पाथिभरा केबलकार निर्माणमा सहजीकरण गर्न निजी क्षेत्रको अपिल « Arthapath.com
१ चैत्र २०८०, बिहीबार

पाथिभरा केबलकार निर्माणमा सहजीकरण गर्न निजी क्षेत्रको अपिल



काठमाडौं । पाथिभरा केबलकार आयोजना निर्माण सहज रुपमा अघि बढाउने वातावरण बनाउन निजी क्षेत्रले माग गरेका छ ।

पाथीभरा (मुकुमलुङ) मा निर्माण हुन लागेको केबल आयोजना सहज रुपमा अघि बढाउन निजी क्षेत्रका प्रतिनिधिहरुले माग गरेका हुन् ।

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घ, निर्माण व्यवसायी सङ्घले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका छन् । उनीहरुले पाथीभरामा केबलकार निर्माणका लागि सम्बद्ध सरोकारवाला निकाय एवं स्थानीय तथा प्रदेश सरकारसमक्ष सहजीकरण गर्न भनेका छन् ।

ताप्लेजुङमा केबलकार सञ्चालनमा आएपछि जिल्लाको अर्थतन्त्र चलायमान हुने उनीहरुको भनाई छ । राज्यको तर्फबाट लगानीमैत्री वातावरण सृजना गनुपर्ने उनीहरुको धारणा छ । पाथीभरामा केबलकार निर्माणको वातावरण बनाई समृद्ध ताप्लेजुङको सम्भावनामा एउटा इँटा थप्न जिल्लाका प्रतिनिधिमूलक संस्थाहरूका तर्फबाट अपिल गरेको छ ।

केबुलकारमार्फत जिल्लामा लगानी भित्रने उल्लेख गर्दै निजी क्षेत्रले अर्बौं रुपैयाँको लगानीमा निर्माण हुन लागेको पाथीभरा मुकुमलुङ केबलकारमार्फत जिल्लाको आर्थिक विकासमा ठूलो योगदान हुनेमा विश्वास व्यक्त गरेका छन् ।

विज्ञप्ति भनिएको छ, ‘ताप्लेजुङमा स्थापित पाथीभरा मुकुम्लुङ सबैको साझा आस्थाको धरोहर हो । सबै धर्म र जातजातिको आस्थाको केन्द्रका रुपमा रहेको यस शक्तिपीठमा नेपालको मात्र नभएर छिमेकी मुलुक भारत तथा विभिन्न मुलुकहरूबाट समेत दर्शन तथा पूजाका लागि आउने गरेको तथ्य हामी सबैमा सर्वविधितै छ।’

विगत केही वर्षदेखि पाथीभरा मुकुम्लुङको धार्मिक पर्यटनमार्फत ताप्लेजुङको अर्थतन्त्र चलायमान भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

केबलकार निर्माणले ताप्लेजुङ मात्र नभएर छिमेकी पाँचथर, इलाम जिल्लाको पनि उन्नति हुने तथा प्रसिद्ध कञ्चनजङ्घा जाने पदयात्रीको पनि बाटो छोटो हुने उनीहरुको भनाई छ । यसले आन्तरिक धार्मिकका अतिरिक्त विदेशी पर्यटक ल्याउन सहयोग पुग्ने स्थानीयको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्