सेबोन अध्यक्ष छनोट प्रक्रियालाई शीघ्र अघि बढाउन अर्थमन्त्रीद्वारा सचिवलाई ताकेता « Arthapath.com
१३ चैत्र २०८०, मंगलवार

सेबोन अध्यक्ष छनोट प्रक्रियालाई शीघ्र अघि बढाउन अर्थमन्त्रीद्वारा सचिवलाई ताकेता



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले धितोपत्र बोर्डको नेतृत्व चयन प्रक्रिया छिटो अघि बढाउन अर्थसचिव डा. कृष्णहरि पुष्करलाई निर्देशन दिएका छन् । ‘लामो समयसम्म धितोपत्र बोर्डजस्तो नियामक निकाय नेतृत्व बिहिन हुनु राम्रो होइन’, मन्त्री पुनले सचिव पुष्कारलाई निर्देशन दिँदै भने, ‘त्यसका लागि तत्काल प्रक्रिया अगाडि बढाउनुस् ।’

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा गठित सिफारिस समितिमा अर्थ सचिव पनि सदस्य छन् । उनी यसअघि अमेरिका गएपछि सेबोन अध्यक्ष छान्ने प्रक्रिया अवरुद्ध भएको थियो । यस पदका लागि आवेदन दिएका १९ जनामध्ये ५ जनालाई ‘शर्ट लिस्ट’मा राख्नु पर्ने काम नै बाँकी छ ।

यस प्रक्रियामा लामो समय खर्च हुँदा प्रतियोगीहरुले धेरै शक्ति प्रयोग गर्ने अवस्था आउने बुझाइ मन्त्री पुनको छ । यद्यपि, सत्ता घटक दलहरुको पद बाँडफाँट नटुंगिएका कारण नियुक्ति प्रक्रियामा ढिलाइ भइरहेको विस्वस्त स्रोतको दाबी छ ।

यस्तै मन्त्री पुनले पछिल्लो समय नियामक निकायले कार्यकारी निकायको शैलीमा कार्यसम्पादन गर्न थालेकामा चिन्ता जनाए । ‘नियामक निकायले कार्यकारीको काम गर्दा पनि पुँजीगत खर्च कम भएको छ ।

राज्यका कुन निकायले कुन काम गर्ने भन्ने संवैधानिक व्यवस्था छ’, पुनले भने, ‘नियामक निकाय रेफ्रीको भूमिकामा रहने हो । आफैं मैदानमा आएर कसैलाई पहेँलो कार्ड देखाउने र कार्ड देखाउनै नपर्नेलाई कार्ड देखाउने काम नियामक निकायले गर्नुभएन ।’

उनले अहिले अर्थतन्त्र संकट वा महासंकटको अवस्थामा नरहेको बताए । पछिल्ला एक वर्षयता सरकारले चालेका कयौं राम्रा कदमले नेपाली अर्थतन्त्रलाई जोखिमको डिलबाट सुरक्षित अवतरण गराइरहेको उनको भनाइ रहँदै आएको छ । यद्यपि अहिले पनि अर्थतन्त्रमा केही शिथिलता भने कायमै रहेको उनले बताए ।

यो पनि पढ्नुहोस् :

मन्त्रालयको चालु आर्थिक वर्षको फागुन महिनासम्मको प्रगति समीक्षा बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले अर्थतन्त्र चलायमान बनाउन मन्त्रालय आफैं र अन्तर मन्त्रालय समन्वयमा हुने काम अघि बढिसकेको उल्लेख गरे । राजश्व संकलन र पुँजीगत खर्च बढाएर अर्थतन्त्रको समस्या समाधान गर्ने गरी काम गर्न उनले मन्त्रालयका दुवै सचिव, सह–सचिवहरु र विभागीय प्रमुखलाई निर्देशन दिएका छन् ।

‘खर्च गर्न टाइट गरिएका कारण राजश्व संकलन पनि खुम्चियो’, मन्त्री पुनले भने, ‘अर्थले खर्चका लागि प्रेरित गर्ने बित्तिकै अरुले पनि खर्च बढाउँछन् ।’

पुनले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको मनोबल उठाउन जरुरी रहेको स्पष्ट गरे । राजश्व छली गर्नेलाई नछाड्न भन्दै उनले असल नियतले सुशासन कायम गर्न उठाइएका कदममा निजी क्षेत्रले पनि सघाउने बताए ।

ं‘असल नियतले सुशासन कायम गर्न काम गरेपछि राम्रा व्यवसायीलाई फाइदा पुग्छ’, मन्त्री पुनले भने, ‘राज्यले पक्रिएर थुनेर मात्र हुँदैन । प्रेरित गराएर कानून कार्यान्वयन गराऔं ।’


प्रतिक्रिया दिनुहोस्