भारतलाई बिजुली बेच्न थालियो: ६ घण्टामा १०० मेगावाट विद्युत निर्यात, प्रतियुनिट कति ? « Arthapath.com
१४ जेष्ठ २०८०, आईतवार

भारतलाई बिजुली बेच्न थालियो: ६ घण्टामा १०० मेगावाट विद्युत निर्यात, प्रतियुनिट कति ?



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात गर्न सुरु गरेको छ । प्राधिकरणले शनिबार बिहान (१२ बजेदेखि ६ बजेसम्म) भारतमा १०० मेगावाट विद्युत निर्यात गरेको हो ।

यद्यपि, त्यस यता भने विद्युत निर्यात भएको छैन । त्यसयताको उत्पादनले भने स्वदेशी माग धान्न मात्रै पुगेको छ । प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत विद्युत् बिक्री गरेको हो ।

वर्षा लागेसँगै नदीमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेको छ । त्यसपछि रातीको समयमा भारतमा विद्युत निर्यात गर्न पुगेको छ । खोलामा पानीको बहाव बढेसँगै विद्युत उत्पादन १३ सय मेगावाट भन्दा माथि छ । तर, रातीको समयमा विद्युतको माग भने १२ सय मेगावाट मात्रै हुन्छ । त्यसरी बाँकी हुने १०० मेगावाट विद्युत निर्यात गर्न पुगेको हो । प्रतियुनिट ७ रुपैयाँ हारहारीमा विद्युत निर्यात गरिएको हो ।

नेपालमा अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारीत छन् । त्यस अवस्थामा हिउँदमा खोलामा पानी कम हुदाँ विद्युत उत्पादन कम हुन्छ । तर, बर्खामा खोलामा पानी बढी हुदाँ विद्युत उत्पादन पनि बढ्छ । अहिले प्रिमनशुन सुरु भएसँगै खोलामा पानीको बहाव बढेको छ, फलस्वरुप विद्युतको उत्पादन बढेको हो । साथै, निर्यात गर्न पनि पुगेको हो । हिउँद लागेसँगै उत्पादन घटेपछि प्राधिकरणले स्वदेशी माग धान्न पुस ४ गतेबाट विद्युत आयात गर्न थालेको थियो । तर, अहिले आयात बन्द गरिएको छ ।

प्राधिकरणले गत बर्ष जेठ १९ गतेबात पुस ३ गतेसम्म ११ अर्ब १६ करोड बराबरको विद्युत भारतमा निर्यात गरेको थियो । त्यसबेला ४०० मेगावाट हारहारी विद्युत निर्यात भएको थियो । यो बर्ष १२ सय मेगावाट विद्युत निर्यात गर्ने प्राधिकरणको लक्ष्य छ ।


प्रतिक्रिया दिनुहोस्