सेयर कर्जामा बैंकहरुको लगानी बढ्दै: नबिल र एनआइसी एशिया एग्रेसिभ, यी हुन् पुरानै असुलीमा लागेका बैंकहरु « Arthapath.com
५ बैशाख २०८१, बुधबार

सेयर कर्जामा बैंकहरुको लगानी बढ्दै: नबिल र एनआइसी एशिया एग्रेसिभ, यी हुन् पुरानै असुलीमा लागेका बैंकहरु



काठमाडौं । वाणिज्य बैंकहरु सेयर कर्जा लगानी विस्तारमा आक्रामक देखिएका छन् । आठ महिनामा बैंकहरुको सेयर कर्जा लगानी १४.४ प्रतिशत बढाएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म बैंकहरुले ८ अर्ब ४४ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्ममा कुल ५८ अर्ब ६७ करोड ९० लाख रुपैयाँ सेयर कर्जा लगानी गरेका थिए । तर, फागुन मसान्तसम्म आइपुग्दा भने बढेर ६७ अर्ब १२ करोड ७० लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा अधिकांश बैंकहरुले सेयर कर्जा लगानी बढाएका छन् । हाल संचालनमा रहेकामध्ये विदेशी स्वामित्वमा रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि सेयर कर्जा दिएको छैन । १९ वटा बैंकमध्ये ६ बैंकको सेयर कर्जा लगानी घटेको छ । तर, यी बाहेकका अन्य सबै बैंकहरुको लगानी बढ्दो नै छ ।

नियामक निकायको लचिलो नीतिका कारण पछिल्लो समय यस्तो कर्जा बढ्न थालेको हो । पछिल्लो समय बैङ्कहरूको ब्याजदर घट्न थालेपछि सेयर धितो कर्जा प्रवाह पनि वृद्धि भएको छ । बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम बढेको छ, ब्याजदर घट्दो छ । ब्याजदरको घट्दो ट्रेन्ड र अर्थतन्त्रमा आएको सकारात्मक सुधारले पनि यस्तो कर्जा बढेको राष्ट्र बैङ्कका अधिकारीहरू बताउँछन् । हाल कतिपय बैंकहरुको कर्जाको ब्याजदर समेत एकल अंकमा आइपुगेको छ। बैंकहरुले १० प्रतिशत कम ब्याजदरमै कर्जा दिने विभिन्न स्किमहरु पनि ल्याएका छन् । जसले लगानीकर्तालाई बैंकबाट ऋण लिएर सेयर किन्न पनि टेवा पुगिरहेको देखिन्छ ।

राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति मार्फत ४/१२ करोड रुपैयाँको सीमा लगाएको थियो । ४ करोडको सीमा हटाएर एउटै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म ऋण लिन सक्ने व्यवस्था गरेको थियो । तर, त्यो हाल बढेर एक व्यक्तिले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोड ऋण लिन पाउने व्यवस्था गरेको छ । यता, केन्द्रि बैंकले सेयर धितो कर्जाको जोखिम भार पनि घटाएको छ । मौद्रिक नीति मार्फत २५ लाखसम्मको सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशतबाट बढाएर ५० लाख रुपैयाँ कायम गरेको छ । यस्तै, राष्ट्र बैंकले ५० लाख बढीको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको छ । यसले पनि सेयर कर्जा लगानी बढाउन सघाइरहेको छ ।

सेयर कर्जा विस्तारमा नबिल र एनआइसी एशिया बैंक एग्रेसिभ

सेयर कर्जा विस्तारमा नबिल र एनआइसी एशिया बैंक अगाडि देखिएका छन् । सेयर कर्जा लगानीमा एनआइसी एशिया पहिलो सूचीमा छ । बैंकले आठ महिनामा ३ अर्ब ३९ करोड रुपैयाँ सेयर कर्जा लगानी गरेको छ । गत असारसम्ममा एनआइसीले १ अर्ब २ करोड ७८ लाख रुपैयाँ सेयर कर्जा लगानी गरेको थियो । तर, फागुन मसान्तसम्म आइपुग्दा भने बैंकको यस्तो लगानी ४ अर्ब ४१ करोड ७८ लाख रुपैयाँ कायम भएको छ ।

