किन टिक्दैनन् ग्लोबल बैकमा कोही ? « Arthapath.com
१८ श्रावण २०७७, आईतवार

किन टिक्दैनन् ग्लोबल बैकमा कोही ?



काठमाडौं । मर्जरको बेला पदावधी डेढ वर्ष बाँकी हुँदा स्वेच्छिक अवकाश नलिईकन ग्लोवल आइएमई बैंकको सीईओ बन्न पुगेका परशुराम कुँवर क्षेत्रीले अचानक राजीनामा दिँदा धेरैका लागि यो आश्चर्यको विषय बनेन । उनीसँग लामो समय स्ट्याण्डर्ड चार्टर्ड बैंकमा काम गरेका एनएमबि बैंकका सीईओ सुनिल केसीको टिप्पणी थियो, ‘उनी त्यहाँ टिक्दैनन् भन्ने हामीलाई पहिल्यै थाहा थियो । उनको राजीनामा मलाई अनौठो लागेन ।’

परशुराम कुँबरलाई बैंकिङ इण्डस्ट्रीमा व्यावसायिक बैंकरको ?पमा चिनिन्छ । उनी सञ्चालक समितिले दिने दवाब नसहने र व्यावसायिकताका विषयमा कम्प्रोमाइज नगर्ने भएकै कारण ग्लोवलमा टिक्न नसकेको धेरैको टिप्पणी छ ।

ग्लोवल आईएमई बैंकमा सिईओ मात्रै होइन चन्द्र ढकालका आफुनै नातेदारहरुसमेत टिक्न सकेनन । ढकालका पारिवारीक नाता पर्ने कतिपय कर्मचारीहरु प्रमोसन नपाएर बाहिरिएका छन । नातेदार भएपनि प्रमोसन नपाएर बाहिरिएका कतिपयले अन्य बैंकमा राम्रो गरिरहेका छन ।

जनता बैंकमा २ वटा ठुला विकास बैंकहरू गाभिएपछिको व्यवस्थापन मिलाएर बलियो टिम बनाएका कुँवरले ग्लोवललाई सुधार गर्न राम्रो काम गर्ने अनुमान गरिएको थियो । तर उनी केही महिनामै बाहिरिनुपर्यो । उनले जिम्मेवारी सम्हालेको केही समयमै कोरोना महामारीका कारण लकडाउन सुरु भएको र लकडाउनकैबीच उनले राजीनामा दिएका थिए ।

उनले आफ्नो बैंकिङ करियरको अन्तिम जिम्मेवारीबाट राजीनामा दिने क्रममा फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो भावनाहरू पोखेका छन् । ग्लोवल बैंकको १२ वर्षे इतिहासमा उनी आठौं सीईओ हुन् । कतिपय बैंकमा एउटै सीईओले १२ वर्षसम्म काम गर्दै राम्रो पर्फमेन्स दिइरहेको बेला ग्लोवलमा भने ८ पटक सीईओ फेरिएसकेको छ । ग्लोवलमा सीईओ नटिक्नुको मुख्य कारण सञ्चालक समितिको अत्यधिक सक्रियतालाई दोष दिनेहरू धेरै छन् ।

सनराइज र ग्लोवल बैंक एकैपटक स्थापना भएका हुन् । यी दुबै बैंक स्थापनाका लागि हिमालयन बैंकका वरिष्ठ कर्मचारीहरूलाई नेतृत्व दिइएको थियो । सनराइजमा किशोर महर्जन र ग्लोवलमा सुमन न्यौपाने सीईओ बनेर गएका थिए । ग्लोवलमा एक वर्षमात्रै काम गर्दागर्दै सीईओ न्यौपानेले राजीनामा दिए ।

न्यौपानेले राजीनामा दिएको करिब एक वर्षसम्म पनि ग्लोवलले सीईओ नियुक्त गर्न सकेन । जबकी डिजिएम वा डेपुटी सीईओसमेत नभएको अवस्थामा एजीएम रहेका जनक शर्मालाई कामु दिएर लामो समय बैंक चल्यो । त्यसपछि भारतको सिटी बैंकमा काम गरिरहेका अनिल ज्ञवालीलाई ग्लोवलले नियुक्त गर्यो । तर अनिल पनि दुई बर्षभन्दा बढी टिक्न सकेनन । ग्लोवलमा राजीनामा गरेर अनिल नविल बैंकको सीईओ बन्न पुगे । अनिलको राजीनामा पनि एनसीसी बैंकमा चारवर्षे कार्यकाल सकेका रत्नराज बज्राचार्य ग्लोवलको सीईओ बन्न पुगे । बज्राचार्यले मात्र ग्लोवलमा पूरा समय काम गर्न सके । यद्यपि, उनले चारवर्षे कार्यकालमा ४ पटक नै राजीनामा पत्र अध्यक्षलाई बुझाइसकेका भए पनि उनी कार्यकार पूरा गरेर बाहिरिए । उनलाई कार्यकाल थप्ने प्रस्ताव समेत बज्राचार्यले स्वीकार गरेनन् ।

