महालक्ष्मीलाई ‘स्तरीय ब्रान्ड’ बनाउने एक युवा बैंकरको बयान « Arthapath.com
४ बैशाख २०८१, मंगलवार

महालक्ष्मीलाई ‘स्तरीय ब्रान्ड’ बनाउने एक युवा बैंकरको बयान



वसन्त बक्सी
प्रमुख, कर्पोरेट कम्युनिकेसन
, महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैङ्क अहिले समकालीन विकास बैङ्कहरूमा अग्रणी संस्था बनेको छ । बढ्दो प्रतिस्पर्धा, न्यूनतम चुक्ता पुँजीको वृद्धि र संस्थागत सुशासनका कारण कयौँ विकास बैङ्कहरूले अस्तित्व गुमाएको अवस्थामा यो बैङ्क अहिले पनि कतिपय वाणिज्य बैङ्कसँग जोडतोडले प्रतिस्पर्धा गरिरहेको छ । बैङ्कलाई यो ठाउँमा ल्याउन असाधारण मिहेनत गरेका कयौँ पात्रहरूमध्ये एक नाम हो, वसन्त बक्सी । 

विराटनगरबाट १६–१७ वर्ष अघि काठमाडौँ छिरेको एक ‘ठिटो’को उपलब्धि निकै लोभलाग्दो छ । वि.सं. २०६६ सालमा तत्कालीन एनआईसी बैङ्कबाट बैङ्किङ क्षेत्रमा करियर सुरु गरेका उनी करिब १४ वर्षदेखि यसै क्षेत्रमा छन् । एनआईसीमा करिब ७ वर्ष काम गरेपछि उनी मेगा बैङ्क पुगे । त्यहाँ उनी कर्पोरेट विभागमै ‘सेल्स इन्चार्ज’ बने । २ वर्ष हाराहारी त्यहाँ काम गरेपछि उनी मुक्तिनाथ विकास बैङ्क पुगे । उनले त्यहाँ लगभग साढे ४ वर्ष सेवा गरे । 

मुक्तिनाथलाई एक स्तरीय ब्रान्डमा पुर्‍याउन र आजको ‘मुक्तिनाथ’को पहिचान हासिल गर्न आफूले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनी बताउँछन् । उनले सेल्स, ब्रान्ड, सीएसआरमा रहेर काम गरे । त्यो जागिर पनि छाडेपछि अहिले उनी महालक्ष्मी विकास बैङ्कमा जोडिन पुगे । उनले यो करिब डेढ दशकको बैङ्किङमा अपरेशन, रेमिटेन्स, टेलर, क्यास, कस्टमर सर्भिस, रिलेशनसिप म्यानेजमेन्ट, क्रेडिट डिपार्टमेन्ट हुँदै मार्केटिङ अनुभव पनि बटुलेका छन् । 

यात्रा महालक्ष्मीको

महालक्ष्मी विकास बैङ्क आइसकेपछि सुरुमा ब्रान्ड विकास गर्नमा ध्यान दिइएको उनी बताउँछन् । ‘म दुईटा कारणले आएको थिएँ महालक्ष्मी’ उनले सुनाए । त्यसमध्ये एउटा काम निक्षेप बढाउनु थियो । आजभन्दा २१ महिना अगाडी २०७९ साउनको एउटा सानो टोली नै महालक्ष्मी प्रवेश गर्‍यो । ‘यहाँ हामी आएपछि बैङ्कले पहिलो पल्ट निक्षेपमा व्यापक वृद्धि गर्‍यो’, उनी भन्छन् । 

त्यस बेला निक्षेपका हिसाबले विकास बैंकहरुमध्ये ८ नम्बर रहेको महालक्ष्मी केवल ३ महिनाको अन्तरालमा दोस्रो ठुलो विकास बैङ्क बन्न सफल भएको उनी सुनाउँछन् । ‘त्यस्तो तरलता अभावको बेलामा निक्षेप वृद्धि गर्न सक्यौँ ।  यसले निक्षेपमा दोस्रो नम्बरमा पर्यौं भने अरू धेरै सूचकमा हामी माथि उक्लियौँ’, उनी सम्झन्छन् । व्यवसायमा भएको बढोत्तरीसँगै ब्रान्ड निर्माण तथा डिजिटल प्रणालीमा बढी ध्यान दिइएको उनी बताउँछन् । 

