व्यवसाय बढाउन तातिए ठुला बीमा कम्पनीहरू, आर्थिक शिथिलताले सुस्ताएको व्यापारमा सुधार « Arthapath.com
१६ चैत्र २०८०, शुक्रबार

व्यवसाय बढाउन तातिए ठुला बीमा कम्पनीहरू, आर्थिक शिथिलताले सुस्ताएको व्यापारमा सुधार



काठमाडौं । बीमा व्यवसायमा सुधार देखिएको छ । फागुन मसान्तसम्म आइपुग्दा कम्पनीहरूको व्यापार सवा ५ अर्बले बढेको छ ।  नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको  तथ्याङ्कले यस्तो देखाएको हो ।

हाल सञ्चालनमा रहेका १४/१४ वटा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले १ खर्ब २४ अर्ब ८५ करोड ९० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा ४.४० प्रतिशत अर्थात् ५ अर्ब २६ करोड रुपैयाँ बढी हो ।

गत आवको फागुन मसान्तसम्ममा कम्पनीहरूले १ खर्ब १९ अर्ब ५९ करोड ८६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । बीमा व्यवसाय बिस्तारै बढ्न थालेको तथ्याङ्कले पुष्टि हुन्छ।  आर्थिक शिथिलताले सुस्ताएको बीमा व्यापार बिस्तारै सकारात्मक रूपमा बढ्न थालेको हो ।

आर्थिक गतिविधि बिस्तारै बढ्न थालेसँगै त्यसको प्रभाव बीमा व्यवसायमा पनि देखिएको प्राधिकरणका अधिकारीहरू बताउँछन् । उल्लेख्य रूपमा बढ्न नसकेपछि बिस्तारै गति लिन थालेको हो । प्राधिकरणले बजार मैत्री  नीतिगत निर्णयहरू र कम्पनीहरूले ल्याएको नयाँ बीमा योजनाहरूले पनि व्यवसाय बढ्न थालेको बताइन्छ । 

प्राधिकरणका अनुसार निर्जीवन बीमा भन्दा जीवन बीमा व्यवसाय बढेको छ।  गत आवको तुलनामा जीवन बीमा व्यापार ५.१९ प्रतिशत वृद्धि भएको छ। चालु आवको आठ महिनामा कम्पनीहरूले ९८ अर्ब ५९ करोड ६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । तर, बीमालेख बिक्री भने गत वर्षको तुलनामा सामान्य गिरावट देखिन्छ ।

यो पनि पढ्नुहोस्,

गत वर्ष कम्पनीहरूले १ करोड ४० लाख १ हजार ५७७ वटा जीवन बीमालेख बिक्री गरेका थिए । तर, यो वर्षको फागुन मसान्तसम्ममा भने १ करोड ३८ लाख ७ हजार २४९ वटा बीमालेख बिक्री भएको छ । कम्पनीहरूको नयाँ व्यवसाय (प्रथम बीमा शुल्क) खास सुधार हुन् भने सकेको छैन ।

यो पनि पढ्नुहोस्,

समीक्षा अवधिमा कम्पनीहरूले १८ अर्ब ७२ करोड ५१ लाख रुपैयाँ प्रथम बीमा शुल्क उठाएका छन् । यो गत वर्षको तुलनामा १.०८ प्रतिशत मात्रै बढी हो । तर, नवीकरण मार्फत सङ्कलन हुने बीमा शुल्क भने ६.२० प्रतिशत बढेको छ । गत वर्ष ७५ अर्ब २० करोड ७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका कम्पनीहरूले यो वर्षको सोही अवधिमा भने ७९ अर्ब ८६ करोड ५५ लाख रुपैयाँ उठाएका छन् । 

यता, निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय भने सामान्य बढेको छ। चालु आवको आठ महिनामा कम्पनीहरूले २६ अर्ब २६ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सो अवधिमा कम्पनीहरूले १९ लाख ५९ हजार ३८६ वटा बीमालेख बिक्री गरेका हुन् । समीक्षा अवधिमा कम्पनीहरूको बीमालेख बिक्री भने ४.४२ प्रतिशत बढेको देखिन्छ ।

यो पनि पढ्नुहोस्, 


प्रतिक्रिया दिनुहोस्