यता, नबिल बैंकका पनि सेयर धितो कर्जा लगानी बढाउन एग्रेसिभ नै देखिएको छ । गत असारमसान्तसम्ममा नबिलले ९ अर्ब ३० करोड ९९ लाख रुपैयाँ सेयर कर्जा लगानी गरेको थियो । तर, फागुनसम्म आइपुग्दा भने बैंकले थप २ अर्ब ४० करोड ९९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । हाल बैंकको सेयर धितो कर्जा लगानी कुल ११ अर्ब ७१ करोड ९८ लाख रुपैयाँ पुगेको छ । जुन अन्य बैंकहरुको तुलनामा सबैभन्दा धेरै हो ।

समिक्षा अवधिमा सिद्धार्थ बैंकको सेयर कर्जा लगानी पनि २७.४ प्रतिशत बढेको छ। बैंकले आठ महिनामा १ अर्ब ११ करोड ६२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यी बाहेकका बैंकहरुको सेयर कर्जा लगानी १ अर्ब भन्दा कम नै छ । समिक्षा अवधिमा नेपाल बैंकले ९९ करोड ६७ लाख, प्राइम कमर्सियल बैंकले ९२ करोड ८० लाख, एभरेष्ट बैंकले ८७ करोड ७० लाख, सिटिजन ८१ करोड १२ लाख रुपैयाँ सेयर कर्जा लगानी गरेका छन् । यता, सेयर धितोमा ग्लोबल आइएमई बैंकले ४७ करोड ११ लाख, सानिमाले २८ करोड ७४ लाख, कुमारी, १७ करोड ५० लाख, कृषि विकास बैंकले १० करोड ७९ लाख, नेपाल एसबिआईले ९ करोड ७५ लाख र राष्ट्रिय वाणिज्य बैंकले ५६ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् ।

पुरानो कर्जा असुलीमा केन्द्रित आधा दर्जन बैंक, घटाए सेयर कर्जा लगानी

अधिकांश बैंकहरुले सेयर कर्जा लगानी बढाए पनि आधा दर्जनले भने घटाएका छन् । पुरानो कर्जा असुलीमा केन्द्रित हुँदा ६ वटा बैंकले नयाँ लगानी घटाएका हुन् ।

समिक्षा अवधिमा एनएमबि, माछापुच्छ्रे, हिमालयन, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंकको सेयर कर्जा लगानी भने घटेको देखिएको छ । यी बैंकहरुले हाल पुरानो कर्जा लगानी असुल गरेका छन् । समिक्षा अवधिमा सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले असुल गरेको छ ।

बैंकले आठ महिनामा ९० करोड १३ लाख रुपैयाँ कर्जा असुल गरेको छ। गत असार मसान्तसम्ममा एनआइएमबिले कुल ३ अर्ब ४ करोड ८६ लाख रुपैयाँ सेयर कर्जा लगानी गरेको थियो । तर, फागुनसम्म आइपुग्दा भने २ अर्ब १४ करोड ७३ लाख रुपैयाँ कायम भएको छ।

यस्तै, प्रभु बैंकले पनि ७० करोड १० लाख, हिमालयन बैंकले ५९ करोड ६४ लाख, लक्ष्मी सनराइजले ४९ करोड १५ लाख, एनएमबिले ४५ करोड ९३ लाख र माछापुच्छ्रेले ७ करोड ६३ लाख रुपैयाँ पुरानो कर्जा असुल गरेका छन् ।

यस्तो छ बैंकहरुको सेयर कर्जामा लगानीको अवस्था:

स्रोतः नेपाल राष्ट्र बैंक, (रकम दश लाखमा)


प्रतिक्रिया दिनुहोस्