त्यसपछि बैंकहरुले आफ्नो नाफाबाट यस्तो प्रोभिजन गरेका हुन् ।

खराव कर्जाले बढायो बैंक तथा वित्तीय संस्थाको प्रोभिजन रकम

पछिल्लो समय बैंक तथा वित्तिय क्षेत्र विरुद्ध विभिन्न आन्दोलनका कार्यक्रमहरु भएका छन् । बैंक तथा वित्तिय संस्था र लघुवित्तका ऋणीहरुले ऋण नतिर्ने अभियान चलाएका छन् । ऋण मिनाहा गर्ने माग समेत हुन थालेको छ । त्यसपछि सक्षम ऋणीले पनि बैंक तथा लघुवित्तको ऋण तिरेका छैनन् । यस्ता कारण पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुको खराव कर्जा बढेको छ । त्यसपछि प्रोभिजन रकम पनि स्वत बढेको हो ।

गत आवको माघ मसान्तसम्म बाणिज्य, विकास र वित्त कम्पनीको खराव कर्जा औसतमा १.३१ प्रतिशत थियो । तर, चालु आवको माघ मसान्तसम्म उनीहरुको खराव कर्जा २.६३ प्रतिशत पुगेको छ । लघुवित्त वित्तिय संस्थाहरुको खराव कर्जा पनि बढेर ५ प्रतिशत नजिक पुुगेको छ ।


प्रतिक्रिया दिनुहोस्