काठमाडौं उपत्यकामा घरजग्गा व्यापारः कुन-कुन क्षेत्रमा धेरै बिक्छन् घर घडेरी ? « Arthapath.com
५ बैशाख २०८१, बुधबार

काठमाडौं उपत्यकामा घरजग्गा व्यापारः कुन-कुन क्षेत्रमा धेरै बिक्छन् घर घडेरी ?



काठमाडौं । काठमाडौं उपत्यकाको भक्तपुर र ललितपुरको लगनखेल मालफोत कार्यालय मार्फत धेरै घरजग्गा किनेबच हुने गरेको छ ।

जिल्लागत रुपमा काठमाडौं अगाडि देखिएता पनि मालपोत कार्यालयको आधारमा भने भक्तपुर र ललितपुरको लगनखेल पहिलो सूचीमा छन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ९ महिनामा उपत्यकाको तीन जिल्लामा ३२ हजार ५८५ वटा घरजग्गा किनबेच भएको छ । यीमध्ये काठमाडौं जिल्लोको हिस्सा आधा छ । अर्थात् समिक्षा अवधिमा काठमाडौं जिल्लाका विभिन्न ६ वटा मालपोत कार्यालय मार्फत १७ हजार २२७ वटा घरजग्गा किनबेच भएको छ।

हाल उपत्यकामा ९ वटा मालपोत कार्यालय मार्फत घरजग्गा किनबेच हुँदै आएको छ । विभागका अनुसार ललिपुरमा भने ९ महिनामा ७ हजार ७२५ वटा र भक्तपुरबाट ७ हजार ६६३ वटा घरजग्गा खरिदबिक्री भएका छन् ।

तर, मालपोत कार्यालयका आधारमा भने भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर पहिलो सूचीमा छ । सो कार्यालय मार्फत चैतसम्ममा ७ हजार ६३३ वटा घरजग्गा किनबेच भएका छन् । दोस्रो सूचीमा रहेको लगनखेल ललितपुरबाट पनि ७ हजार ५५६ वटा घरजग्गा खरिदबिक्री भएको छ ।

यस्तै, मालपोत कार्यालय कलंकी मार्फत ५ हजार ५७१ वटा, काठमाडौंको चावहिल मार्फत ३ हजार ६४६, साँखु मार्फत ३ हजार ४६५ वटा, डिल्लीबजार कार्यालय मार्फत १ हजार ६३९, मनमैजु मार्फत १ हजार ६३३ र टोखा कार्यालय मार्फत १ हजार २७३ वटा घरजग्गा खरिदबिक्री भएका छन् । समिक्षा अवधिमा सबैभन्दा कम ललितपुरको गोटीखेल कार्यालय मार्फत १६९ वटा घरजग्गा किनबेच भएको हो ।

मासिक ३६ सय घरजग्गा किनबेचको आँकडा

काठमाडौं उपत्यकामा मासिक औसत ३ हजार ६०० हाराहारीमा घरजग्गा किनबेच हुने गरेको आँकडा छ । विभागका अनुसार गत चैत महिनामा मात्रै औसत भन्दा बढी अर्थात् ४ हजार २६९ वटा घरजग्गा कारोबार भएको छ ।

अघिल्लो महिना अर्थात् फागुनमा पनि उपत्यकाको ९ कार्यालय मार्फत ४ हजार २०३ वटा र गत माघ महिनामा पनि ४ हजार १६५ वटा घरजग्गा किनबेच भएको थियो ।

विभागका अनुसार गत असोज महिनामा पनि औसत भन्दा बढी ४ हजार २८४ वटा घरजग्गा किनबेच भएको थियो । यस्तै, चालु आवको पहिलो महिना अर्थात् ३ हजार ४१२, भदौमा ३ हजार ६४६, कात्तिक २ हजार २०, मंसिर ३ हजार १७६ र पुसमा ३ हजार ४१० वटा घरजग्गा किनबेच भएका छन् ।

९ महिनामा १२ अर्ब राजश्व, कहाँबाट कति उठ्यो ?

चालु आर्थिक वर्षको ९ महिनामा उपत्यका भएको घरजग्गा खरिदबिक्रीबाट झन्डै १२ अर्ब रुपैयाँ राजश्व संकलन भएको छ ।साउनदेखि चैत मसान्तसम्म आइपुग्दा ११ अर्ब ९७ करोड २५ लाख ४५ हजार रुपैयाँ राजश्व संकलन भएको हो ।

चैत महिनामा मात्रै काठमाडौं, ललितपुर र भक्तपुरका मालपोत कार्यालय मार्फत १ अर्ब ६४ करोड ११ लाख ९५ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

समिक्षा अवधिमा सबैभन्दा धेरै राजश्व लगनखेल ललितपुरबाट संकलन भएको छ । चैत महिनासम्ममा सो कार्यालय मार्फत २ अर्ब ७१ करोड २६ लाख ९१ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

यस्तै, भक्तपुर कार्यालय मार्फत २ अर्ब १८ लाख रुपैयाँ, काठमाडौंको डिल्लीबजार कार्यालय मार्फत १ अर्ब ९३ करोड २५ लाख ९६ हजार, कलंकी मार्फत १ अर्ब ७८ करोड २० लाख, चावहिलबाट १ अर्ब ७५ करोड ७४ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

यता, काठमाडौंको साँखु कार्यालय मार्फत ९महिनामा ६३ करोड ८० लाख, टोखा मार्फत ५९करोड २९ लाख, मनमैजु मार्फत ५५ करोड ११ लाख रुपैयाँ र गोटीखेल ललितपुरबाट ३९ लाख २८ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

विभागका अनुसार उपत्यकामा मासिक औसत १ अर्ब ३३ करोड रुपैयाँ राजश्व संकलन हुने गरेको छ । विभागका अनुसार फागुनमा मात्रै १ अर्ब ४४ करोड ५४ लाख, माघमा १ अर्ब ३० करोड ६६ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।

यस्तै, पुसमा १ अर्ब १९ करोड ५४ लाख रुपैयाँ राजश्व सङ्कलन भएको थियो । गत मङ्सिरमा १ अर्ब ११ करोड ८३ लाख, कात्तिकमा ९० करोड २२ लाख, असोजमा १ अर्ब ८३ करोड ३३ लाख, भदौमा १ अर्ब ३८ करोड ६४ लाख र साउनमा १ अर्ब १४ करोड ३५ लाख रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्