बक्सीका अनुसार सामाजिक सञ्जालमार्फत हुने प्रचार प्रसारलाई बढी ध्यान दिइएको कारण अहिले विकास बैंकको अवस्था छोटो समयमै धेरै राम्रो भएको छ । ‘ब्राण्डलाई स्थापित गरिएको छ । ग्राहक सेवामा बढी मिहेनत गरेका छौँ’, उनी थप्छन्, ‘महालक्ष्मीको टोल फ्रि नम्बर होस् वा डिजिटल नम्बरमा फोन गर्दा ५ देखि १० मिनेटभित्र रेन्सपोन्स प्राप्त गर्न सक्नुहुन्छ । बिहान ६ देखि रातीको १२ बजेसम्म यस्तो सुविधा छ ।’ 

बैङ्क र ब्रान्ड

बक्सीले यो बैङ्क प्रवेश गर्नुको दोस्रो कारण भने ‘ब्राण्डिङ’ हो । बैङ्कका बारेमा सबैले थाहा पाउने मात्रै होइन, यसबारे सकारात्मक सोच भर्ने काममा पनि उनले ठुलै मिहेनत गरेको बताए । उनको बुझाइमा ‘ब्रान्ड’ भनेको केवल एक जन–धारणा हो । कुनै पनि विषय वा वस्तुको नाम लिँदा मानिसहरू त्यस विषयमा के धारणा बनाउँछन् भन्ने कुरा नै ब्रान्ड हो । तर बैङ्कहरू तुलनात्मक रूपमा अन्य पेसा व्यवसायभन्दा अत्यधिक जिम्मेवार हुनुपर्ने भएकाले बैंकको ब्राण्डिङ गर्दा पनि जिम्मेवार ब्राण्डिङ गर्नुपर्ने उनी बताउँछन् । 

‘हामीले यहाँ ब्राण्डिङ गर्दाखेरी जे मन लाग्यो त्यही ब्राण्डिङ गर्न हामी सक्दैनौँ । राजनीतिक, धार्मिक र साम्प्रदायिक विषयहरूबाट हामी जहिल्यै टाढा बस्नुपर्छ’, उनी भन्छन्, ‘त्यस्ता कुरामा हामी कहिल्यै सहभागी हुँदैनौ । समाजका सबै अङ्गलाई बराबर सम्मान गरेर जानुपर्छ । बैंकको ब्रान्ड हेर्दा यस्ता कुरामा अझै बढी संवेदनशील हुनु आवश्यक छ ।’ 

मिडियाको ब्यालेन्समा पनि संवेदनशील हुनु आवश्यक भएको उनी बताउँछन् । जनसम्बन्ध एवम् सहभागिता र उपस्थितिका सवालमा पनि बढी सतर्क हुनुपर्ने बाध्यता रहेको उनले बताए । ‘सबैलाई समेटेर अघि बढ्नुपर्छ । अरू कुनै उत्पादनमूलक वा सेवामूलक कम्पनीका तुलनामा बिल्कुलै भिन्न ब्राण्डिङको तौरतरिका बैङ्कमा अपनाउनु पर्ने हुन्छ’ उनी भन्छन् ।  

निक्षेपको उतारचढाव

केही समय अघिसम्म समस्यायुक्त भएको निक्षेप व्यवस्थापन अहिले ज्यादै सहज अवस्थामा पुगेको छ । बजारमा पैसा फालाफाल छ । मुलुकमा यो आर्थिक वर्षदेखि रेमिटेन्स प्रवाह राम्रो भयो । तर कर्जा प्रवाह कम भयो र आयात पनि घट्न थाल्यो । यस्ता कारणले पनि बैङ्कमा पैसा थुप्रिन पुग्यो । 

