नेपाल फर्कियो काठमाडौं–केरुङ रेलमार्ग अध्ययन प्राविधिक टोली « Arthapath.com
२७ फाल्गुन २०७९, शनिबार

नेपाल फर्कियो काठमाडौं–केरुङ रेलमार्ग अध्ययन प्राविधिक टोली



काठमाडौँ । नेपालमा सरकार फेरिएसँगै केही समयअघि नेपाल आएर प्रारम्भिक अध्ययन गरी फर्किएको काठमाडौं–केरुङ रेलमार्ग अध्ययन गर्ने चिनियाँ प्राविधिक टोली नेपाल फर्किएको छ । चीनको नयाँ वर्ष मनाएर ९ जनाको प्राविधिक टोली अध्ययनका लागि नेपाल आएको हो ।

गत पुस १२ गते सम्भाव्यता अध्ययनका लागि काठमाडौं आएको टोली पहिलो चरणमा अध्ययन गर्ने स्थानको सामान्य निरीक्षण गरी चीन गएको थियो । करिब दुई महिनापछि फर्किएको ९ जनाको प्राविधिक टोली एक साताभित्र अध्ययनका लागि फिल्डमा जाने तयारीमा रहेको रेल विभागका महानिर्देशक रोहित बिसुरालले बताए । ‘प्राविधिक टोलीले अध्ययनको काम अघि बढाउने छ,’ उनले भने, ‘हेलिकप्टर, हवाई जहाज, ड्रोनका माध्यमबाट समेत अध्ययन गरिने छ ।’ अध्ययनमा आवश्यकता अनुसार प्राविधिक विज्ञ थपिँदै जाने उनको भनाइ छ । यसअघि पुस तेस्रो साता चिनियाँ प्राविधिक टोली ‘फिल्ड सर्भे’ का लागि रसुवागढी पुगेको थियो ।

टोलीले स्याफ्रुबेसी, धुन्चे र रसुवागढीलगायतका ठाउँको सर्भे गरेर फर्किएको थियो । सुरुमा ‘चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपको ६ जना प्राविधिक टोली सर्भेका लागि आएको थियो । अहिले पनि त्यही कम्पनीको प्राविधिक टोली अध्ययनका लागि आएको हो । प्रारम्भिक अध्ययन अनुसार यसको सम्भाव्यता अध्ययन सक्न ४२ महिना लाग्ने छ ।

सम्भाव्यता अध्ययनबाट रेलमार्गको वास्तविक दूरी, लागत, सुरुङ, पुलको उचाइ, स्टेसन लगायत विषय टुंगिने छ । २०७८ चैतमा काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्नेगरी दुई देशबीच औपचारिक सहमति भएको थियो । २०७६ असोजमा चीनका राष्ट्रपति सी चीनफिङले गरेको नेपाल भ्रमणका क्रममा सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति जुटेको थियो ।

प्रारम्भिक अध्ययनअनुसार रसुवागढीदेखि काठमाडौंसम्म ७२ किलोमिटर दूरी रहने रेलमार्गमा ९८ प्रतिशत पहाड पर्ने छ । जसलाई छेडेर रेलमार्ग बनाइनेछ । यसको अध्ययन चीनले आफ्नै खर्चमा गर्ने छ । उक्त रेलमार्ग निर्माण गर्न २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्