बज्राचार्यले छाडेपछि ग्लोवलमा पुन अनिल ज्ञवाली नै सीईओ बन्न पुगे । ग्लोवल छाडेर नविल आएका ज्ञवाली नविलमा कार्यकाल नै पुरा नगरी राजिनामा दिन बाध्य भए भने उनी पुनः चन्द्र ढकालसँग सम्बन्ध बढाउँदै ग्लोवलको सीईओ बने । ज्ञवाली गएपछि ग्लोवलमा ठूलो उथलपुथल भयो । ज्ञवाली जानुअघि नै ग्लोवलले सीईओ ?पमा तयार पार्दै निरज श्रेष्ठलाई एनआईसी बैंकबाट डिजिएमको ?पमा लगेको थियो । तर, डिजिएम रहेका श्रेष्ठ र जनक शर्माबीचको द्वन्द्वमा श्रेष्ठले ६ महिनामै राजिनामा दिएर बाहिरिए । त्यसपछि शर्माले पनि सीईओ पद पाएनन ज्ञवाली भित्रिए ।
दोस्रोपटक सीईओ बनेका ज्ञवाली फेरी पनि पूरा समय टिकेनन् । उनको कार्यकाल मनोज ज्ञवालीलगायतका पुराना र राम्रा बैंकरहरू बाहिरिए । उनी पनि डेढ बर्षकै अवधीमा राजीनामा दिन बाध्य भए ।

ज्ञवाली दोस्रोपटक बाहिरिएपछि बैंकमा संस्थापनाकालदेखि नै काम गरिरहेका जनक शर्मा पौड्याललाई सीईओ बनाइयो । शर्माको ब्याकअपमा माछापुच्छ्रे बैंकमा सिईओ नपाएपछि राजीनामा दिएका सुमन शर्मालाई भित्र्याइयो । तर, शर्मा पनि ६ महिना काम गरेपछि पुनः माछापुच्छ्रे बैंकमै सीईओ पाउने भएपछि फर्किए । तर, सुमन शर्मा फर्किएको केही महिनामै जनक शर्मा पनि बाहिरि नुपर्यो । स्थापनाकालदेखि नै प्रबद्र्धकहरूसग राम्रो ट्यूनिङमा काम गरिरहेका शर्माले अकस्मात राजीनामा दिँदा धेरैले आश्चर्य मानेका थिए ।

उनी बाहिरिएपछि ग्लोवलले सीईओ नियुक्त गरेन । मेगा बैंकबाट डेपुटी सीईओ बन्न गएका महेश ढकाललाई नै लामो समयसम्म निमित्त सीईओको रुपमा काम गर्न लगाइयो । ग्लोवल आइएमई सीईओ रिक्त रहेका कारण जनता बैंकका परशुराम कुँवरलाई सीईओ दिने तय भयो । मर्जरका क्रममा स्वेच्छिक अवकाश नलिएका कुँवरको पदावधि डेढ वर्ष बाँकी थियो । तर उनले मर्जरपछिका केही महिनामात्रै काम गर्न पाए । उनको कार्यकाल लकडाउनको व्यवस्थापनमै बित्यो र राजीनामा दिए ।

परशुराम कुँवर क्षेत्रीको पहिचान र स्वभाव बुझ्नेहरू उनी ग्लोवलमा ६ महिनाभन्दा बढी नटिक्ने अडकाल सुरुमै गर्ने गर्थे । मर्जरपछि कार्यभार सम्हाल्नासाथ उनलाई हामीले पनि सोही प्रश्न सोधेका थियौं । त्यसबेला उनले भनेका थिए, ‘बैंकिङ क्यारिएरमा यो मेरो जीवनको अन्तिम जिम्मेवारी हो । यसर्थ यसलाई सुखद् बिदाईको रुपमा टुंगाउन चाहन्छु ।’

तर, उनले भनेजस्तो भएन । धेरैले अनुमान गरेजस्तै उनी बिचैमा बाहिरिए । ग्लोवल बैंक चन्द्र ढकालको आइएमई समूह र सुहृद घिमिरे समूहको प्रबद्र्धनमा खुलेको बैंक हो । यसले ८ वटा ठूला साना कम्पनीहरू गाभ्दै अनेकन समूह आफूमा समाहित गरिसकेको छ । कमर्ज एण्ड ट्रस्ट र जनता बैंक गरी २ वटा कमर्शियल बैंक नै गाभिसकेको छ । यसबाहेक सिद्धार्थ डेभलपमेन्ट बैंक, त्रिवेणी विकास बैंक र सोसियल डेभलपमेन्ट बैंक गरी ३ वटा राष्ट्रियस्तरको विकास बैंक पनि गाभेको छ । यसबाहेक आधा दर्जन क्षेत्रीयस्तरको विकास बैंकहरू गाभेको छ । आइएमई फाइनान्स र लर्ड बुद्ध फाइनान्स गरी २ वटा राष्ट्रियस्तरका फाइनान्स गाभेको छ ।

