पैसा कसरी खोस्टा बन्छ ? पाकिस्तान पतन हुँदै गरेको यस्तो छ कहानी « Arthapath.com
१३ माघ २०७९, शुक्रबार

पैसा कसरी खोस्टा बन्छ ? पाकिस्तान पतन हुँदै गरेको यस्तो छ कहानी



काठमाडौं । आजभन्दा ५ वर्षअघि १ अमेरिकी डलर बराबर नेपालमा १०२ रुपैयाँ आउँथ्यो भने पाकिस्तानमा ११० रुपया पथ्र्यो । तर अहिले हालत बदलिएको छ । विहीबार पाकिस्तानको खुला बजारमा १ अमेरिकी डलरका लागि २६० पाक रुपयासम्म तिर्नुपर्यो । त्यहाँको अन्तरबैंक कारोबारमै डलरको भाउ एकै दिन २४.४० रुपया महँगिएर २५५ रुपया नाघेको छ ।

यसरी एकै दिनमा पाकिस्तानी मुद्राको भाउ इतिहासकै सबैभन्दा सस्तो भएको हो । अब त हाम्रो १ रुपैयाँले पाकिस्तानमा २ रुपया पाउने अवस्था आउन थालिसकेको छ । यसरी पाकिस्तानमा डलरको भाउ अनियन्त्रित रुपमा बढ्न थालेको पहिलो पटक होइन । गत साउन र असोजमा पनि २४० देखि २५० रुपयासम्म पुगेर डलरको भाउ सस्तिएको थियो । पाकिस्तान विस्तारै विदेशी मुद्राको अभावमा पर्दै जाँदा अमेरिकी डलरको भाउ उचालिएको छ ।

पाकिस्तान सरकारले बुधबारमात्रै रुपयामा आफ्नो नियन्त्रण हटाएको थियो । अन्तरराष्ट्रिय मुद्रा कोषसँग ऋण लिनका लागि मुद्राकोषकै शर्त बमोजिम पाकिस्तान सरकारले विनिमय अंकुशलाई खुला गरेको हो । यसअघि पाकिस्तानले १ डलरको भाउ २३१ रुपयाभन्दा बढी हुन नदिने भनेर सीमा तोकेको थियो । सबै अन्तरबैंक कारोबारहरु यही सीमाभित्र हुन थाल्यो । तर खुला बजार र कालाबजारीमा डलर निकै महँगो बन्न पुग्यो ।

सरकारी दरभन्दा २० देखि ३० रुपया बढी तिरेर मानिसहरुले खुला बजारबाट डलर किन्न थाले । मनी एक्सचेञ्जहरुले डलरको भाउ बढाउँदै लगे । त्यसो भएपछि मानिसहरुले एकोहोरो डलर किनिरहने मात्रै भए । बेच्न कोही आएन । निर्यातकर्ताहरुले डलर देशभित्र नल्याएर बाहिरै रोक्न थाले ।

सरकारी ढुकुटीमा डलर आउनै बन्द भयो । मानिसहरु केन्द्रिय बैंक र सरकारी प्रक्रियाबाट २३१ रुपयामा डलर किनेर खुला बजारमा मनोमानी भाउमा बेच्न थाले । अरु तरिकाले डलर कमाउनेहरु पनि कालोबजारीमै महँगोमा बेच्न थाले । हुण्डिको कारोबार फस्टायो । तर सरकारी ढुकुटी रित्तिँदै गयो ।

रेमिट्न्समा पनि एक तिहाईभन्दा धेरै गिरावट आयो । ३ अर्ब डलरको रेमिटेन्स घटेर २ अर्ब डलरमा झर्यो । आफ्नो देशको मुद्रामा धेरै लगानीकर्तालाई भरोसा उठेपछि उनीहरु जहाँबाट भए पनि डलर साटेर राख्न तयार भए । यसरी आफ्नो देशको मुद्रालाई कृत्रिम रुपमा बलियो पार्ने पाकिस्तान सरकारको निर्णय घातक बन्न पुग्यो ।

