३४३ वटा परियोजनाका लागि ४३ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, रोयल्टी र लाभांश बापत कति बाहिरियो ? « Arthapath.com
२ बैशाख २०८१, आईतवार

३४३ वटा परियोजनाका लागि ४३ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, रोयल्टी र लाभांश बापत कति बाहिरियो ?



काठमाडौँ । नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता बढी रहेको छ । चाल आर्थिक वर्षको साउनदेखि चैतसम्म आइपुग्दा साढे ४ प्रतिशत बढेको देखिन्छ। 

उद्योग विभागका अनुसार ९ महिनामा ४३ अर्ब ७ करोड ४० लाख ८५ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको हो । सेयर पर्चेज एग्रिमेन्ट(एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट(टीटीए) क्षेत्रसहित नयाँ उद्योगमा गरी सो बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । 

सो अवधिमा ३४३ वटा उद्योगका लागि लगानी प्रतिबद्धता आएको हो । जुन गत आवको सोही अवधिको तुलनामा ४.५१ प्रतिशत बढी हो । गत आवको चैत मसान्तसम्ममा ४१ अर्ब २१ करोड ४३ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो । 

चालु आवको चैतसम्ममा भने २६९ वटा उद्योगका लागि ३० अर्ब ९ करोड ९५ लाख १७ हजार रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । विभागका अनुसार चैतमा मात्रै नयाँ तथा पुराना गरी कुल २२ वटा उद्योगका लागि ८ अर्ब ५६ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ । 

चालु आवको ९ महिनामा एसपीए, एसएसए र टीटीएका क्षेत्रका ४१ वटा उद्योगका लागि १२ अर्ब ९७ करोड ४५ लाख ६८ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । ९ महिनामा ३ वटा ठुला, १३ वटा मध्यम र २५३ वटा साना उद्योगका लागि लगानी प्रतिबद्धता आएको हो ।  चैतमा मात्रै मध्यम खालको १ र १३ वटा साना उद्योगका लागि लगानी प्रतिबद्धता आएको हो ।  

हालसम्ममा भने ६ हजार १२८ वटा उद्योगका लागि कुल ४ खर्ब ८० अर्ब ६ करोड ८४ लाख ३८ हजार रुपैयाँ  बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।त्यस मार्फत भने कुल ३ लाख ३२२ हजार ९३१ जनाले रोजगारी पाउने विभागले जनाएको छ । चालु आवको ९ महिनामा आएको लगानी प्रतिबद्धता मार्फत भने १३ हजार ८३४ जनाले रोजगारी पाउने छन् । 

औसतमा मासिक ४ अर्ब ७८ करोडको प्रतिबद्धता, कुन महिनामा कति ?

औसतमा साढे ४ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता आउने गरेको देखिन्छ । चैतमा मात्रै नयाँ तथा पुरानो उद्योगका लागि कुल ८ अर्ब ५६ करोड ४ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । 

गत माघमा १ अर्ब १९ करोड २० लाख रुपैयाँ र पुसमा १ अर्ब ९८ करोड ९५ लाख ८९ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएका थिए ।

विभागका अनुसार चालु आवको पहिलो महिना अर्थात् गत साउनमा नयाँ तथा पुरानो गरी ६६ वटा उद्योगका लागि ११ अर्ब ९६ करोड ७८ लाख ३० हजार रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । 

यस्तै, गत भदौ महिनामा पनि ५३ वटा नयाँ तथा पुरानो उद्योगका लागि ५ अर्ब ८५ करोड ८५ लाख १४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भएको थियो । 

त्यसैगरि गत असोजमा २ अर्ब ४४ करोड ८८ लाख ७३ हजार रुपैयाँ बराबरको ४७ वटा नयाँ तथा पुराना उद्योगका लागि लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । गत कात्तिकमा मात्रै १ अर्ब ८० करोड ६३ लाख ४४ हजार रुपैयाँ, मङ्सिरमा २ अर्ब ५६ करोड १९ लाख ७५ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

रोयल्टी र लाभांश बापत कति बाहिरिने ?

नेपालमा लगानी गरेका विदेशी कम्पनी तथा लगानीकर्ताहरूले अरबौँ रकम रोयल्टी र लाभांश मार्फत लैजाने गरेका छन्। 

९ महिनाका अवधिमा पनि विदेशी कम्पनीहरूले ९ अर्ब ४ करोड ८७ लाख ५२ हजार रुपैयाँ लाभांश लगेका छन् । तर, यो गत आवको सोही अवधिको तुलनामा भने ३४.३० प्रतिशत कमी हो । गत आवको चैत मसान्तसम्ममा विदेशी कम्पनी तथा लगानीकर्ताहरूले १३ अर्ब ७७ करोड ४४ लाख १० हजार रुपैयाँ लाभांश लगेका थिए ।

यस्तै, ९ महिनामा १ अर्ब ७० करोड १९ लाख ३६ हजार रुपैयाँ रोयल्टी लगेका छन् । यो अमेरिकी डलरमा भने १ करोड ५ लाख ४३ हजार, ५५ करोड ४६ लाख १६ हजार भारतीय रुपियाँ र १३ हजार ६०० युरो रोयल्टी बाहिरिएको छ ।  


प्रतिक्रिया दिनुहोस्