मर्जरका क्रममा थुप्रै व्यापारीक समुहहरू यसको प्रबद्र्धकको ?पमा छिरेको भए पनि अझै आइएमई समूहकै हाली–मुहाली बैंकमा देख्न सकिन्छ । बैंकको सञ्चालक समितिमा ढकाल समूहकै व्यक्तिहरूको बहुमत छ । र, कर्मचारीहरू अधिकांशको नियुक्ति पनि ढकाल समूहकै छनोटमा हुने गरेको छ ।

ढकाल समूह पछिल्लो समय नेपालको इमर्जिङ विजनेस घरानाको रुपमा उदाएको छ । यसर्थ पनि उसलाई एउटा ठूलो बैंक आफ्नो नियन्त्रणमा हुनु जरुरी देखिएको छ, यसर्थ बैंकको व्यवस्थापनमा समेत हस्तक्षेप गर्ने हिसावले तारन्तार सीईओ परिवर्तन गर्दै आफूअनुकूल बैंक चलाइरहेको आरोप बैंकरहरूको छ ।

त्यसो त राष्ट्र बैंकले सबैभन्दा धेरै फेबर गर्ने बैंकको रुपमा पनि ग्लोवल आइएमई बबैंकलाई लिइन्छ । यसअघि माछापुच्छ्रे बैंकलाई पनि राष्ट्र बैंकले धेरै फेबर गरेको भन्दै आलोचना हुने गरेका थियो । आइएमई समूहले चलखेल राष्ट्र बैंक र बीमा समितिको सन्चालकहरू नियुक्तिमा समेत हुनथालेको र आफूअनुकूलका व्यक्तिहरू लैजान सफल हुने गरेको देखिएको छ । बीमा समितिमा चिरञ्जीवी चापागाइँको नियुक्तिलाई आइएमई समूहको प्रयासको रुपमा हेर्नेहरू धेरै छन् ।

त्यसैगरी, यसअघि राष्ट्र बैंकमा आफ्नो नातेदार रामहरी अर्याललाई सञ्चालक बनाउन सफल सो समूहले पछिल्लोपटक काग्रेस कोटामा रामजी रेग्मीलाई आफ्नो मान्छेको रुपमा सञ्चालक बनाएको छ । यसर्थ पनि ग्लोवल आइएमई बैंकलाई राष्ट्र बैंक फेबर प्राप्त भैरहेको छ ।
चुक्ता पुँजी र बिजनेसको हिसावले नेपालकै सबैभन्दा ठूलो बैंकको रुपमा देखिएको ग्लोबल आइएमई बैंकभित्रको व्यवस्थापनमा गैरकार्यकारी सञ्चालकहरूको हालीमुहाली अनि हरेक वर्षेपिच्छेजस्तो सीईओ परिवर्तन भैरहने घटना नेपाली बैंकिङ इण्डस्ट्रीका लागि दुःख मान्न सकिन्छ । ठूलो बैंकको व्यवस्था अस्थिर हुनथाले समस्या आउन धेरै समय लाग्दैन । यसैले पनि राष्ट्र बैंक र अन्य नियामकले यसबारे सोच्नु जरुरी भैसकेको छ । यसबाहेक सो समूहको लगानीमा विभिन्न इन्स्योरेन्स कम्पनीहरू र अन्य बैंक तथा वित्तीय संस्थाहरूसमेत सञ्चालनमा रहेका कारण कन्फ्लिक्ट अफ इन्ट्रेस्ट धेरै देखिने हुनसक्छ । यस्ता भित्री कुराहरूमा राष्ट्र बैंकले चासो देखाएको छैन ।

यतिखेर ग्लोवलमा महेश ढकालले दोस्रो पटक कामु सीईओ बनेका छन । यसअघि पनि उनी ७ महिना सो जिम्मेवारीमा रहेका थिए । यसअघि ढकाल कामु हुँदा मानव संशाधन विभागमा रहेका भवानी ढकालदेखि सीसीओ रहेका राजा अर्यालसम्मलाई स?वा गरेका थिए । उनले ग्लोबल बैङ्क छोडेर कतार एयरवेज पुगेका रञ्जनकुमार थापालाई दुई तह बढुवा हुने गरी पुनः बैंकमै भित्र्याएका थिए ।

ढकालले बनाएको व्यवस्थापन मर्जरपछी पुरै भत्किएको थियो । परशुराम कुबरले जनता बैंकबाट आएका कर्मचारीहरूलाई नै मुख्य जिम्मेवारी दिएका थिए । त्यसको आक्रोस पनि बैंकभित्र भुसको आगोझै फैलिएको थियो । मर्जरअघि नै बैंकबाट करिब ३ सय जनाभन्दा बढी कर्मचारी राजिनामा दिएर बाहिरिएका थिए । मर्जरपछि पनि त्यत्तिकै सख्यामा कर्मचारी बाहिरिएका छन । अब व्यवस्थापन परिवर्तन भएपछी कर्मचारीमा अर्को निराशा आउने देखिन्छ भने अर्को सीईओ आएपछि पुनः त्यस्तै अवस्था दोहोरिने देखिन्छ ।
सेयर बजारबाट


प्रतिक्रिया दिनुहोस्