त्यसो त, आईएमएफले लामो समयदेखि विदेशी विनिमयको पुनरुद्धार प्याकेज चाहिने भए रुपयालाई खुला बजारबाटै मूल्य निर्धारण हुने गरी छाड्नु पर्ने शर्त तेस्र्राउँदै आएको थियो । यस्तोमा आफ्नै नीतिले सोचेभन्दा उल्टो परिणाम दिएपछि पाकिस्तानी सरकार निर्णय सच्याउन बाध्य भयो । उसले बुधबारबाट २३१ रुपयाको सीमा हटाउने वित्तिकै डलरको भाउ कीर्तिमानी स्तरमा महँगिएको छ ।

कालो बजारीमा विहीबार नै १ डलरको २६५ रुपयासम्म तिर्नुपरेको समाचारहरु आएका छन् । यो मूल्य कतिसम्म बढ्छ भन्ने टुंगो छैन । कतिपयले १ डलरको २७५ रुपयासम्म पुगेर आंकलन गरेका छन् । एक स्तरसम्म डलर महँगिएपछि अहिले कालोबजारीबाट डलर किनेर थुपारेकाहरु बेच्न निस्किने छन्, जसले डलरको भाउ फेरी नियन्त्रण रेखामा फर्कने छ भन्ने धेरैको आशा छ । त्यहाँको वित्त मन्त्री डलरको भाउ २०० रुपयाभन्दा कम हुनुपर्ने बताउँछन् । तर धेरै मानिसहरु सरकारी दर नै २५० पुग्ने आशामा छन् ।

विदेशी मुद्राको खुम्चिँदो ढुकुटी

विहीबार पाकिस्तानको केन्द्रिय बैंकले एक साताअघि (माघ ६ गते) नै केन्द्रि बैंक र सिंगै वित्तीय प्रणालीमा गरेर ९ अर्ब ४५ करोड ३२ लाख अमेरिकी डलरमात्रै विदेशी विनिमय सञ्चित रहेको भनेको छ । त्यसको दुई साता अघिसम्म पाकिस्तानसँग १० अर्ब १९ करोड विदेशी मुद्रा थियो ।

आईएमएफले २०१९ मै पाकिस्तानलाई ७ अर्ब डलरको सहायता कार्यक्रम दिने भने पनि डेढ वर्षअघि १ अर्ब १७ करोड डलर दिएपछि थप पैसा दिएको छैन । दोस्रो किस्तामा १ अर्ब १० करोड डलर दिने भने पनि यसका लागि इन्धनको मूल्य बढाउनुपर्ने र कर उठाउने दायरालाई ब्यापक विस्तार गर्नुपर्ने कडा शर्तहरु पाकिस्तानले अझै पुरा गर्न सकिरहेको छैन । अव पनि आईएमएफले पैसा नदिएसम्म पाकिस्तानी अर्थतन्त्र सुधार हुने संभावना कम छ ।

खराब आर्थिक सूचक

यसै हप्ता स्टेट बैंक अफ पाकिस्तानले ब्याजदर पनि पछिल्ला २४ वर्षकै उच्च दरमा पुर्याइदिएको थियो । स्टेट बैंक अफ पाकिस्तानले अहिले नीतिगत ब्याजदर नै १७ प्रतिशत पुर्याएको छ । जबकी, नेपालमा यही दर अहिले पनि ७ प्रतिशत छ ।
औसत महँगीको दर २५ प्रतिशत हाराहारी पुगेको छ । पछिल्ला ३ महिनामा मात्रै पाकिस्तानले ५ अर्ब डलर विदेशी ऋण लिइसकेको छ । तर हालत सुध्रिने होइन, झन् खराब हुँदै गएको छ ।

केही साता अघिमात्रै पाकिस्तानमा गरिबीको दर ३५.७ प्रतिशत पुगेको आंकडा सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । सरकारी राजस्व खाता पनि ब्यापक रुपमा घटिरहेको र विदेशी मुद्राको ढुकुटी तीव्र गतिमा खुम्चिरहेको असर भोग्न पाकिस्तानलाई निकै कठीन परेको छ ।

संकटबाट उत्रिने प्रयास
गतसाल आएको बाढीका कारण पाकिस्तानमा १७ सयभन्दा धेरैको ज्यान गएको थियो, ३ करोड ३० लाखभन्दा धेरै मानिसहरु प्रभावित भएका थिए र देशले झण्डै ३० अर्ब डलरको क्षति व्यहोर्नु परेको थियो । तर नेपालले भूकम्पपछि आयोजना गरेजस्तै पाकिस्तानले पनि अन्तरराष्ट्रिय दाता सम्मेलन गर्यो । ३ वर्षभित्र १० अर्ब डलरको सहायता पाउने प्रतिबद्धता पनि आयो । तर खासै पैसा आउन सकिरहेको छैन ।

