तेस्रो पक्ष धितोमा कडाइ गर्दै राष्ट्र बैङ्क, ऋण दिने बैङ्कले पैसा तिर्न दबाब दिएपछि तनावमा व्यवसायी  « Arthapath.com
१८ कार्तिक २०७९, शुक्रबार

तेस्रो पक्ष धितोमा कडाइ गर्दै राष्ट्र बैङ्क, ऋण दिने बैङ्कले पैसा तिर्न दबाब दिएपछि तनावमा व्यवसायी 



काठमाडौं । नेपाल राष्ट्र बैङ्कले तेस्रो पक्ष धितोमा कडाइ गर्न थालेको छ । तेस्रो पक्षको धितो राखेर कम्पनीहरूले लिएको कर्जामा धितोले नखामे सम्भावित जोखिम व्यवस्था (प्रोभिजन) बापत पैसा छुट्याउन निर्देशन दिन थालेको छ । अधिकांश ठुला ऋणीले यसरी नै तेस्रो पक्ष धितो राखेर धितोको मूल्यांकन भन्दा पनि धेरै कर्जा चलाइरहेका छन् । यस्तो अवस्थामा राष्ट्र बैङ्कको कडाइले मूलतः एक करोडभन्दा धेरै ऋण चलाउने ऋणी र तिनलाई पैसा दिने बैङ्कहरू अप्ठेरोमा परेका छन् । 

राष्ट्र बैङ्कले साढे २ वर्षअघि एक निर्देशन जारी गर्दै तेस्रो पक्ष धितो राख्न नपाइने भनेको थियो । उक्त निर्देशनको खासै पालना भएको थिएन । यो निर्देशन आए लगत्तै कोभिड महामारी सुरु भएकाले पनि यसका प्रभावकारी कार्यान्वयन भएको थिएन । ‘कोभिड आएपछि अर्थतन्त्रलाई चलायमान राख्न र जोगाउनमै बढी ध्यान दिनु पर्‍यो’, राष्ट्र बैङ्कका एक उच्च अधिकारीले भने, ‘त्यस क्रममा थुप्रै सुविधा दिने र कतिपय कठोर प्रावधानहरूको कार्यान्वयनमा आँखा चिम्लिने काम भएको थियो ।’ 

यो आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैङ्कले पुनरुत्थानका लागि चालेका खुकुला नीतिहरू फिर्ता लिएको छ । यसै क्रममा तेस्रो पक्ष धितो पनि परेको हो । अर्कातिर अहिले आईएमएफले पनि नेपालको वित्तीय क्षेत्र कति बलियो छ ? भनेर मूल्याङ्कन गरिरहेको छ । ‘फाइनान्सीयल सेक्टर स्टाबलिटी रिभ्यू’ भनिने यस खाले मूलयांकन राष्ट्र बैङ्कले हरेक वर्ष आन्तरिक रूपमा गर्ने गरेको भए पनि आईएमएफले लामो समयको अन्तराल पछि नेपालको वित्तीय क्षेत्रको मजबूति जाँच्न लागेको हो । 

आईएमएफले केही वर्षको अन्तरालमा यस्तो मूल्याङ्कन गर्ने गरेको छ । यसले वित्तीय प्रणालीका कमी कमजोर बाहिर ल्याउने गर्छ । राष्ट्र बैङ्कले आफ्ना निर्देशनहरूको परिपालना गराउन सफल भएको र वित्तीय स्वास्थ्यलाई सुदृढ राखेको मानक देखाउन पनि अहिले यस खाले कडाइ गरिरहेको स्रोतले बतायो । तर यस्तो नियमको कार्यान्वयन गराउँदा कमजोर बैङ्क र कमजोर ऋणीमाथि बढी जोड बल गरेको भनेर ऋणी र बैंकरले पनि गुनासो गरेका छन् । ‘ठुला ऋणी र ठुला बैङ्कलाई अझै आँखा चिम्लिरहेको छ’, एक बैंकरले भने । 

के हो तेस्रो पक्ष धितो ?

ए भन्ने मान्छेले एक्स भन्ने कम्पनी खोलेर व्यवसाय गरेको छ । त्यो कम्पनीले ऋण लिनु पर्‍यो भने ए भन्ने व्यक्ति (एक्स कम्पनीको मालिक)को नाममा भएको सम्पत्ति धितो राखेर ऋण लिनुलाई राष्ट्र बैङ्कले तेस्रो पक्ष धितो भनेको छ । यसमा ए भन्ने मान्छेकै स्वामित्वमा रहेका अरू कम्पनी हुन् वा उनका परिवारका सदस्य वा अन्य बाह्य स्वामित्वको सम्पत्ति धितो राखेर पनि एक्स भन्ने कम्पनीले ऋण लिन पाउँदैन । यदि एक्स भन्ने कम्पनीले धितो राख्ने हो भने सोही कम्पनीको नाममा रहेको सम्पत्ति राख्नुपर्छ । 

यदि एक्स कम्पनीले ए भन्ने व्यक्तिको नामको सम्पत्ति धितो राखेर ऋण लिएको रहेछ भने उक्त धितो या त एक्स भन्ने कम्पनीकै नाममा नामसारी गर्नुपर्छ, होइन भने बैङ्कले उक्त कर्जाको शतप्रतिशत प्रोभिजन राख्नुपर्छ भनेर राष्ट्र बैङ्कले कडाइ गरेको छ । यसले नेपालमा धेरै ऋणीहरू प्रभावित हुनसक्ने जोखिम बढेको छ । 

एउटा कम्पनीको नाममा सम्पत्ति किन्ने, त्यही सम्पत्ति धितो राखेर अर्को कम्पनीको नाममा ऋण लिने, त्यसपछि ऋण नतिर्ने र बैङ्कले लिलाम गर्न खोज्यो भने अदालत गएर अर्को कम्पनीको सम्पत्ति बैङ्कले हडप्न पाउँदैन भन्ने दलिल पेस गर्ने प्रवृत्ति देखिएपछि अढाई वर्षअघि राष्ट्र बैङ्कले यस्तो निर्देशिका ल्याएको थियो । 

Tags :

प्रतिक्रिया दिनुहोस्