तर अहिले निक्षेप ‘पर्याप्त छ’ भन्दैमा ‘अब यसको आवश्यकता छैन’ भन्ने होइन । बक्सी भन्छन्, ‘हामी अहिले बचत खातामा निक्षेप बढाउनुपर्ने आवश्यकता छ । दिगो निक्षेपका लागि बचत खातालाई हामीले प्राथमिकतामा राखेका छौँ ।’ त्यसै अनुसार बैङ्कले अहिले विभिन्न बचत खाता योजनाहरू सुरु गरिरहेको उनी बताउँछन् । 

यसका लागि महालक्ष्मीले भर्खरै मात्रै ‘डलर सेभिङ अकाउण्ट’ सार्वजनिक गरेको छ । त्यो खातामा कसैले विदेशी मुद्रा वा अमेरिकी डलर ल्याएर राख्न सक्छन् । बैङ्कले त्यस्ता निक्षेपकर्तालाई सबैभन्दा बढी ब्याजदर दिने भनेको छ । 

त्यसो त फागुन र चैतको तथ्याङ्कले पनि निक्षेप खातामा सबैभन्दा बढी ब्याज दिने नै महालक्ष्मी विकास बैङ्क भएको देखाउँछ । ‘हामी अहिले पनि साढे ६ प्रतिशत ब्याज दिइरहेका छौँ’, उनी भन्छन्, ‘कर्जाको विस्तारमा पनि हामीले सन्तोषजनक उपलब्धि हासिल गरेका छौँ ।’ ‘इन्डस्ट्री’ औसतकै अनुपातमा आफूहरूले पनि अहिले १०.९९ प्रतिशत ब्याजदरमा ऋण दिइरहेको उनले बताए । 

यो आर्थिक वर्ष यस्तै अधिक तरलतामै पुरा हुन्छ भन्ने उनको बुझाइ छ । यस्तो अवस्थामा कर्जा विस्तारलाई मुख्य प्राथमिकता दिनु उनी बताउँछन् । ‘हामीले निक्षेप उठाउने भन्दा कर्जा विस्तारलाई ध्यान दिनु आवश्यक छ’, उनी भन्छन्, ‘निक्षेपमा धेरै राम्रो प्रगति गरेका छौँ । गत आर्थिक वर्षमा हामीले निक्षेपमा पाएको सफलताप्रति हामी गर्व गरेका छौँ । अब त्यो निक्षेपलाई कर्जामा बदल्न आवश्यक छ । यो काममा पनि हाम्रो पुरा टिम नै लागेका छौँ ।’

यो समयमा मानिसहरूले किस्ता पनि समयमै तिरुन्, नयाँ कर्जा पनि राम्रो ठाउँमा लगानी गरुन् भन्ने आफूहरूको सोचाइ रहेको उनले बताए । ‘हामीले ग्राहकलाई मर्कामा मार्नेगरी काम गर्नुहुँदैन भनेर ब्याजदर निर्धारणमा पनि न्यूनतम स्प्रेड राखेर काम गरिरहेका छौँ’ उनी भन्छन्, ‘अहिले आधार दरमा पनि कमी आइरहेको छ । यसले पनि कर्जाको ब्याजदर घटाउन मद्दत मिलेको छ ।’

फेरि आफ्नै कुरा

बक्सी बैङ्किङ क्षेत्रमा आउनुको एउटै कारण ‘पढाइ’ हो । ‘हामीले कलेज पढ्नेताका नेपालका भविष्य खोज्दा बैङ्किङ नै सर्वश्रेष्ठ देखिन्थ्यो’, उनी भन्छन्, ‘त्यसैले कमर्स पढियो । मुलुक छाडेर जाने सोच त्यति बेला पनि थिएन र अहिले पनि छैन ।’ यही देशमा केही गर्नुपर्छ, प्रोफेसनल हुनुपर्छ भन्ने सोच उनको छ । ‘यस्तो करियर होस् की, हामी चिटिक्क परेर अफिस जान पाइयोस् भन्ने नै मेरो पहिलेदेखिको सोचाइ थियो,’ उनी सम्झन्छन् । 

