खाने तेलको निर्यात खस्किँदै: किन निरन्तर घटीरहेको छ सोयाविन, पाम र सूर्यमुखी तेलको निकासी ? « Arthapath.com
१४ असार २०८०, बिहीबार

खाने तेलको निर्यात खस्किँदै: किन निरन्तर घटीरहेको छ सोयाविन, पाम र सूर्यमुखी तेलको निकासी ?



काठमाडौं । खाने तेल (भटमास, पाम र सूर्यमुखी) को निर्यात निरन्तर घट्दो छ । नेपालबाट सबैभन्दा धेरै निर्यात हुने भटमास, पाम र सूर्यमुखी तेलको निकासी पछिल्लो घटीरहेको छ ।

नेपालबाट निर्यात हुनेको वस्तुको पहिलो स्थानमा पाम तेल पर्छ, यसको कुल वस्तु निर्यातको १३.६० प्रतिशत हिस्सा ओगटेको छ । भटमास तेलको ५.९० प्रतिशत र सूर्यमुखी तेलको हिस्सा शून्य दशमलव तीन प्रतिशत रहेको छ । तर, यस्ता तेलको निर्यात घट्दै गएको छ ।

समिक्षा अवधिमा पामको तेलको निर्यात उच्च गिरावट आएको छ । व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रले उपलब्ध गराएको तथ्याङ्क अनुसार ११ महिनामा पाम तेलको निकासी ५० प्रतिशतले घटेको हो । गत आवको जेठ मसान्तसम्ममा ३९ अर्ब ११ करोड २७ लाख रुपैयाँ बराबरको पाम तेला निर्यात भएको थियो । तर, चालु आवको समिक्षा अवधिमा भने यस्तो तेलको निकासी आधाले घटेको हो । चालु आवको जेठ मसान्तसम्ममा १९ अर्ब ५४ करोड ३६ लाख रुपैयाँ बराबरको पाम तेल निर्यात भएको छ ।

समिक्षा अवधिमा भटमास तेलको निकासीमा पनि ८१.८० प्रतिशतको गिरावट देखिएको छ । गत आवको ज्ेठ महिनासम्ममा नेपालबाट ४६ अर्ब ५८ करोड ७० लाख रुपैयाँ बराबरको भटमास तेल बाहिरिएको थियो । तर, चालु आवको सोही अवधिमा आईपुग्दा भने घटेर ८ अर्ब ४७ करोड ५९ लाख रुपैयाँमा सिमित भएको छ ।

यता, सूर्यमुखी तेलको निकासी पनि झण्डै दोब्बरले घटेको छ । गत आवको जेठ मसान्तसम्ममा ४ अर्ब ४५ करोड ६१ लाख रुपैयाँ बराबरको सूर्यमुखी तेल निर्यात भएको थियो । तर, चालु आवको सोही अवधिसम्म आईपुग्दा भने ९१ प्रतिशतले घटेको छ । समिक्षा अवधिमा नेपालबाट सूर्यमुखी तेलको निर्यात घटेर ४० करोडमा सिमित भएको छ ।

नेपाली व्यवसायीहरुले अर्जेन्टिना, ब्राजिल, पाराग्वे, इन्डोनेशिया तथा युक्रेनबाट कच्चा भटमास आयात गरि प्रशोधन गरी भारत निर्यात गर्दै आएका छन् । यसैगरि मलेसिया, इन्डोनेशिया लगायतका मुलुकबाट कच्चा पाम तेल ल्याएर प्रशोधन गरी भारततर्फ निर्यात गर्दै आएका छन् ।

कच्चा पदार्थ ल्याएर प्रशोधन गरी बिक्री गर्दा ३० प्रतिशतसम्म भ्यालु एड गरिदैं आइएको छ । भारतमा पहिला यी दुवै वस्तु अन्य देशमा आयात गर्दा २५ प्रतिशतसम्म भन्सार तिर्नु पर्दथ्यो । तर, नेपालबाट आयात गर्दा भने भन्सार लाग्दैन । साफ्टाको सुविधा प्रयोग गरेर भारतले नेपालबाट शुन्य भन्सारमा पाम तेल र भटमास तेल आयात गर्दै आएको छ । फलस्वरुप अन्य देशभन्दा नेपालबाट आयात गर्दा सस्तो पर्दथ्यो । सोही कारण नेपालबाट यी दुई वस्तुको निर्यात बढी हुने गरेको छ । तर, पछिल्लो पटक भारतले अन्य देशबाट पाम र भटमास तेलको आयात गर्दा लाग्ने भन्सार दर ५ प्रतिशतमा झारेको छ । त्यो अवस्थामा नेपालबाट भन्दा अन्य देशबाट नै पाम तेल र सोयाविन तेल आयात गर्दा भारतलाई सस्तो पर्दछ । सोही कारण पछिल्लो समय पाम तेल र भटमास तेलको निर्यात घटेको व्यवसायीहरु बताउँछन् । ‘तेस्रो मुलुकबाट कच्चा प्रदार्थ ल्याएर प्रशोधन गरि भारतमा बिक्री गर्दा लागत बढी हुन्छ, मुल्य पनि स्वत बढी हुन्छ । यी यस्ता कारणले पछिल्लो समय यसको निर्यात घट्न थालेको हो ।’–एक व्यवसायीले भने ।

भारत सरकारले खाने तेलको कच्चा पदार्थको भन्सार महसुल शून्य बनाएको छ । आगामी सन् २०२४ को मार्चसम्म लागू हुने गरी खाने तेलको कच्चा पदार्थको आयातमा भन्सार महसुल शून्य बनाएको हो । भारतले पाम तेलमा भन्सार महसुल घटाएपछि निर्यातमा उरच्च गिरावट आएको विज्ञहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्