५ वर्षअघि पाकिस्तान सरकारले सार्वजनिक ऋण भुक्तानीका लागि वार्षिक ७ अर्ब डलर खर्चनु पर्ने अवस्था थियो । तर अब त्यो बढेर वार्षिक २० अर्ब डलर पुगेको छ । यो ऋण कहाँबाट तिर्ने भन्ने टुंगो छैन । पाकिस्तानको अर्थ व्यवस्था नेपालजस्तो परनिर्भर त छैन । गत डिसेम्बरको तथ्यांक अनुसार पाकिस्तानले १०० रुपैयाँको आयात गर्यो भने झण्डै ४५ रुपैयाँको निर्यात गर्छ । तर नेपालले १०० रुपैयाँको आयात गर्दा १० रुपैयाँको मात्रै निर्यात गर्छ ।

तर झण्डै सवा २३ करोडको आवादी र साढे ३ खर्ब डलरको अर्थतन्त्र भएको पाकिस्तानका लागि अहिले नेपालसँग भएको भन्दा पनि कम विदेशी मुद्राले जोगाउनेवाला छैन । अहिले भएको ९ अर्ब डलरले पाकिस्तानलाई २ महिनाको आयात धान्न पनि पुग्दैन । उसले विदेशी सहायताका लागि हारगुहार नगरेको पनि होइन । भारतसँग तिक्ततापूर्ण सम्बन्ध हुँदाहुँदै युक्रेन युद्धमा भारतकै बलियो साथ पाएको रुसको ढोकामा पुग्न पनि पाकिस्तानको राजनीतिक नेतृत्व हिच्किचाएन ।

साउदी अरबको हस्तक्षेप

पाकिस्तानलाई अहिलेको संकटबाट बाहिर ल्याउनमा साउदी अरबले हस्तक्षेपकारी पहल उठाइरहेको छ । भलै उसको यो प्रयासले मात्रै पाकिस्तान अहिलेको कठोर भूमरीबाट बाहिर आउन सक्ने अवस्थामा छैन । हालैमात्र पाकिस्तानका नवनियुक्त सेना प्रमुख जनरल सैयद आसिम मुनीर साउदीअरबको द्वारमा पुगेका थिए ।

साउदीका राजकुमार मोहम्मद बिन सलमानले गत २५ पुसमा जनरल मुनीरसँग भेटेलगत्तै पाकिस्तानमा आफ्नो लगानी १० अर्ब डलरसम्म पुर्याउनेबारे अध्ययन गर्न निर्देशन दिएका छन् । उनले साउदी डेभेलपमेण्ट फण्डलाई समेत पाकिस्तानको केन्द्रिय बैंकमा ५ अर्ब डलर निक्षेप पुर्याउन पनि अध्ययन गर्नू भनेर निर्देशन दिए ।

साउदीले एक महिना अघिमात्रै पाकिस्तानलाई दिएको कर्जा भुक्तानी गर्ने अवधी बढाइदिएको थियो । १५ महिनाअघि नै साउदीले पाकिस्तानलाई ४.२ अर्ब डलर आर्थिक सहायता उपलब्ध गराएको थियो । त्यस्तै तेलका लागि दिइने सुविधा दोब्बर बढाइदिएको थियो ।

सुन्नी बहुल देश साउदी अरब र सिया बहुल देश इरानबीच अरब क्षेत्रमा बर्चस्व स्थापित गर्ने लडाईँ चलिरहेको छ । यी दुईदेश चरम शत्रुतामा छन् । उनीहरु अहिले पनि यमनमा प्रोक्सि युद्ध लडिरहेका छन् । यही कारण साउदीले आवस्यक परेमा पाकिस्तानले आफूलाई सैन्य सहयोग उपलब्ध गरावस् भन्ने आशा राख्छ । किन की, पाकिस्तानमात्रै त्यस्तो एकमात्र इस्लामिक देश हो, जो परमाणु हतियारले शक्तिसम्पन्न छ ।


प्रतिक्रिया दिनुहोस्