४ ऊर्जा परियोजनामा एक खर्ब लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्ड नेपालले चार वटा ऊर्जा परियोजनाका लागि झन्डै १ खर्ब लगानी स्वीकृत गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ को अध्यक्षतामा बिहीबार बसेको बैठकले चार वटा परियोजनाका लागि ९९ अर्ब २० करोड रुपैयाँ लगानी स्वीकृत गर्ने निर्णय गरेको हो ।
लगानी बोर्डका अनुसार सुपर तमोर, अप्पर मोदी ए, तल्लो मनाङ र २५० मेगावटको सौर्य उर्जा आयोजनका लागि सो बराबरको लगानी स्वीकृत गरेको हो ।
बोर्डका अनुसार सुपर तमोर १६६ मेगावाटको आयोजनाका लागि ३४ अर्ब ५९ करोड रुपैयाँ र ४२ मेगावाटको अपर मोदी ए आयोजनाका लागि १० अर्ब ८ करोड रुपैयाँ लगानी स्वीकृत भएको हो ।
यस्तै, २५० मेगावाटको सौर्य उर्जा २१ अर्ब १० करोड रुपैयाँ र १२९.२ मेगावाटको तल्लो मनाङ मस्र्याङदी आयोजनका लागि ३३ अर्ब ४१ करोड रुपैयाँ लगानी स्वीकृत गरिएको बोर्डले जनाएको छ। यी दुई परियोजन विदेशी लगानीमा बन्दैछन् ।
सोही बोर्डको बैठकले ६ अर्ब ६३ करोड रुपैयाँ हुवासीन सिमेन्टको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । सोही बैठकले लगानी सम्मेलन २०२४ लाई प्रभावकारी रुपमा आयोजना सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।