चालू आयोजना बजेटको प्राथमिकतामा « Arthapath.com
१८ बैशाख २०७७, बिहीबार

चालू आयोजना बजेटको प्राथमिकतामा



काठमाडौँ। आगामी आर्थिक वर्ष २०७७/७८ मा अधिकांश चालू विकास आयोजनाले निरन्तरता पाउने भएका छन् । कतिपय नयाँ आयोजना राखिए पनि सो सङ्ख्या ठूलो हुने छैन ।

कोरोना भाइरस (कोभिड–१९) प्रकोपका कारण चालू आर्थिक वर्षमा विकास गतिविधिमा प्रतिकूल प्रभाव परेकाले आगामी आर्थिक वर्षमा चालू राष्ट्रिय गौरवका आयोजनालाई निरन्तरता दिन लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कोरोना महामारीका कारण सिङ्गै अर्थतन्त्र तथा राजस्व सङ्कलनमा असर पुगेको बताउनुभयो ।

अब आउने बजेटको आकार खुम्चिने भन्दै उहाँले आगामी आर्थिक वर्षमा नयाँ विकास आयोजना थप गर्नुको सट्टा पुरानो आयोजनालाई निरन्तरता दिइने बताउनुभयो । “विगत वर्षदेखि थालनी गरिएका आयोजनाहरूलाई आगामी आर्थिक वर्षमा निरन्तरता दिने सोचका साथ कार्यक्रम तथा बजेट निर्माणको काम भइरहेको छ,” मन्त्री नेम्वाङले भन्नुभयो, “आगामी आर्थिक वर्षमा उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्न सक्ने आयोजनालाई बढी प्राथमिकता दिन्छौँ । ”

नागढुङ्गा सुरुङमार्ग, काठमाडौँ–तराई द्रुतमार्ग, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग र उत्तर–दक्षिण करिडोर सडक आयोजना लगायतका राष्ट्रिय गौरवका आयोजना, रेलसँग सम्बन्धित आयोजना, सडक र पुलसँग सम्बन्धित पुराना आयोजनाले निरन्तरता पाउने उहाँले स्पष्ट पार्नुभयो । त्यसैगरी रुग्ण आयोजनालाई समेत नियमितता प्रदान गरिने उहाँले बताउनुभयो ।
पुराना विकास आयोजनालाई प्राथमिकतामा राख्ने भए पनि केही नयाँ विकास आयोजनाहरूसमेत पर्ने जानकारी मन्त्रालयले दिएको छ । आगामी आर्थिक वर्षमा चक्रपथ दोस्रो खण्ड अन्तर्गत महाराजगञ्जदेखि धोबीखोला पुलसम्म विस्तार गरिने छ । काठमाडौँ उपत्यकाका मुख्य चोकमा फ्लाइओभर तथा अन्डरपास निर्माण गर्न, पूर्व–पश्चिम राजमार्ग विस्तार, मुग्लिन–नारायणगढ सडक विस्तार, मुग्लिन–पोखरा सडक विस्तार, टोखा–छहरे सुरुङमार्ग, पाल्पाको सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि बजेट विनियोजन गरिने मन्त्रालयले बताएको छ ।(गोरखापत्रबाट)


प्रतिक्रिया दिनुहोस्