नागढुंगा-नौबिसे सुरुङमार्ग ‘ब्रेक थ्रु’, पूर्ण रूपमा सञ्चालनमा आउन भने १ वर्ष लाग्ने  « Arthapath.com
३ बैशाख २०८१, सोमबार

नागढुंगा-नौबिसे सुरुङमार्ग ‘ब्रेक थ्रु’, पूर्ण रूपमा सञ्चालनमा आउन भने १ वर्ष लाग्ने 



काठमाडौं । नेपालको पहिलो आधुनिक सुरुङ्ग मार्गको ब्रेक थ्रु भएको छ । राष्ट्रिय गौरवको आयोजना नागढुंगा–नौबिसे सुरुङ मार्गको सोमबार ब्रेक थ्रु गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डको उपस्थितिमा २ हजार ६७७ मिटर लामो मुख्य सुरुङमार्गको ब्रेक थ्रु गरिएको हो । उक्त आयोजनको ५३ महिनामापछि ब्रेक थ्रु गरिएको छ । तर, आयोजनाको ४२ महिनामा निर्माण सम्पन्न गर्नेगरि काम सुरु गरिएको थियो ।

गत साउनमा पनि आयोजनाको २ हजार ५५७ मिटर लामो आपतकालीन सुरुङ्को ब्रेक थ्रु गरिएको थियो । उक्त सुरुङ संचालनमा आएपछि काठमाडौंको थानकोटबाट धादिङको सिस्नेखोलामा ३ मिनेटमै पुगिनेछ । तर, सुरुङमार्गको ब्रेक थ्रु भए पनि पूर्ण रुपमा संचालनमा आउन भने करिब १ वर्ष लाग्ने नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार पिनसिङ, लाइटिङ, अक्सिजन जडान, सडक ढलान लगायतको काम बाँकी छ । उक्त काम झन्डै १ वर्षमा सम्पन्न हुनेछ । संचालनको मोडालिटी टुंगो लाग्न पनि बाँकी रहेको आयोजनाले जनाएको छ । अब फ्लाइओभर मात्रै निर्माण गर्न बाँकी भने हालसम्म फ्लाइओभरको ५ वटा फाउन्डेसन र सबस्ट्रक्चर निर्माण गर्नुपर्नेमा हालसम्म ३ वटा सम्पन्न भइसकेको छ । यस्तै, फ्लाइओभर निर्माणका लागि आवश्यक जग्गामध्ये ९५ प्रतिशत अधिग्रहण गरिसकिएको छ ।

हाल यो सडकमार्ग हुँदै जाँदा साढे ८ किलोमिटर दुरी पार गर्नुपर्छ । तर, सुरुङमार्ग मार्फत जाँदा भने झन्डै ६ किलोमिटर दुरी छोटिने छ । उक्त २०७६ कात्तिक ४ गते तत्तकालिन प्रधानमन्त्री केपी शर्मा ओलिले शिलान्यास गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्