मन्दीमा निर्यात बढ्दा सिमेन्ट उद्योगलाई राहत, २.२० गुणाले बढ्यो निकासी « Arthapath.com
१५ असार २०८०, शुक्रबार

मन्दीमा निर्यात बढ्दा सिमेन्ट उद्योगलाई राहत, २.२० गुणाले बढ्यो निकासी



काठमाडौं । सिमेन्ट निर्यात उल्लेख्य बढेको छ । चालु आर्थिक बर्ष २०७९/८० को जेठ मसान्तसम्म नेपालबाट हुने सिमेन्टको निर्यात १२१ प्रतिशतले बढेको छ ।

गत आवको सोही अवधीमा नेपालबाट ३० करोड ७० लाख ३८ हजार रुपैयाँ सिमेन्ट निर्यात भएको थियो । तर, चालु जेठ मसान्तसम्म आईपुग्दा भने ६७ करोड ७६ लाख ५३ हजार रुपैयाँको सिमेन्ट निर्यात भएको हो । गत आवभरमा भने नेपालबाट ३२ करोड १४ लाख ९६ हजारको सिमेन्ट निर्यात भएको छ ।

अर्थतन्त्रमा देखिएको मन्दीका कारण स्वदेशी माग घटीरहेको छ । यस्तो बेला सिमेन्ट उद्योगहरुलाई निर्यातले भने राहत दिएको छ । सरकारले भुक्तानी नदिने, मुल्यबृद्धि लगायतका कारण निर्माण क्षेत्रमा आएको मन्दीले गर्दा सिमेन्टको उत्पादन र स्वदेशी खपत घटेको छ । त्यसले सिमेन्ट उद्योगहरुको व्यवसाय नमज्जाले प्रभावित भएको छ । तर, सिमेन्टको बढ्दो निर्यातले भने उद्योगहरुलाई केही राहत दिएको हो ।

सरकारले चालु आवदेखि सिमेन्ट निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने नीति ल्याएको छ । त्यसबाट सिमेन्ट उद्योगहरु निर्यात गर्न प्रोत्साहित भएका छन् । नेपालबाट घोराही, बालाजी, तानसेन, अर्घाखाँची सिमेन्ट भारततर्फ निर्यात हुँदै आएका छन् । नेपालबाट आधीकारिक रुपमा पहिलो पटक तानसेन सिमेन्ट भारत निर्यात भएको थियो । गत बर्ष असार २४ गते उक्त सिमेन्ट भारत निर्यात गरिएको थियो । बिशेषगरि भारतको विहार र उत्तर प्रदेशमा नेपाली सिमेन्टको माग बढ्दै गएको एक व्यवसायीले बताए ।

विहार र उत्तर प्रदेशमा भारतीय सिमेन्ट उद्योगहरु छैनन् । त्यहाँ भारतको अन्य ठाउँबाट सिमेन्ट खरिद गर्दा ढुवानीका कारण लागत महंगो पर्न जान्छ । तर, नेपालबाट आयात गर्दा ढुवानीमा कम खर्च हुन्छ । त्यसले कुल लागत नै कम बढाउछ । त्यसमाथि त्यहाँका ग्राहकहरु नेपाली सिमेन्टको गुणस्तर प्रति सन्तुष्ट पनि छन् । त्यसले गर्दा निर्यात बढेको बताइन्छ । सरकारले वस्तु नै तोकेर निर्यातमा अनुदानको घोषणाले नै निर्यात सहज भएको व्यवसायीहरु बताउँछन् । सिमेन्ट निर्यातले भारतसँगको व्यापार घाटालाई केहि कम गर्नेमा उनीहरुको विश्वास छ ।

सिमेन्ट निर्यात बढ्दै जाँदा आयात भने घट्यो

निर्यात बढ्दै गर्दा सिमेन्टको आयात भने घटेको छ । समिक्षा अवधीमा सिमेन्ट आयात ५६ प्रतिशतले घटेको भन्सार बिभागबाट प्राप्त तथ्यांकले देखाएको छ ।

गत आवको समिक्षा अवधीमा नेपालमा ६५ करोड २६ लाख रुपैयाँको सिमेन्ट आयात भएको थियो गत आवको १२ महिनामा भने ६८ करोड ९३ लाख ५३ हजारको सिमेन्ट आयात भएको थियो । तर, चालु आवको ११ महिनामा भने २८ करोड ८४ लाख ६० हजार रुपैयाँको सिमेन्ट आयात भएको छ ।

पछिल्लो समय नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको छ । विदेशी लगानीमा बन्दै गरेको केही आयोजनाहरुले मात्रै विदेशी सिमेन्ट आयात गर्ने गर्छन् । अहिले स्वदेशी मागलाई स्वदेशी उत्पादनले नै धान्ने अवस्था भएको छ । त्यसले गर्दा आयात घटेको व्यवसायीहरु बताउछन् ।


प्रतिक्रिया दिनुहोस्