बैंक तथा वित्तीय संस्थाको क्षेत्रगत कर्जा विस्तार, कुन क्षेत्रमा कति लगानी ? « Arthapath.com
२७ माघ २०७९, शुक्रबार

बैंक तथा वित्तीय संस्थाको क्षेत्रगत कर्जा विस्तार, कुन क्षेत्रमा कति लगानी ?



काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक २०७९/८० को पुस मसान्तसम्ममा सबैभन्दा धरै लगानी कृषि क्षेत्रमा गरेका छन् । सो अवधिसम्ममा बैंकहरुले कृषि क्षेत्रमा १३ प्रतिशत लगानी गरेका हुन् ।

नेपाल राष्ट्र बैंक आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको प्रतिवेदनले यस्तो देखाएको हो । सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले क्षेत्रगत कर्जा विस्तार लक्ष्य अनुसार नै भएको देखिएको छ । पुस मसान्तसम्ममा बैंकहरुले कृषि क्षेत्रमा ५ खर्ब ४३ अर्ब ४७ रुपैयाँ लगानी गरेका देखिएको छ ।

वाणिज्य बैंकहरुले २०८० असार मसान्तसम्ममा कुल कर्जाको न्युनतम ११ प्रतिशत कृषि क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था रहेको थियो । यस्तै, २०८० असार मसान्तसम्ममा उर्जा क्षेत्रमा ६ प्रतिशत, लघु, घरेलु साना एवम् मझौला उद्यम क्षेत्रमा ११ प्रतिशत (१ करोड रुपैयाँभन्दा कम रकम कर्जा तथा प्रत्यक्ष रुपमा प्रवाह भएका विपन्न वर्ग कर्जासमेत) प्रवाह गनुपर्ने व्यवस्था रहेको छ ।

पुस मसान्तसम्ममा बैंकहरुले उर्जा क्षेत्रमा ६.३ प्रतिशत अर्थात २ खर्ब ६२ अर्ब ५५ करोड रुपैयाँ, ९.५ प्रतिशत अर्थात ३ खर्ब ९६ अर्ब ९१ करोड रुपैयाँ लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा कर्जा लगानी रहेको छ ।

यता, विकास बैंकहरुले २०८० असार मसान्तसम्ममा कुल कर्जा लगानीको १६ प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, उर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०७९ पुस मसान्तसम्ममा उक्त क्षेत्रहरुमा औसत २६.६ प्रतिशत अर्थात १ खर्ब १५ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानीमा रहेको छ ।

त्यसैगरी, वित्त कम्पनीहरुले २०८० असार मसान्तसम्म कुल कर्जा लगानीको ११ प्रतिशत कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, उर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०७९ पुस मसान्तसम्ममा उक्त क्षेत्रहरुमा औसत २२.४ प्रतिशत अर्थात १९ अर्ब ३३ करोड रुपैयाँ कर्जा लगानीमा रहेको छ ।

विपन्न वर्ग कर्जा

गत पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुको ६.७ प्रतिशत अर्थात २ खर्ब ८० अर्ब १७ करोड रुपैयाँ, विकास बैंकहरुको ११.१ प्रतिशत अर्थात ४८ अर्ब २३ करोड रुपैयाँ र वित्त कम्पनीहरुको ७.३ प्रतिशत ६ अर्ब २९ करोड रुपैयाँ कर्जा विपन्न वर्गमा लगानीमा रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कुल कर्जा सापटको न्यूनतम ५ प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेको छ ।

सहुलियतपूर्ण कर्जा र पुनरकर्जा

नेपाल सरकारको ब्याज अनुदानमा सञ्चालित सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत पुस मसान्तसम्म कुल १ लाख ४८ हजार ३ सय ४२ ऋणीलाई २ खर्ब १० अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानीमा रहेको छ ।

कृषि लगायतका उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात र कोभिड महामारीबाट प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई उपलब्ध गराइएको पुनरकर्जा सुविधा २०७९ पुस मसान्तसम्म ११ अर्ब ७५ करोड रुपैयाँ लगानीमा रहेको छ ।

उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढाउने उद्देश्यले संचालनमा रहेका पुनरकर्जा सुविधा र सहुलियतपूर्ण कर्जाकोसदुपयोगिता र प्रभावकारिताका सम्बन्धमा अध्ययन भैरहेको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्