त्यसै अनुसार उनी बैङ्किङ करियरमा छिरे । त्यसो त, उनलाई पनि बच्चा बेलामा डाक्टर बन्न उक्साउनेहरू कम थिएनन् । तर उनले त्यो लयमा पढाइलाई अघि बढाएनन् । बैङ्किङमा पनि उनलाई मार्केटिङ असाध्यै चाख लाग्यो । अहिले त्यसैमा रमाइलो गरिरहेका छन् । तर उनलाई यही नै पुरा जीवन हो भन्ने अझै लागेको छैन । ‘बैंकिङभन्दा आकर्षक र आफूलाई उपयुक्त अर्को पेसा भेटियो भने त्यता पनि लाग्न सकिन्छ’, उनी भविष्यका यावत् सम्भावनाप्रति आफ्नो खुलापन दर्साउँछन् । 

अहिले नेपालबाट युवा पलायन भइरहेका छन् । ‘यो देशमा बस्ने वातावरण नै छैन’ भन्ने खालका भाष्य सिर्जना गरिँदै छ । तर उनलाई त्यस्तो लाग्दैन । संसारमै नेपाल अहिले पनि धेरै शान्तिपूर्ण मुलुक हो भन्नेमा उनी विश्वस्त छन् । दुई ठुला र विकासोन्मुख मुलुकको बिचमा हुँदाका अन्य फाइदा पनि नेपालसँग छ भन्ने उनलाई छ । 

‘पछिल्ला दुई आर्थिक वर्षमा व्यावसायिक वातावरण केही बिग्रिएको छ । तर यसको अर्थ सधैँ नै नकारात्मक रहिरन्छ भन्ने होइन’, उनी भन्छन् । अहिले बाहिरिइरहेका मानिसहरू पनि उन्नत भविष्यको सपना देखेर वा साँच्चै स्तरीय शिक्षा लिन्छु भनेर जानेहरू छन् । विदेशमै दीर्घकालीन भविष्य देखेर जानेहरूलाई नेपालमा फर्काउन वा यतै रोक्न सरकारले केही प्रयास गर्नु आवश्यक हुने उनको बुझाइ छ । 

अहिले पनि नेपालमा उत्पादन र सेवा क्षेत्रमा उस्तै गरी काम भइरहेको छ । नयाँ नयाँ व्यवसायका सम्भाव्यता सिर्जना भइरहेका छन् । रोजगारी सिर्जना पनि रोकिएको छैन । तसर्थ, देशमा बस्ने वातावरण नै नभएको होइन, अहिलेको केही समयको ‘वेभ’ चलेको उनी ठान्छन् । यस्तो बेला देशभित्र भएका युवाले केही धैर्यताका साथ करियर सुरु गर्ने हो भने तुरुन्तै केही नभए पनि आउने १०–१५ वर्षमा एक स्तरको सेटलमेन्ट हुन्छ । यो समय चाहिँ संसारका जुनसुकै मुलुकमा जाँदा पनि लाग्छ । 

नेपालमै रहेर कलिलो उमेरमै आफूले हासिल गरेको ‘करियर ग्रोथ’ प्रति उनी सन्तुष्ट छन् । भविष्यमा अझ विस्तारित नेतृत्व गर्ने भूमिकाको अनवरत खोजी गरिरहेका छन् । ‘कुनै निश्चित पदको लक्ष्य त छैन, तर अझ ठुलो टिमलाई नेतृत्व गर्न पाऊँ र आफ्नो अनुभव एवम् सिकाइहरू हस्तान्तरण गर्न पाउँ भन्ने लागेको छ’, उनी भन्छन् । तर त्यस प्रकारको ‘कमान्डर इन चिफ’ बन्नका लागि आफैँ पनि अझ धेरै तयार हुनुपर्छ भन्ने उनले राम्रोसँग बुझेका छन् । 


प्रतिक्रिया दिनुहोस्