अर्थतन्त्र उकास्न र व्यापार घाटा कम गर्न वहुमुल्य वस्तुको निकासीलाई प्रोत्साहित गरिनु पर्नेमा जोड « Arthapath.com
७ श्रावण २०७८, बिहीबार

अर्थतन्त्र उकास्न र व्यापार घाटा कम गर्न वहुमुल्य वस्तुको निकासीलाई प्रोत्साहित गरिनु पर्नेमा जोड



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा समक्ष साउन ७ गते नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भेट गरेको छ । भेटमा कोभिड–१९ को दुष्परिणामबाट शिथिल बनेको अर्थतन्त्रलाई पुर्नरुत्थान गर्न र वाह्य व्यापारमा देखिएको अत्याधिक घाटालाई कम गर्न अवलम्वन गरिनु पर्ने उपायहरु बारे सुझाव प्रस्तुत गरेको छ ।

प्रतिनिधि मण्डलमा महासंघका प्रथम उपाध्यक्ष राम प्रसाद विश्वकर्मा र सह–कोषाध्यक्ष गणेश प्रसाद विश्वकर्मा समेत सहभागी भएका थिए । मुलुकको कूल वाह्य व्यापारमा असन्तुलन बढेर आयात ९२ प्रतिशतर निर्यात ८ प्रतिशतमा सीमित हुन पुगेको गंभिर अवस्थालाई दृष्टिगत गरी अर्थतन्त्रमा महत्वपूर्ण रुपमा मूल्य अभिवृद्धि गर्न सक्ने वहुमुल्य वस्तुहरुको निर्यातलाई प्रोत्साहित गर्नु पर्नेमा महासंघले जोड दिएको छ ।

देश भित्र वर्षेनी अवौं मूल्यका सुन, चाँदी, रत्न, पत्थर आदि वहुमूल्य वस्तुहरु आयात भइरहेको छ । तर स्वदेशी भूगर्भमा थुप्रै प्रकारका वहुमूल्य धातु तथा रत्न, पत्थर आदि रहेको अनुसन्धानबाट पुष्टी भएको छ । तसर्थ तिनीहरुको उत्खनन र प्रशोधन भएमा आयात प्रतिस्थापनमा ठूलो टेवा पुग्नेछ भने निर्यात पनि गर्न सकिनेछ । अन्तराष्ट्रिय बजारमा नेपाली मौलिक वहुमुल्य गहना प्रति ठूलो आकर्षण छ । नेपालबाट निकासी हुने अन्य वस्तुले पाए सरहको सुविधा पनि वहुमूल्य गहनाको निकासीमा उपलव्ध छैन । अर्थतन्त्रमा बढी लाभ दिन सक्ने क्षेत्र नै कुष्ठित भएकोले निर्यात व्यापारले गति लिन सकेको छैन । परंपरागत वस्तुको निर्यात र पुरानै कार्यशीेली मात्रै वाह्य व्यापारमा सुधार हुन सक्तैन । तसर्थ कम तौल र उच्च मूल्यका वहुमूल्य गहनाको निर्यातलाई प्रोत्साहित गर्नु जरुरी छ । यसबाट विद्यमान व्यापार घाटा कम गर्नमा उल्लेख्य योगदान हुन सक्ने भएकोले त्यस तर्फ अविलम्व कदम चाल्न नेपाल सरकार समक्ष महासंघले अनुरोध गरेको छ ।

आभुषण व्यवसायले वृहत आकार लिइसकेको र आम नागरिकको समेत ठूलो लगानी भइसकेको यस क्षेत्रलाई थप व्यवस्थित तुल्याउनु जरुरी छ । सुनको आयातमा कोटा निर्धारण गरी बढ्दो मागलाई नियन्त्रण गरिएको र आयातको एकाधिकार वाणिज्य वैंकहरुलाई मात्रै दिइएकोले वहुमूल्य गहनाको कच्चा पदार्थको आपूर्तिमा अन्योलको स्थिति उत्पन्न हुने गरेको छ । यस्तो असन्तुलित परिस्थितिको फाइदा अवैध कारोवारीले उठाइरहेकोले राजश्वमा ठूलो घाटा भइरहेको छ । तसर्थ मागको अनुपातमा आपूर्तिलाई सहज तुल्याउन कोटा बढाउन वा वैंकको एकाधिकार अन्त्य गरी सुन आयातलाई Open General License (OGL) अन्तर्गत ल्याइनु पर्नेमा महासंघले जोड दिएको छ ।


प्रतिक्रिया दिनुहोस्