विदेशी मुद्रा सञ्चिती १९ खर्ब नजिक, एक वर्षभन्दा बढीको आयात धान्न सक्ने « Arthapath.com
२२ चैत्र २०८०, बिहीबार

विदेशी मुद्रा सञ्चिती १९ खर्ब नजिक, एक वर्षभन्दा बढीको आयात धान्न सक्ने



काठमाडौं । आठ महिनामा शोधनान्तर स्थिति सवा तीन खर्ब बढी बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड रुपैयाँले बचतमा रहेको देखिएको छ । रेमिटान्स आप्रबाहको बढ्दो गति र आयातमा संकुच आउँदा शोधनान्तर स्थितीमा उच्च सुधार आएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ४२ अर्ब रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ४६ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा चालु खाता १ खर्ब ६६ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५५ अर्ब २८ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४२ करोड ९३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २५ करोडले बचतमा रहेको छ ।

तर, पुँजीगत ट्रान्सफर ३०.२ प्रतिशत कमी देखिएको छ । समिक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ८९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ६३ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ५८ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब १७ करोडले धनात्मक रहेको थियो ।

यता, कुल विदेशी विनिमय सञ्चिति पनि दोहोरो अंकले बढेको छ । समिक्षा अवधिमा विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशत बढेर १८ खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ कायम भएको छ। तर, गत असार मसान्तमा भने १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०.८ प्रतिशतले वृद्धि भई १४ अर्ब १४ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति फागुन मसान्तमा २२.२ प्रतिशत वृद्धि भई १६ खर्ब ४४ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । तर, गत असार मसान्तमा भने यस्तो सञ्चिति १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति पनि १८.२ प्रतिशत वृद्घि भई २ खर्ब २८ अर्ब ७६ करोड कायम भएको छ ।

फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ । चालु आवको आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.८ महिनाको वस्तु आयात र १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४.८ प्रतिशत, १०३.१ प्रतिशत र २८.२ प्रतिशत रहेका छन् । गत असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्