धान उत्पादन बढ्दै, रोपाइँ क्षेत्र घट्दै: ११ महिनामा नेपालले किन्यो ३३ अर्ब ३५ करोडको धान चामल « Arthapath.com
१५ असार २०८०, शुक्रबार

धान उत्पादन बढ्दै, रोपाइँ क्षेत्र घट्दै: ११ महिनामा नेपालले किन्यो ३३ अर्ब ३५ करोडको धान चामल



काठमाडौं । धान नेपालको प्रमुख बालीमा पर्छ । तर, प्रमुख बाली नै आयातमा निर्भर हुनुपर्ने अवस्था छ । कृषिप्रधान देश भनिएता पनि नेपाल कृषिजन्य वस्ुतमा अझै आत्मनिर्भर हुन सकिरहेको छैन ।

कृषि वस्तुको आवश्यकता पुरा गर्ने पनि आयातमै परिनिर्भर हुने पर्ने छ । वर्षेनी धान आयातमा अर्बौं रुपैयाँ बाहिरिने गरेको छ ।
कृषि मन्त्रालयका अनुसार धान उत्पादकत्वमा झिनो बढोत्तरी मात्रै देखिएको छ ।

देशको धान बाली उत्पादनको तथ्याङ्क अनुसार यस वर्षको धानको उत्पादकत्व ३.८ प्रतिशत (मेट्रिक टन प्रति हेक्टर) मात्रै छ । गत वर्ष भने यस्तो उत्पादकत्व ३.५ प्रतिशत रहेको थियो । यो वर्ष धान उत्पादन सामान्य वृद्धि भएको छ । गत वर्ष ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । तर, यस वर्ष भने थप ३ लाख ५६ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो वर्ष कुल ५६ लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएको हो ।

उत्पादन बढेपनि आयात बढ्दो छ । स्वदेशी उत्पादनले धान नसक्ने अवस्था । स्वदेशी उत्पादनले नेपालीलाई नपुग्ने भएपछि बर्षेनी अर्बौं रुपैयाँ बराबरको धान आयात गर्नुपर्नेछ । सिंचाइको लागि आकासे पानीमा भरपर्नु तथा आधुनिक कृषि खेती तथा उन्नत विउको प्रयोगमा उल्लेख्य वृद्धि नहुनुले बालीको उत्पादकत्व उल्लेख्य रुपमा वृद्धि हुन नसकेको बताइएको छ ।

भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङक अनुुसार धान आयात पनि उत्तिकै बढ्दो छ । ११ महिनामा मात्रै ३३ अर्ब ३५ करोड १७ लाख रुपैयाँ बढीको धान चामल आयात भएको छ । चालु आवको जेठ मसान्तसम्ममा धान मात्रै १८ अर्ब ९० करोड ७८ लाख रुपैयाँ बराबरको ५ लाख ६ हजार ७८१ टन धान आयात भएको छ । जुन गत आवको जेठ मसान्तसम्मको तुलनामा २ अर्ब ११ करोड ६० लाख रुपैयाँ अर्थात १२.६० प्रतिशतले बढी हो । गत आवमा १६ अर्ब ७९ करोड १७ लाख रुपैयाँ बराबरको ५ लाख ४५ हजार ११७ टन धान आयात भएको थियो ।

नेपालमा छिमेकी मुलुक भारतबाट नै सबैभन्दा धेरै धान आयत हुने गरेको छ । चालु आवको ११ महिनामा १८ अर्ब ८५ करोड ६९ लाख रुपैयाँ बराबरको धान भारतबाट आएको हो । यस्तै, चीनबाट ५ करोड ८ लाख रुपैयाँ बराबरको धान आयत भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

यस्तो नेपालमा धान उत्पादनको १० वर्षको तथ्याङ्क

नेपालमा धान उत्पादन सामान्य वृद्धि भएको छ । १० वर्षको तथ्याङ्क हेर्ने हो भने पनि धान उत्पादकत्व शून्य दशमलव ४ प्रतिशत ( मेट्रिक टन प्रति हेक्टर) वृद्धि भएको छ । देशको समग्र धान बालीको उत्पादकत्वमा सामान्य वृद्धि भएको देखिएको हो । यो वर्ष उत्पादकत्व ३.८ प्रतिशत रहेको छ ।

तथ्याङ्क अनुसार चालु आवमा १५ लाख ४७ हजार हेक्टर क्षेत्रफलमा धान उत्पादन भएको हो । तर, यो गत आवको तुलनामा भने ३० हजार हेक्टर क्षेत्रफल कमी हो । गत आवमा कुल १४ लाख ७७ हजार हेक्टर क्षेत्रफल धान उत्पादन भएको थियो ।

समीक्षा अवधिमा खाद्य तथा अन्य बालीको उत्पादन ५.७ प्रतिशतले बढेको छ भने गत वर्ष यस्तो उत्पादन ०.४ प्रतिशतले घटेको थियो । समग्र कृषि बालीको उत्पादनमा धान बालीको उत्पादन हिस्सा सबैभन्दा बढी २६.८ प्रतिशत रहेको छ । यसैगरी मकै र धान बालीको उत्पादनको समग्र कृषि उत्पादनमा क्रमश: १५.६ र १०.२ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्