२१ प्रतिशत बढ्यो रेमिट्यान्स, ८ महिनामा ९ खर्ब ६१ अर्ब भित्रियो « Arthapath.com
२२ चैत्र २०८०, बिहीबार

२१ प्रतिशत बढ्यो रेमिट्यान्स, ८ महिनामा ९ खर्ब ६१ अर्ब भित्रियो



काठमाडौं । विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढ्दो क्रममा नै छ । आठ महिनामै साढे ९ खर्ब बढी रेमिट्यान्स नेपाल भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २१ प्रतिशत बढी हो । गत आवको फागुन मसान्तसम्ममा कुल ७ खर्ब ९४ अर्ब ३२ करोड ५३ लाख रुपैयाँ रमिट्यान्स आएको थियो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशत वृद्धि भएको छ । समिक्षा अवधिमा अमेरिकी डलरमा भने ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ८६ हजार ९३२ रहेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८४ हजार २७८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ५१ हजार ७६१ र १ लाख ९२ हजार ५५९ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्