तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा सुरू, १५० परियोजना प्रस्तुत गरिने « Arthapath.com
१६ बैशाख २०८१, आईतवार

तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा सुरू, १५० परियोजना प्रस्तुत गरिने



काठमाडौँ । आजदेखि तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा सुरू भएको छ । होटल सोल्टीमा हुने लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् ।

पहिलो दिन दुईवटा विशेष सत्र सञ्चालन हुनेछन् । ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा सत्र पहिलो दिन राखिएको छ । दोस्रो दिन तीनवटा समानान्तर सत्र (प्यारालल सेसन) र हरेक सत्रमा तीनवटा समूहगत छलफल (प्यानल डिस्कसन) हुनेछ ।

दोस्रो दिनको पहिलो सत्रमा नवीकरणीय ऊर्जाको सम्भावना, नविनतम वित्तीय परिदृश्य, हरित तथा जलवायु उत्थानशील क्षेत्रमा लगानीको अवसर गरी तीन प्यानलमा छलफल हुनेछ । त्यस्तै, दोस्रो सत्रमा हरित वित्त तथा दिगो लगानी, पर्यटन क्षेत्रमा लगानी, र नेपालको निर्यात प्रवर्द्धनका लागि कृषि प्रशोधनमा आधारित आपूर्ति शृङ्खलाबारे छलफल हुनेछ । तेस्रो सत्रमा उत्पादन क्षेत्र नवप्रवर्तन विकास, लगानी तथा व्यवसायिक सहजीकरण र सूचना प्रविधि क्षेत्रबारे छलफल गरिने जनाइएको छ ।

लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता रहने छ । लगानी बोर्डका अनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ ।

लगानी सम्मेलनमा १५० परियोजना प्रस्तुत गरिने भएको छ । सम्मेलनमा उर्जा क्षेत्रका सबैभन्दा बढी ३१, यातायात क्षेत्रका १९, खानी तथा खनिजजन्य क्षेत्रका १३, पर्यटन क्षेत्रका १३, कृषिका १४, उत्पादन क्षेत्रका ५, औद्योगिक पूर्वाधार तथा व्यापारसम्बन्धी ७, स्वास्थ्य तथा शिक्षा क्षेत्रका ३, सञ्चार तथा सूचना प्रविधि क्षेत्रका २, पानी आपूर्तिका ४ र सहरी विकास क्षेत्रका ६ वटा परियोजना प्रस्तुत गरिदै गरिने भएको छ । निजी क्षेत्रबाट प्रस्तुत ३१ वटा परियोजना पनि बाह्य लगानीका लागि समावेश गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्