लघुवित्तका ऋणीलाई थप राहत, कर्जा पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न थपियो म्याद « Arthapath.com
८ पुष २०८०, आईतवार

लघुवित्तका ऋणीलाई थप राहत, कर्जा पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न थपियो म्याद



काठमाडौं । लघुवित्तका ऋणीलाई राहत मिल्ने भएको छ । लघुवित्तबाट ऋण लिएर समस्यामा परेका ऋणीले राहत पाउने भएका हुन् ।

आइतबार एकीकृत निर्देशन संशोधन गर्दै नेपाल राष्ट्र बैैंकले लघुवित्त वित्तीय संस्थाले परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी आवश्यकता र औचित्यको आधारमा एक पटकको लागि कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न सक्ने व्यवस्था गरेको हो ।

यद्यपि, राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत लागू गरेको व्यवस्था हो । यसको कार्यान्वयनका लागि आइतबार केन्द्रिय बैंकले एकीकृत निर्देशन जारी गरेको हो ।

अब लघुवित्तका ऋणाीले आगामी चैत मसान्तभित्र निवेदन दिई २०८१ बैशाख मसान्तसम्म कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्नुपर्ने छ । २०८० असार मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई मात्र कर्जा भुक्तानी अवधि बढीमा १ वर्ष थप हुने गरी पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, पुनरतालिकीकरण तथा पुनरसंरचना गरिएका कर्जाहरुलाई ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने, त्यसको स्पष्ट आधारहरु प्रत्येक कर्जा फाइलमा संलग्न हुनुपर्नेछ ।

कर्जा पुनरतालिकीकरण तथा पुनरसंरचना गर्दाको दिनसम्म असुल हुन बाँकी ब्याजको कम्तीमा ५ प्रतिशत ब्याज रकम असुल उपर भएको हुनुपर्ने, असुल हुन बाँकी ब्याजलाई पुँजीकरण गरी आम्दानी जनाउन पाइने छैन । उक्त रकमलाई छुट्टै खातामा लेखांकन गरी ब्याज असुल भएपश्चात् मात्र आम्दानीका रुपमा देखाउन सकिनेछ ।

पुनरतालिकीकरण तथा पुनरसंरचना गरेवापत ऋणीबाट कुनै पनि प्रकारको शुल्क/हर्जाना लिन नपाइने केन्द्रिय बैंकले निर्देशन दिएको छ । यस्तै, कर्जाको किस्ता लगातार ६ महिनासम्म नियमित भए पश्चात् मात्र त्यस्ता कर्जालाई असल कर्जामा वर्गीकरण गर्न तथा कर्जा नोक्सानी व्यवस्थामा समायोजन गर्न पाइने छ ।

पुनरतालिकीकरण तथा पुनरसंरचना पश्चात् कर्जा नोक्सानी व्यवस्थाबाट राइट ब्याक हुने अवस्था आएमा सो बराबरको रकम सञ्चित मुनाफा खाता खर्च गरी छुट्टै खातामा लेखांकन गर्नुपर्नेछ । यसरी लेखांकन गरिएको रकमबाट लाभांश तथा कर्मचारी बोनस वितरण गर्न नपाइने उल्लेख छ ।

यस्तै, पुनरतालिकीकरण र/वा पुनरसंरचना गरिएको कर्जा असल बर्गमा बर्गीकरण भएपश्चात् मात्र खातामा लेखांकन गरिएको रकम सञ्चित मुनाफा हिसाबमा समायोजन गर्न सकिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्