नाफामा नबिलले टप्यो: ग्लोबललाई प्राइम र आरविविले पच्छ्याउन थाले, बैंकहरुबीच यस्तो देखियो प्रतिस्पर्धा « Arthapath.com
२८ चैत्र २०८०, बुधबार

नाफामा नबिलले टप्यो: ग्लोबललाई प्राइम र आरविविले पच्छ्याउन थाले, बैंकहरुबीच यस्तो देखियो प्रतिस्पर्धा



काठमाडौं । एक महिनामै वाणिज्य बैङ्कहरूको नाफा दोहोरो अङ्कले बढेको छ । गत माघ मसान्तसम्मको तुलनामा बैङ्कहरूको नाफा १९.२० प्रतिशत बढेको हो । 

चालु आर्थिक वर्षको आठ महिनामा वाणिज्य बैङ्कहरूले कुल ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । गत माघ मसान्तसम्मको तुलनामा ६ अर्ब १८ करोड ५० लाख रुपैयाँ बढी हो ।चालु आवको सात महिनामा बैङ्कले कुल ३५ अर्ब ४९ करोड २० लाख रुपैयाँ नाफा कमाएका थिए । 

मासिक तथ्याङ्क अनुसार बैङ्कहरूको नाफामा चर्को उछिनपाछिन देखिएको छ। हाल सञ्चालनमा रहेका २० वटामध्ये सर्वाधिक नाफा भने नबिल बैङ्कले कमाएको छ । नबिल नाफामा नम्बर वानको सूचीमै छ । आठ महिनामा नबिलले ४ अर्ब ७२ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । 

ग्लोबल आइएमई, प्राइम र राष्ट्रिय वाणिज्य बैङ्कबिच प्रतिस्पर्धा देखिएको छ । गत माघसम्मको तथ्याङ्कअनुसार राष्ट्रिय वाणिज्य बैङ्क धेरै नाफा कमाउनेको दोस्रो सूचीमा थियो । तर, फागुनसम्म आइपुग्दा भने दोस्रो पोजिशनमा ग्लोबल आइएमई प्रवेश गरेको छ। समीक्षा अवधिमा ग्लोबल आइएमई बैङ्कले ३ अर्ब ४३ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । माघमा दोस्रो सूचीमा रहेको राष्ट्रिय वाणिज्य बैङ्क अहिले चौथो नम्बरमा पुगेको छ। राष्ट्रिय वाणिज्यले आठ महिनामा २ अर्ब ८७ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । 

तर, नाफामा प्राइम कमर्सियल बैङ्कले बिस्तारै पोजिशन बढाउँदै छ । आठ महिनामा प्राइमले २ अर्ब ८८ करोड ७८ लाख रुपैयाँ  नाफा कमाएको छ । यसअघि  अर्थात् माघसम्म प्राइम बैङ्क चौथो स्थानमा थियो । तर, अहिले तेस्रो पोजिशनमा आइपुगेको छ । 

पाँचौँ स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कले २ अर्ब ८० करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । समीक्षा अवधिमा एनआइसी एसिया बैङ्कले २ अर्ब ५४ करोड २४ लाख रुपैयाँ, एभरेष्ट बैङ्कले २ अर्ब २९ करोड ३४ लाख, स्ट्याण्डर्ड चार्टर्डले २ अर्ब ८ करोड ९६ लाख रुपैयाँ नाफा कमाएका छन् । 

यस्तै, कृषि विकास बैङ्कले १ अर्ब ९७ करोड ६७ लाख, हिमालयन बैङ्कले १ अर्ब ९४ करोड ८३ लाख, एनएमबिले १ अर्ब ९२ करोड ५२ लाख, लक्ष्मी सनराइजले १ अर्ब ८२ करोड ६ लाख, सिद्धार्थले १ अर्ब ६९ करोड ६५ लाख र सानिमा बैङ्कले १ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ नाफा कमाएका छन् । 

यता, प्रभु बैङ्कले १ अर्ब ५१ करोड ४५ लाख, कुमारीले १ अर्ब ४२ करोड ४६ लाख, नेपाल बैङ्कले १ अर्ब २८ करोड २९ लाख, सिटिजनले १ अर्ब २२ करोड ६५ लाख, माछापुच्छ्रेले १ अर्ब १६ करोड ४८ लाख र नेपाल एसबिआईले १ अर्ब ८० लाख रुपैयाँ नाफा कमाएका छन् । 


प्रतिक्रिया दिनुहोस्