भुक्तानी प्रणालीमा डिजीटलाइजेसनको विकास उत्साहजनक, एकै महिना ४१ खर्ब ६५ अर्बको कारोबार  « Arthapath.com
२९ पुष २०८०, आईतवार

भुक्तानी प्रणालीमा डिजीटलाइजेसनको विकास उत्साहजनक, एकै महिना ४१ खर्ब ६५ अर्बको कारोबार 



काठमाडौं । डिजिटल भुक्तानीमा बढोत्तरी देखिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को मङ्सिर महिनामा ४१ खर्ब ६५ अर्ब ४५ करोड ७० लाख बराबरको डिजिटल भुक्तानी भएको छ ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको डिजिटल भुक्तानी सम्बन्धी मङ्सिर महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । राष्ट्र बैङ्कका अनुसार पछिल्लो समय नगदसहित आरजिटिएस, एटिएम र डिजिटल कारोबारका लागि कनेट आइपिएस, इ–कर्मश, इन्टरनेट बैङ्किङ, मोबाइल बैङ्किङ, वालेट, क्युआर पेमेन्ट, पोन्ट अफ सेल्स (पिएसओ) का प्रयोगकर्ता बढेका छन् । नेपालमा पछिल्लो समय विद्युतीय भुक्तानीमा आकर्षण बढेको छ । 

मङ्सिरमा ९ करोड ४३ लाख ७८ हजार वटा डिजिटल कारोबार भएको छ । समीक्षा महिनामा डिजिटल भुक्तानी रकमका आधारमा १३ प्रतिशत बढेको देखिन्छ । गत आवको मङ्सिर महिनामा ३६ खर्ब ९७ अर्ब ६५ करोड ८० लाख बराबरको यस्तो कारोबार भएको थियो । गत आवको समीक्षा महिनामा ७ करोड ७ लाख ३७ हजार भन्दा बढी डिजिटल कारोबार  भएको थियो । 

समीक्षा महिनामा आरटीजीएस मार्फत २५ खर्ब ९३ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, यो अन्यको तुलनामा सबै भन्दा धेरै हो । दोस्रो स्थानमा भने इलोक्ट्रोनिक चेक मार्फत हुने कारोबार छ, मङ्सिरमा यस मार्फत ४ खर्ब ५८ अर्ब ८ करोड रुपैयाँ भुक्तानी भएको छ ।

तेस्रो स्थानमा कनेक्ट आईपीएस रहेको छ, कनेक्ट आईपीएस मार्फत ४ खर्ब ३२ अर्ब ७ करोड रुपैयाँ भुक्तानी भएको छ । चौथो स्थानमा रहेको मोबाइल बैङ्किङ मार्फत भने २ खर्ब ६३ अर्ब ४६ करोड भुक्तानी भएको छ । धेरै कारोबार हुनेमा पाँचौँ नम्बरमा आईपीएस रहेको छ, आईपीएस मार्फत १ खर्ब ७० अर्ब ८४ करोड ८० लाख रुपैयाँ भुक्तानी भएको छ ।

डिजिटल कारोबारलाई राष्ट्र बैङ्कले पनि बढवा दिँदै आएको छ । नेपालमा कोरोना महामारीपछि नै मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र क्युआर कोड पेमेन्ट तर्फ प्रयोगकर्ताहरूको आकर्षण बढेको राष्ट्र बैङ्कले जनाएको छ । मोबाइल बैंकिङ्ग मार्फत एकबाट अर्को बैङ्क खातामा रकम जम्मा गर्ने, पानी/बिजुली/इन्टरनेटको बिल भुक्तानी गर्ने, रिचार्ज गर्न सजिलै सकिन्छ । यसका साथै हवाई टिकट काट्ने, बीमाशुल्क भुक्तानी, क्युआर कोडमार्फत पनि भुक्तानी गर्ने लगायत थुप्रै सुविधा हुन्छन् । 

प्रविधिको विकाससँगै सरकारले कागजी नोटको प्रयोग घटाउँदै डिजिटल कारोबारलाई  प्रोत्साहन गर्ने नीति लिँदै आएको छ । बैङ्कहरूले पनि डिजिटल भुक्तानीमा एकदमै जोड दिँदै आएका छन् । फलस्वरुप: यस तर्फ आम मानिसको चासो र आकर्षण वृद्धि भएको छ । यसले गर्दा नै विद्युतीय माध्यमबाट हुने कारोबार र प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको हो ।

हाल नेपालमा २ करोड २६ लाख २४ हजार ६०७ मोबाइल बैंकिङ्ग प्रयोगकर्ता  पुगेका छन् । यस्तै, इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या १७ लाख ८८ हजार ६५७,  वालेट प्रयोगकर्ता २ करोड ८ लाख २७ हजार ९९४, कनेक्ट आइपिएस ११ लाख ८२ हजार ७६५ पुगेका छन् । 


प्रतिक्रिया दिनुहोस्