४ प्रतिशत ब्याजमा कृषि विकास बैंकले ६ अर्बको ‘कृषि ऋणपत्र’ जारी गर्दै, माघ महिनामा जारी गर्ने बैंकको योजना « Arthapath.com
१९ पुष २०७७, आईतवार

४ प्रतिशत ब्याजमा कृषि विकास बैंकले ६ अर्बको ‘कृषि ऋणपत्र’ जारी गर्दै, माघ महिनामा जारी गर्ने बैंकको योजना



काठमाडौं । कृषि कर्जा प्रवाहमा नेतृत्वदायी भूमिका पाएको कृषि विकास बैंकले ‘कृषि ऋणपत्र’ बिक्री गर्ने भएको छ । बैंकले २४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको हो । नेपाल राष्ट्र बैंकले २४ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनका लागि अनुमति पाइसकेको छ ।

सो ऋणपत्रलाई ६÷६ अर्ब रुपैयाँका दरले ४ चरणमा जारी गरिने बैंकले जनाएको छ । यसका लागि धितोपत्र बोर्डमा आवेदन दिईसकेको छ । कृषि विकास बैंकलाई कृषि कर्जाको नेतृत्व गर्न अगुवा बैंकको जिम्मा दिए व्यवस्थाअनुसार बैंकले कृषि ऋणपत्र निष्कासन गर्ने भएको हो । कृषि विकास बैंकले ऋणपत्र अन्य वाणिज्य बैंकलाई बिक्री गर्ने छ । ऋणपत्र किनेका बैंकले सो लगानीलाई आफ्नो कृषि लगानीमा गणना गर्न पाउने छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले माघबाट जारी गर्ने योजना रहेको बताएका छन् । धितोपत्र नियमावलीमा ऋणपत्र सीमित समूहलाई मात्र बेच्ने ब्यवस्था छैन । यो ऋणपत्र बैंक तथा वित्तीय संस्थाले मात्र किन्न पाउने भएकाले त्यसमा संशोधन गर्नु परेको थियो । बोर्डले संशोधन गरेको ब्यवस्था अर्थमन्त्रालयले स्वीकृत गरिसकेको छ ।

बैंकले जारी गर्न लागेको ऋणपत्रको ब्याजदर ४ प्रतिशत प्रस्ताव गरिएको छ । चरणबद्ध रूपमा जारी हुने ऋणपत्रको समयावधि पनि फरकफरक प्रस्ताव गरिएको छ । समग्रमा ऋणपत्र परिपक्वको अवधि ७ वर्षसम्मको हुने भए पनि बैंकले हरेक चरणका लागि फरकफरक अवधि तोकेको हो ।

बैंकले २०७३ सालदेखि सरकारले व्यावसायिक कृषि कर्जामा ब्याज अनुदान दिँदै आएको छ । गत भदौसम्म २५ हजार ५ सय ८९ जनाले करिब ५७ अर्ब ४४ करोड रुपैयाँबराबर ब्याज अनुदानको कृषि कर्जा पाएका छन् । यस्तै वाणिज्य बैंकहरूले कुल लगानीको न्यूनतम १० प्रतिशत कृषिमा लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था छ । अहिले कृषि विकास बैंकको कुल ऋणमा ३० प्रतिशत हिस्सा कृषि क्षेत्रको छ । यसलाई क्रमशः ४० प्रतिशत पुर्याउने बैंकको योजना छ ।


प्रतिक्रिया दिनुहोस्