कोरोना संक्रमीत ६ जना, लकडाउन २५ गतेसम्म र कोरोना कोषमा दुई अर्ब संकलन, कसले कति सहयोग गर्‍यो ? « Arthapath.com
२१ चैत्र २०७६, शुक्रबार

कोरोना संक्रमीत ६ जना, लकडाउन २५ गतेसम्म र कोरोना कोषमा दुई अर्ब संकलन, कसले कति सहयोग गर्‍यो ?



काठमाडौँ । सरकारले स्थापना गरेको कोरोना कोषमा दुई अर्ब संकलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हालसम्म कोषमा करिब दुई अर्ब रूपैयाँ जम्मा भएको हो । यससँगै थप सहयोग हुने प्रतिबद्धता आउने क्रमसमेत बढ्दै गएको छ ।

नेपालमा हालसम्म ६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा एक जना उपचारपछि घर फर्केका छन् भने पाँच जनाको उपचार भइरहेको छ । सरकारले गत चैत २५ गतेसम्म लक डाउन गरेको छ ।

सरकारले गत चैत ११ गते ५० करोड रूपैयाँ राखेर कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उपचार कोष स्थापना गरेको थियो । बिहीबारसम्म कोषमा करिब एक अर्ब बढी रकम जम्मा भए पनि निजामती कर्मचारीको पनि यसमा २५ करोड बराबरको थपिने भएको हो ।

कोषमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिपरिषद्का सदस्यले रकम जम्मा गरेका छन् । सरकारले कोषमा सहयोग रकम उपलब्ध गराउन चाहनेका लागि राष्ट्रिय वाणिज्य बैंकको १९६०००००११०१ नम्बरको खाता सञ्चालनमा ल्याएको छ । सरकारले आफूखुसी कुनै पनि कोष स्थापना गर्न भने रोक लगाएको छ ।

कोषमा बैंकहरूले मात्रै २५ करोड ४० लाख रूपैयाँ बराबरको रकम जम्मा गरेको नेपाल बैंकर्स संघले जनाएको छ । यस क्रममा बैंक ग्लोबल आइएमइ बैंकले एक करोड १५ लाख, राष्ट्रिय बाणिज्य बैंकले एक करोड ८५ लाख रूपैयाँ रकम जम्मा गरेको जनाएको छ ।

यस्तै, नेपाल आयल निगमले ५० करोड, नेपाल दूर सञ्चार प्राधिकरणले १५ करोड र नेपाल दूर सञ्चार कम्पनी लिमिटेडले १२ करोड सहयोग गरेको छ । नेपाल धितोपत्र बोर्डले तीन करोड, निक्षेप तथा कर्जा सुरक्षण कोषले तीन करोड, नेपाल स्टक एक्चेन्जले तीन करोड ५१ लाख, नागरिक लगानी कोषले दुई करोड र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले ३५ लाख जम्मा गरेको छ ।

यस्तै, बीमा समितिले पाँच करोड, राष्ट्रिय बीमा संस्थानले एक करोड, कर्मचारी सञ्चय कोषले पाँच करोड जम्मा गरेको छ । कृषि विकास बैंकले एक करोड ६० लाख, बैंक अफ काठमाडौंले एक करोड ५ लाख ५० हजार रकम जम्मा गरेको छ । त्यस्तै, बैंकका कर्मचारीले मात्रै ५ लाख ५० हजार, सेञ्चुरी बैंकले ८५ लाख, सिटिजन बैंकले ५० लाख, सिभिल बैंकले ७८ लाख ५ हजार जम्मा गरेका छन् । हिमालयन बैंकले एक करोड २५ लाख, कुमारी बैंकले ७० लाख र लक्ष्मी बैंकले एक करोड जम्मा गरेको छ ।

माछापुच्छ्रे बैंकले एक करोड ६ लाख, मेगा बैंकले एक करोड ३५ लाख, एनसिसी बैंकले एक करोड, नेपाल बंगलादेश बैंकले एक करोड ४५ लाख, नेपाल बैंकले एक करोड ३५ लाख, नेपाल एसबिआई बैंकले एक करोड र नेपाल इन्भेस्टमेन्ट बैंकले एक करोड सहयोग गरेको छ । एनएमबी बैंकले एक करोड ५१ लाख सहयोग गरेको छ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनका अनुसार कोरोना रोकथाम तथा नियन्त्रण कोषमा रु एक करोड एक लाख रुपैयाँ सहयोग रकम जम्मा गरिएको छ । प्रमुख कार्यकारी अधिकृत शेरचनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई सहयोग रकम उपलब्ध गराएको जानकारी दिए । संकटको समयमा सानो सहयोगले पनि ठूलो अर्थ राख्ने भएकाले आफूहरूले सहयोग गरेको शेरचनको भनाइ छ ।

यसैगरी प्राइम बैंकले एक करोड ७५ लाख, सानिमा बैंकले एक करोड ६८ लाख र सिद्धार्थ बैंकले ८५ लाख सहयोग गरेको छ । स्ट्याण्र्डड बैंक, सनराइज बैंक, एनआइसि एशिया बैंक, नबिल बैंक र एभरेष्ट बैंकले आन्तरिक छलफल गरिरहेको जानकारी दिएका छन् । ती बैंकले पनि सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

मन्त्रिपरिषद्ले मन्त्रिहरुको एक महिनाको तलब राख्ने भएको निर्णय गरे अनुसार चैत महिनाको रकमबाट स्वतः कट्टी भएको छ । सबै सार्वजनिक संस्थान, नीजि क्षेत्र, सामाजिक संस्था, व्यावसायिक जगत सबैलाई कोषमा सहयोग गर्न आह्वान गरेको थियो । कोष सञ्चालनसम्बन्धी कार्यविधि बनिसकेको हुनाले कोषको रकम पारदर्शी ढंगले खर्च गर्ने तयारीमा सरकार लागेको छ ।

कोषको कार्यविधिका आधारमा कोरोनासम्बन्धी औषधि, उपकरण, अस्पतालका उपकरण, कोरोनाबाट संक्रमित व्यक्तिको निःशुल्क उपचार गर्न खर्च गरिनेछ । खाताको सञ्चालन महालेखा नियन्त्रकको कार्यालयबाटै गरिनेछ । कोषका सदस्य सचिव विडारीका अनुसार कोषमा रहेको रकम कोरोनासँग जोडिएका समग्र पाटा पक्षमा नै खर्च गरिनेछ । रासस


प्रतिक्रिया दिनुहोस्