कस्तो चल्दैछ घरजग्गा व्यापार ? « Arthapath.com
३ बैशाख २०८१, सोमबार

कस्तो चल्दैछ घरजग्गा व्यापार ?



काठमाडौं । एकै महिना देशभर ५० हजार बढी घरजग्गा किनबेच भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले उपलब्ध गराएको गत चैत महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । 

चैत महिनामा देशभर  ५० हजार २५२ वटा घरजग्गा खरिदबिक्री भएका छन् । जुन अघिल्लो चैतको तुलनामा भने सामान्य (२.२४ प्रतिशत) मात्रै बढी हो । गत वर्षको चैत महिनामा पनि देशभर ४९ हजार १५० वटा घरजग्गा किनबेच भएको थियो ।

अझै पनि घरजग्गा कारोबार अपेक्षित सुधार भने आउन सकेको छैन । गत फागुनको तुलनामा पनि खास कारोबार बढ्न नसकेको देखिन्छ । गत फागुन महिनामा पनि देशभर ५० हजार ९९८ घरजग्गा किनबेच भएको थियो । विभागका अनुसार गत माघमा पनि देशभरका मालपोत कार्यालयहरू मार्फत ५० हजार ९२१ वटा घरजग्गा खरिदबिक्री भएका थिए ।

घरजग्गा कारोबार खास सुधार आउन नसकेता पनि त्यस मार्फत सङ्कलन हुने राजश्व भने वृद्धि भएको छ । विभागका अनुसार एकै महिनामा थप ३५ करोड ५४ लाख रुपैयाँ राजश्व बढी उठेको छ । 

गत फागुनमा देशभर भएको घरजग्गा किनबेचबाट ३ अर्ब ५९ करोड २६ लाख ९१ हजार रुपैयाँ राजश्व सङ्कलन भएको थियो । तर, फागुनको तुलनामा घरजग्गा खरिदबिक्रीमा केही कमी आएको छ । यद्यपि, राजश्व भने बढेको छ । चैतमा कुल ३ अर्ब ९४ करोड ८१ लाख ३६ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । 

विद्यमान अवस्थामा घरजग्गा कारोबारले अपेक्षित गति लिन नसकेता पनि आगामी दिनमा भने सुधार आउने व्यवसायीहरू बताउँछन् । नियामक निकायहरूले लिएको नीतिगत लचकताले पनि कारोबार बढाउन योगदान हुने उनीहरूको भनाई छ । 

पछिल्लो समय अर्थतन्त्रका सूचकहरू पनि बिस्तारै सकारात्मक बन्दै गएका छन् । आर्थिक गतिविधिहरू पनि बढ्न थालेको छ, जसले घरजग्गा किनबेच गर्न टेवा पुग्ने व्यवसायीहरूको आकलन छ । यता, सरकारले पनि करिब २ वर्षदेखि शिथिल रहेको घरजग्गा कारोबार बढाउनका लागि केही नीतिगत लचकता पनि अपनाएको छ । सरकारले कित्ताकाट लगायतको नीति खुकुलो पारेको छ । यसले बिस्तारै कारोबार बढ्न थालेको घर जग्गा व्यवसायीहरू बताउँछन् । 

पछिल्लो समय आर्थिक गतिविधि बढ्नु, बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिनु र घट्दो ब्याजदर ट्रेन्डले आगामी दिनमा कारोबारमा सुधार आउने व्यवसायीहरू बताउँछन् । बजार लगानीका लागि तयार हुन अझै बाँकी रहेकाले पनि आगामी दिनमा घर जग्गा कारोबार थप बढ्ने व्यवसायीहरूको अपेक्षा छ । 

कहाँ–कहाँ हुन्छ घरजग्गा बढी खरिदबिक्री ?

नेपालको पूर्वमा बढी घरजग्गा किनबेच हुने गरेको तथ्याङ्कले देखाउँछ । चैतसम्म देशभरका कुल १३० वटा भूमिसुधार तथा मालपोत कार्यालय मार्फत घरजग्गा किनबेच भएका छन् । यीमध्ये सबैभन्दा धेरै इनरुवा सुनसरी कार्यालय मार्फत भएको छ । चैतमा सो कार्यालय मार्फत २ हजार ८२ वटा घरजग्गा खरिदबिक्री भएको विभागले जनाएको छ । 

यस्तै, चैत महिनामा भद्रपुर झापा मालपोत कार्यालय मार्फत १ हजार ८३५,  बेलवारी मोरङ १ हजार ७९९, राजविराज १ हजार ३०२, सिराहा १ हजार ९८,  लहान १ हजार २७ वटा घरजग्गा किनबेच भएको छ । 

यता, जनकपुरधाम धनुषा कार्यालय मार्फत १ हजार ८२३ वटा, जलेश्वर महोत्तरीबाट १ हजार ५४, मलंगवा सर्लाही १ हजार १८२ वटा, लगनखेल ललितपुरबाट १ हजार १ वटा, भक्तपुर ९६९ वटा घरजग्गा खरिदबिक्री भएका छन् । 

यता, चितवन ८९६ वटा, बर्दघाट सुस्ता पश्चिम ८७९, मझगवा रुपन्देहीबाट ८७७, बुटवल रुपन्देहीबाट ८५३, तौलिहवा कपिलवस्तु ९६३ वटा, घोराही दाङबाट ८१३ वटा, नेपालगन्ज ९३६ वटा, कोहलपुरबाट ८६०, धनगढी कैलालीबाट ८८६ वटा, काभ्रेपचालञ्चोकबाट ९४३ वटा, पर्साबाट ९७६ घर जग्गा किनबेच भएको छ।

काठमाडौं उपत्यकाबाट हुन्छ धेरै राजश्व सङ्कलन

राजश्वमा भने काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरू अगाडि छन् । घरजग्गा कारोबार कमी भए पनि उपत्यकामा राजश्व बढी उठ्ने गरेको हो । उपत्यकामा महँगा घर घडेरी किनबेच हुने भएकाले राजश्व पनि बढी सङ्कलन हुने गर्छ । 

सबैभन्दा धेरै राजश्व भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरबाट सङ्कलन भएको छ । सो कार्यालय मार्फत एकै महिनामा ३९ करोड ६२ लाख १७ हजार रुपैयाँ  राजश्व उठेको छ । 

यस्तै, भक्तपुरबाट २७ करोड ६७ लाख ६६ हजार, कलङ्की काठमाडौँबाट २५ करोड ७६ लाख ७३ हजार रुपैयाँ, डिल्लीबजारबाट २४ करोड ५९ लाख ४६ हजार रुपैयाँ राजश्व उठेको छ ।

यता, काठमाडौँको चाबहिल २३ करोड २१ लाख ८१ हजार रुपैयाँ, मालपोत कार्यालय चितवनबाट १३ करोड ६० लाख ७५ हजार, इनरुवा सुनसरीबाट १२ करोड ८१ लाख ८७ हजार, कास्कीबाट ११ करोड ६१ लाख ८४ हजार र भद्रपुर झापाबाट १० करोड ३७ लाख ९४ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । 


प्रतिक्रिया दिनुहोस्