मञ्जुश्री र गोर्खाज फाइनान्स नाफामा तगडा: आधा दर्जन कम्पनी घाटामा, कसले कति कमाए ? « Arthapath.com
२९ चैत्र २०८०, बिहीबार

मञ्जुश्री र गोर्खाज फाइनान्स नाफामा तगडा: आधा दर्जन कम्पनी घाटामा, कसले कति कमाए ?



काठमाडौं । मञ्जुश्री र गोर्खाज फाइनान्स धेरै नाफा कमाउने कम्पनी बनेका छन् । हाल संचालनमा रहेकामध्ये यी दुई कम्पनीहरुले धेरै नाफा कमाएका हुन् ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको आठ महिनामा मञ्जुश्री फाइनान्सले १६ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनी धेरै नाफा कमाउने फाइनान्सको पहिलो सूचीमा छ ।

हाल १५ वटा फाइनान्स कम्पनी संचालनमा छन् । ती मध्ये धेरै नाफा कमाउनेको दोस्रो सूचीमा भने गोर्खाज फाइनान्स छ । समिक्षा अवधिमा कम्पनीले १३ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यता, तेस्रो स्थानमा रहेको आइसीएफसी फाइनान्सले ८ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ ।

समिक्षा अवधिमा गुडविल फाइनान्सले ३ करोड ३ लाख, पोखरा फाइनान्सले २ करोड ७६ लाख, श्रीइन्भेष्टमेन्टले २ करोड ७० लाख, मल्टीपर्पसले २ करोड १ लाख रुपैयाँ नाफा कमाएका छन् ।

यस्तै, चालु आवको आठ महिनामा जानकी फाइनान्सले १ करोड ४८ लाख, नेपाल फाइनान्सले १ करोड ३६ लाख र बेष्ट फाइनान्सले ६९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

घाटामा पाँच वटा फाइनान्स कम्पनी

समिक्षा अवधिमा आधा दर्जन फाइनान्स भने घाटामा देखिएका छन् । प्रोग्रेसिभसहित ५ वटा कम्पनीको नाफा ऋणात्मक देखिएका हुन् ।

सबैभन्दा धेरै घाटा प्रोग्रेसिभ फाइनान्सको देखिएको छ । आठ महिनामा कम्पनीले ११ करोड ३ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।

यस्तै, गुहेश्वरी मर्चेन्टपनि ५ करोड ९१ लाख रुपैयाँ नोक्सानीमा देखिएको छ । यता, समृद्धि फाइनान्स ४ करोड ६२ लाख, रिलायन्स फाइनान्स ४ करोड ३८ लाख र सेन्ट्रल फाइनान्स ४ करोड ७ लाख रुपैयाँ नोक्सानीमा देखिएका छन् ।


प्रतिक्रिया दिनुहोस्