अनुदानको मल निजी पसलमा बेच्दै सहकारी « Arthapath.com
१० श्रावण २०७९, मंगलवार

अनुदानको मल निजी पसलमा बेच्दै सहकारी



काठमाडौं । रौतहटमा अनुदानको मलमा सहकारी संस्थाहरुले कालोबजारी गर्न थालेका छन् । किसानको लागि आएको मल सहकारी संस्थाहरुले मोटो रकम कमाउने चक्करमा निजी पसलेलाई बेच्ने गरेको पाइएको हो।

अनुदानको मल निजी पसललाई बेचेको भन्दै जिल्लाको वृन्दावन नगरपालिका वडा नं–७ का जय शिव शंकर उपभोक्ता सहकारी संस्थामा स्थानीय किसानहरुले तालाबन्दी गरेका छन् ।

किसानलाई मल अभाव भएका बेलामा सो संस्थाले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड गौरबाट पटक–पटक आएको डिएपी र युरिया मल निजी पसलेलाई बेचेको भन्दै वृन्दावन ८ का स्थानीय किसानहरुले मंगलबार विरोध जनाउँदै सो सहकारी संस्थामा ताला लगाएको स्थानीय युवा समाजसेवी सलामोदिन दर्जीले जानकारी दिए ।

जय शिव शंकर उपभोक्ता सहकारी संस्था लिमिटेडका सञ्चालक उपेन्द्र प्रसाद यादव (उपी)ले सहकारीको नाममा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड गौरबाट तीन पटक अनुदानको मल ल्याएर निजी पसलमा बेचेको स्थानीयको भनाई रहेको छ।​​

यादवले पहिलो पटकमा १५८ बोरा दोस्रो पटक १५० र तेस्रो पटक १३० बोरा युरिया र डिएपी मल ल्याएर निजी पसलमा बेचेको स्थानीय युवा नेता राजेश पासवानको गुनासो छ ।

यादवले प्रतिबोरा ७९० रुपैयाँ पर्ने युरिया मल विभिन्न निजी पसलेसँग १३५० रुपैयाँ र २२४० रुपैया पर्ने ३ हजारमा बेच्ने गरेको स्थानीयको गुनासो छ । किसान मल किन्न जाँदा मल सकिएको र ल्याएपछि दिने भन्दै फर्काउने गरिएको थियो ।

वृन्दावन नगरपालिकामा दर्ता रहेको सो सहकारी नियम विपरीत गरुडा नगरपालिका वडा नं–८ विर्ता चोकमा सञ्चालनमा रहेको छ । वृन्दावन नगरपालिकाले जय शिव शंकर उपभोक्ता सहकारी संस्था लिमिटेडलाई वडा नं ८ का किसानहरुलाई मल वितरण गर्ने सर्तमा सो संस्थालाई मल उपलब्ध गराइदिन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडलाई सिफारिस गरेका हुन् ।

सो संस्थाका सञ्चालक उपेन्द्र प्रसाद यादव (उपी)ले गत जेठ १८ गते कृषि समाग्री कम्पनी लिमिटेड
चन्द्रनिगाहापुरबाट ९५ बोरा युरिया र ५ बोरा पोटास खाद्य मल लगेको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरका प्रमुख रवि कुमार केशरीले जनाएका छन् ।

यादवले सो मल पनि निजी पसलेलाई बेचेको स्थानीयले आरोप लगाएका छन् । मंगलबार स्थानीयले विरोध जनाउँदै सो संस्थामा तालाबन्दी गरी स्थानीय प्रहरी चौकी विर्तामा उजुरी समेत दिएका छन् ।

यस बिषयमा जय शिव शंकर उपभोक्ता सहकारी संस्था लिमिटेडका सञ्चालक उपेन्द्र प्रसाद यादवसँग बुझ्न खोज्दा उनको फोन उठ्न सकेको छैन् ।


प्रतिक्रिया दिनुहोस्